|

डडेल्धुरा : सुदूरपश्चिमको पहाडी जिल्लाको ट्रान्जिट पोइन्ट मानिने डडेल्धुरामा ट्रायल सेन्टर तयार भइ आगामी जेठबाट सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी भइरहेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न सकिने भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई सहज हुने भएको छ। 

डडेल्धुरामा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालये जिल्लामै सवारी लाइसेन्सको परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गर्ने भएपछि ७ वटै पहाडी जिल्लाका नागरिकलाई सहज हुने यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराले जनाएको छ। सुदूरपश्चिमका ७ पहाडी जिल्लाका नागरिकले तराईका जिल्ला कैलाली र कञ्चनपुर  गएर नयाँ सवारी चालक अनुमति पत्र निकाल्नु पर्ने बाध्यताको अन्त्य हुने भएको छ।

यसभन्दा अगाडि सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता (ब्लुबुक) नविकरण सेवा, सवारी जाँचपास सेवा शुरू गरेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयले बताएको छ। अब निर्माण भएको ट्रायल सेन्टर भाडामा लिइ लाइसेन्स वितरण गर्ने तयारी थालेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख दीलिप लामाङले जानकारी दिए।

‘अब स्मार्ट लाइसेन्स जारी र सवारी साधनको दर्ता र नविकरण गर्ने कामको तयारी गरिरहेका छौं। सवारी चालक अनुमतिपत्र जारी गर्न हाम्रो आफ्नो ट्रायल सेन्टर नभएकाले उग्रतारा ड्राइभिङ एण्ड ट्रेनिङ सेन्टरलाई भाडामा लिएर काम गर्न हामी लागिपरेका छौं’, उनले भने, ‘यसको लागि सुदूपश्चिम प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा ट्रायल सेन्टर भाडामा लिन र अनुमति प्रदान गर्न पत्राचार गरेका छाैं। मन्त्रालयबाट ट्रायल सेन्टरको निरीक्षण भइसकेको छ। अब जेठबाट काम सुरु हुन्छ।’

करिब ५ महिना अघिबाट निर्माण कार्य थालिएको उग्रतारा ड्राइभिङ एण्ड ट्रेनिङ सेन्टरमा १ करोडको लगानी रहेको सेन्टरका सञ्चालक तेजबहादुर ऐरले जानकारी दिए। उनले भने, ‘फिल्डदेखि लेआउटको निर्माण गर्न १ करोडको लगानी लागेको छ। र ट्रायल सेन्टरको लागी ५० लाख जतीको सवारी साधन खरिद भएको छ।’ 

डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र निस्किने भएपछि पहाडी जिल्लावासीलाई सहजतासँगै यहाँको व्यापार व्यवसाय समेत फस्टाउने अमरगढी नगरपालिकाका नगर प्रमख विशेश्वरप्रसाद ओझाले बताए। उनले भने, ‘डडेल्धुराबाटै लाइसेन्स वितरण हुनेभएपछि तराई जाने सबै सेवाग्राही यहाँ आउँछन। जसले गर्दा यहाँको व्यापार, यातायात तथा पर्यटन विकासमा समेत सहयोग गर्छ।’

अहिले डडेल्धुरा बाहेकका सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, दार्चुला, बाजुरा, डोटी, अछामवासीले नयाँ सवारी चालक अनुमति पत्र लिन तराई झर्नुपर्ने बाध्यता रहेको छ। सवारी चालक अनुमति पत्रका लागि सुरुमा फोटो खिच्न, लिखित परीक्षा र ट्रायल गरी ३ पटक कैलाली तथा कञ्चनपुर जाँदा हजारौँ खर्च हुने गरेको छ। अब डडेल्धुराबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने भएपछि यहाँका नयाँ सवारी चालक हर्षित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.