|

नवलपरासी : भगवान् गौतम बुद्धको अस्तुधातु सुरक्षित रहेको रामग्राम स्तुपमा पनि लुम्बिनी भ्रमण वर्षको रौनक सुरु भएको छ। प्रदेश ५ सरकारले जेठ ४ मा बुद्ध जयन्तीको अवसर पारेर घोषणा गर्न लागेको लुम्बिनी भ्रमण वर्ष २०७६ को  पूर्वसन्ध्यामा रामग्राम स्तुपलाई झकिझकाउ बनाइएको छ।

प्रदेश सरकारद्वारा गठन गरिएको सरसफाइ तथा सौन्दर्यीकरण उपसमितिको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय लुम्बिनी विकास कोषले समेत रामग्राम स्तुपको विकासमा चासो ब्यक्त गर्न थालेको छ। लुम्बिनी विकास कोषले चालु आर्थिक वर्षमा एक करोड रकम विनियोजन गरेर स्तुप रहेको क्षेत्रमा प्रवेशद्वारदेखि स्तुप वरिपरि परिक्रमा गर्न मिल्ने गरी काठैकाठको पदमार्ग निर्माण गरेको छ।

रामग्राम स्तुपको विकासका लागि जति लुम्बिनी विकास कोषको लगानी हुनुपर्ने हो त्यति लगानी नभएकै कारण अहिले पनि स्तुप आसपासमा कुनै आवश्यक भौतिक पूर्वाधार निर्माण हुन नसकेको प्रदेश ५ का सांसद बैजनाथ जैसवालको भनाइ छ। रामग्राम स्तुपमा देश तथा विदेशका बुद्ध धर्मावलम्बी ध्यान गर्नकै लागि आउने गरे पनि व्यवस्थित ध्यान केन्द्रको निर्माण हुन नसकेको र व्यवस्थित स्नानगृह र शौचालयको समेत व्यवस्था नहुँदा पर्यटकहरूलाई समेत असहज हुनेगरेको सांसद जैसवालको भनाइ छ। आफूले समग्र रामग्रामको विषयमा प्रदेश संसदमा आवाज उठाएको र मुख्य मन्त्रीसहित पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएको बताए।

लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा बुद्धको मावली पण्डितपुरलाई उपेक्षा गरिएको र ब्रोसरमा एउटा तस्बिरसम्म पनि नआउनु अत्यन्त दुःखद् भएको र हेपाहा प्रवृत्ति भएको भन्दै जैसवालले आक्रोशसमेत पोखेका छन्। उनले यस विषयमा गम्भीर रूपमा आवाज उठाउनेसमेत बताए।

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले लुम्बिनी भ्रमण वर्षको अवसरमा रामग्राम स्तुपको प्रवर्द्धनमा जोड दिन सबैलाई आग्रह गर्दै भ्रमण वर्षकै अवसरमा नगरपालिकाले 'रामग्राम स्तुप जाऔँ लुम्बिनी भ्रमण वर्ष सफल पारौँ' भनी नारासमेत तय गरेको बताए। उनले नगरपालिकाले विशेष महत्त्व दिएर रामग्राम स्तुप, पण्डितपुरलगायतका क्षेत्रको विकासका लागि काम गरिरहेकाले यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउनका लागि आवश्यक पूर्वाधारहरूको निर्माण अपरिहार्य रहेकोमा जोड दिए।

जेठ ४ मा घोषणा हुन लागेको भ्रमण वर्षको अवसरमा उपसमितिले रामग्राम स्तुपबाट सरसफाइ अभियान शुरु गरेको उपसमिति सदस्य लक्ष्मी क्षेत्रीले बताइन्। भ्रमण वर्षको अवसरमा वर्षभरी नै स्तुप क्षेत्रलाई सफा राख्न उपसमितिले आवश्यक बजेट रामग्राम नगरपालिकालाई उपलब्ध गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.