८ वर्ष बितिसक्दा पनि बनेन पुल

|

कैलाली : कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी सडक निर्धारित समयमा निर्माण हुन नसकेपछि पहिलो पटक म्याद थप गरिएको छ। भारत सरकारले निर्माण कार्यमा गति नदिएको भन्दै नेपाल सरकारले निमार्णको जिम्मा लिएको सडक त्यसपछि थप सुस्त भएको हो। 

कैलालीको कटैनीदेखि कान्द्र सम्मको १८ किलोमिटर सडकको सम्झौता फागुन ८ गते सम्मका लागि थप गरिएको छ। उक्त सडकको समय गतवर्ष फागुन ३० गते सम्पन्न भएको थियो। सडकको ४१ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। क्याम्पस रोडदेखि भन्सार सम्मको दोस्रो खण्डको ६.५ किलोमिटर सडक २०७६ असोज २६ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको छ।

हालसम्म उक्त सडकमा १० प्रतिशत प्रगति भएको छ। उक्त सडकको म्याद भने थप गरिएको छैन। कञ्चनपुरमा पनि दुई खण्डका सडकहरूको समय सम्पन्न हुनुभन्दा ५ महिना अघि नै म्याद थप गरिएको छ। हुलाकी सडकअन्तर्गत कञ्चनपुरको डोके बजारदेखि बेलोरी सम्मको २० किलोमिटर सडक २०७६ चैत्र मसान्तसम्म समय थप परिएको छ। उक्त सडकको भौतिक प्रगति ३३ प्रतिशत मात्रै सम्पन्न भएको छ। भदौ १५ गतेसम्म उक्त सडकको निर्माण सम्पन्न गर्नुपर्ने समय रहेको थियो। 

बेलाैरीदेखि बेल्डाडी सम्मको २० किलोमिटर सडक २०७६ असार १८ गते सम्पन्न हुँदैछ। उक्त सडकको म्याद थप गरिएको छैन। उक्त सडकको काम ४९.१३ प्रतिशत सम्पन्न भएको छ।  भदौ १५ गतेसम्म सम्पन्न गर्नुपर्ने बेल्डाडी दैजी २२ किलोमिटर सडक खण्डको पनि २०७६ चैत्र मसान्तसम्म समय थप गरिएको छ। उक्त सडकको प्रगति ३५ प्रतिशत सम्पन्न भएको छ।

८ वर्ष बितिसक्दा पनि बनेन पुल

हुलाकी सडकअन्तर्गत २०६८ सालमा सम्झौता भएको कन्द्रा नदी पुल ८ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। ८ वर्षमा ३४ प्रतिशत मात्रै भौतिक प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय धनगढीले जनाएको छ। लामा शाल्पा शर्मा–बिरुवा जेभीले निर्माणको जिम्मा लिएको उक्त पुलमा पटक पटक म्याद थप गरिए पनि निर्माणले गति पाउन सकेको छैन। पछिल्लो पटक उक्त पुलको समय थप गरिएको छैन।

अन्यमा पनि समस्या

हुलाकी सडक मात्रै होइन कैलालीकै अन्य कयौँ योजना पनि निर्धारित समयमा पूरा हुन सकेका छैनन्। धनगढी र कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिकालाई जोड्ने मोहना नदीको पुल पनि पाँच वर्षदेखि अलपत्र छ। ७ करोड रुपैयाँ लगानीमा एलाइडर एड्भेन्चर जेभीले पाँच वर्षअघि सुरु गरेको उक्त पुलको प्रगति पनि सन्तोषजनक नरहेको स्थानीय बताउँछन्। निर्माण कम्पनीले तोकिएको समयमा पुल बनाउन नसकेपछि पुनः दुई वर्ष म्याद थपिएको छ।

करिब दुई अर्ब रुपैयाँको लगानीमा सुरु गरिएको कैलालीको मोहना पुल ९ अत्तरिया ६ लेन सडकले पनि गति पाउन सकेको छैन। पहिलो चरणमा सम्झौता म्याद सकिएको छ। तर अहिलेसम्म उक्त सडकमा पर्ने ३ वटा पुलको टेन्डरसमेत हुन सकेको छैन। उक्त सडकको काम ३५ प्रतिशत मात्रै सम्पन्न भएको आयोजनाले जनाएको छ। 

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाइ आयोजना बन्न थालेको ९ वर्ष पुग्यो। आयोजनाको ९ वर्षमा ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। २०६६ सालदेखि निर्माण सुरु भएको आयोजना आर्थिक वर्ष २०७३र०७४ मा सम्पन्न गर्ने लक्ष्य थियो। तर हालसम्म पनि आयोजनाको काम सन्तोषजनक हुन सकेको छैन। 

प्रशासनको चेतावनी

निर्धारित समयमा काम पुरा नगर्ने ठेकेदारहरूलाई कारबाही नहुँदा पनि लापरबाही बढिरहेको सर्वसाधारणहरू बताउँछन् । स्थानीय प्रशासनले भने समयमा काम सम्पन्न नभएको योजनामाथि छानबिन गर्ने बताएको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले १० दिनभित्र ती योजनाका विषयमा छलफल र छानबिन गरिने बताए। उनले भने, ‘हामीले सञ्चालनमा रहेका योजना किन पूरा भएनन् भन्नेबारे छानबिन गर्छौं।’ 

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले निर्माण कार्यमा ढिलाइ गर्ने जो सुकै भए पनि कारबाहीको भागीदार बन्नुपर्ने बताएका छन्। ढिला हुनुको वास्तविक कारण देखिएन भने कारबाही हुन्छ’ उनले भने,‘यो या त्यो भन्ने होइन। ढिलाइ गर्ने सबै कारबाहीको दायरामा आउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.