|

विराटनगर : अहिले हुर्किंदै गरेको धान, मकैमा युरिया मलको लागि उच्च माग छ। समयमा मल नपाउँदा कृषकहरू महँगाे मूल्यमा तस्करी गरेको युरिया मल खरिद गर्न बाध्य छन्। तर अहिले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोशी कार्यालय विराटनगरमा भण्डारण गरिएको १९ लाख भन्दा बढी मूल्यको रासायनिक मल  गायव प्रकरण सार्वजनिक भएको छ। 

सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १६७ बोरा अर्थात् १९ लाख ७ हजार ३५० रुपैयाँ बराबरको रासायनिक मल भण्डारण गरिएको गोदामबाटै हराएको विषय सार्वजनिक भएपछि कार्यालयमा हलचल मच्चिएको छ। साल्ट ट्रेडिङको गोदामबाट १ हजार ८८२ बोरा युरिया, २४७ बोरा डिएपी र ३८ बोरा पोटास गरी २ हजार १६७ बोरा रासायनिक मल हराएको साल्ट ट्रेडिङ कर्पोरेसन केन्द्रीय कार्यालयले जनाएको छ। 

भण्डारण गरिएको मल हराएपछि त्यसको अनुसन्धान गर्न कर्पोरेसनको केन्द्रीय कार्यालयले प्रबन्धक निर्देशक राधेश्याम चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। चौधरीको नेतृत्वमा आएको छानविन समितिले छानविन प्रक्रिया पुरा गरेर काठमाडौं फर्किएको छ। उसले प्रतिवेदन भने सार्वजनिक गरेको छैन। जसले गर्दा घटनाका दोषी एकिन भएको छैन।

सो प्रकरणमा साल्ट्र टेडिङ कोशीका इन्चार्ज दिलचन्द्र राईलाई स्पष्टिकरण सोधिएपछि केन्द्रीय कार्यालयले २ वैशाखमा ३ महिनाको लागि निलम्बन गरेको छ। रासायनिक मल राखिएको १० वटा गोदाम हेर्न जिम्मेवारी पाएका राईकै गोदामबाट मल हराएपछि उनलाई गत माघमै केन्द्रीय कार्यालयले स्पष्टीकरण सोधेकोमा अहिले निलम्बन गरेको हो।

गोदामबाट ठूलो परिमाणको रसायनिक मल हराएपछि कर्पोरेशनको अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्द्र झा, भण्डारण शाखाका असिस्टेन्ट खगेन्द्रप्रसाद बस्नेतसहित अन्य कर्मचारीहरूसँग पनि लिखित बयान छानविन टोलीले लिएको थियो। छानविनको निश्कर्ष बाहिर नआएपनि कार्यालय प्रमुखकै मिलेमतोमा व्यापारीलाई अनुदानको मल बिक्री गरेको आशंका गरिएको छ। 

मल गायव प्रकरणमा केन्द्रीय कार्यालयले राईलाई निलम्बन गरेको भएपनि कार्यालय प्रमुख झालाई भने निलम्बन गरेको छैन। मल हराएको दोस्रो दिन नै राईले कार्यालय प्रमुख झालाई त्यसबारे जानकारी गराएको तर झाले केन्द्रीय कार्यालय सूचना नदिएको बताएका छन्। कार्यालय प्रमुख झाले भने मल हराएपछि आफूले केन्द्रीय कार्यालयमा जानकारी गराएको बताउँदै गोदामबाटै मल हराउनुमा विभागीय प्रमुख जिम्मेवार रहेको बताए।

सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरको लागि गत वर्ष ४ लाख बोरा रसायनिक मल आएको अभिलेखमा देखिन्छ। भण्डारण गरिएर राखिएको मल विभिन्न मितिमा हराएको देखिएको छ। साल्ट ट्रेडिङअन्तर्गत विभिन्न ठाउँमा रासायनिक मल राख्ने गोदामहरू रहेको छ। 

युरिया मल मोरङको बुढीगंगा गाउँपालिकाको निमुवा स्थितको गोदाममा भण्डारण गरिएको ठाउँबाट गत कार्तिकमा हराएको हो। त्यस्तै पोटास र डिएपी सुनसरीको सोनापुरस्थित गोदामबाट गत वर्षको जेठ २२ गते हराएको बुझिएको छ। केन्द्रीय कार्यालयले लेखापरीक्षण गर्दा आयात भएको, बिक्री भएको र भण्डारण भएको मलको विवरण नमिलेपछि घटनामाथि छानविन सुरु भएको थियो।

मल गायब प्रकरणमा मुछिएका राईले भने कर्पोरेशनको उच्च तहका हाकिमको मिलेमतोमा मल गायब पारिएको दाबी गरेका छन्। उनले मल ढुवानी गर्ने पशुपति रोडवेजसँगको मिलेमतोमा बाटोबाटै मल गायब पारिएको बताएका छन्। हराएकोमध्ये १ हजार २३३ बोरा मलेको जिम्मेवारी कार्यालय प्रमुख झाले लिनुपर्ने उनको जिकिर छ। 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेबाट ४०० सहकारीलाई अनुदानको मल विक्री वितरण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.