|

हेटौंडा : प्रदेश ३ को स्थायी राजधानी तोक्न प्रदेश सभामा कार्यविधि दर्ता भएको छ।  कार्यव्यवस्था परामर्श समितिको वैठकबाट कार्यविधि संंसदमा दर्ता गर्ने निर्णय पारित भएपछि कार्यविधि मंगलबार संसदमा दर्ता भएको हो।

नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालको प्रस्ताव  तथा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक राधा घलेको समर्थनमा कार्यविधि दर्ता भएको हो। नेपालको संविधान, प्रदेश सभा नियमावली, प्रदेश सभाको स्थायी राजधानीको समितिको प्रतिवेदनको आधारमा कार्यविधि पेश भएको हाे। कार्यविधिमा प्रदेशको राजधानी र नामाकरणको विषय संंसदमा कसरी छलफल गर्ने भन्ने प्रक्रिया रहेको छ।

स्थायी राजधानीको सम्भाव्यता अध्ययन गर्न बनेको समितिको प्रतिवेदनमा उल्लेख भएको संभावित राजधानीको स्थानलाई वर्णानुक्रम अनुसार पेश गरिने प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। प्रदेशको राजधानीका लागि प्रदेश सभा सदस्यहरूको हस्ताक्षरको आधारमा मत विभाजन हुने छ।

लामो दवावपछि प्रदेश सभामा प्रतिवेदन पेश भए पनि झण्डै तीन महिनापछि असोज २२ गते मात्र स्थायी राजधानीसम्बन्धी प्रतिवेदन प्रदेश सभा बैठकमा पेश भएको थियो। प्रदेश सभाबाट गठित विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको छ। त्यसकारण पहिले काभ्रेको लागि मतदान हुन्छ भने अन्तिममा मकवानपुरको लागि मतदान हुने देखिएको छ।

मंगलबार कार्यविधि दर्ता भएसँगै कांग्रेसले गरेको अवरोध पनि खुलेको छ। नेपालको संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्ने उल्लेख छ।

कूल ११० सांसद रहेको प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ८१ (तत्कालीन एमालेको ५८, माओवादी केन्द्रको २३), नेपाली कांग्रेसको २१, तत्कालीन विवेकशील साझा पार्टीको ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को २, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), र राप्रपा (प्रजातान्त्रिक) का १/१ जना सांसद रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.