|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ को चुरे पर्वत श्रृङ्खलामा रहेको बतासे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ। असहज बाटो छिचोल्दै आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर झरनाको चिसो पानीमा नुहाउँदै तराईको गर्मी भुल्छन्।

झरनाको पानी खसेर बनेको निलो कञ्चन ताललाई स्थानीय बासिन्दाले निलतालका रूपमा चिन्ने गरेका छन्। झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झरना भनिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए। दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झरना खस्छ। झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्न पर्यटकयो क्षेत्रमा पुग्ने गरेका छन्। 

झरनाको मनोरम दृश्य हेर्नका लागि पुगेका भोजराज पन्तले पहिलो पटक झरना भएको ठाउमा पुगेर सेल्फी लिन पाउँदा बेग्लै किसिमको अनुभूति भएको बताए।झरनाको दृश्य अलौकिक छ उनले भने, ‘झरनाको दृश्य हेर्नेहरु मन्त्रमुग्ध नहुने कोही छैन। झरना संगै एकान्तमा रम्नेहरुका लागि यो गतिलो गन्तव्य नै।’ चराको चिरविर आवाज सुन्दै झरना भएको ठाउँमा लगुना, बँदेललगायत जंगली जनावर उफ्रिँदै हिँडेको दृश्यले मनमा उमंग थप्ने गरेको छ।

धारापानी खोलामा बनेको झरनासम्म पुग्न वडा कार्यालयले सडकको ट्रयाक खोल्न सुरु गरेको छ। ट्रयाक खोल्ने कार्य हाल धारापानी गाउँसम्म पुगेको छ। पूर्व–पश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँसम्मको पाँच किलोमिटर सडक मोटरसाइकललगायत सवारी साधनमा चढेर सहज रूपमा पुग्न सकिन्छ।

झरनाका बारे पहिला धारापानी गाँउका बासिन्दालाई मात्रै थाहा थियो स्थानीय साइमले धामीले भने, ‘प्रचार प्रसार नहुदा त्यस ठाउ सम्म घाँस काटन जानेले मात्रै झरनाको पानीमा नुहाएर फर्किन्थे। जनप्रतिनिधि आएपछि स्थानीय पर्यटकीय सम्भावना भएका ठाउँहरुको खोजी हुन थालेपछि झरनाबारे जानकारी गराएका हौँ।’

यो ठाउँबारे नगरपालिकामा व्यापक प्रचार हुन थालेपछि आन्तरिक पर्यटक पुग्न थालेको उनको भनाइ छ। धारापानी गाउँमा २०२४ सालमा बस्ती बस्दा झरना जस्तो थियो अहिले पनि उस्तै रहेको छ। गर्मी याममा चुरे क्षेत्रका अधिकांश खोलामा पानीको बहावमा कमी आउने क्रमसँगै खोला सुक्ने गरेका छन। झरनामा जतिसुकै गर्मी बढेपनि पानी एकनासको रहने स्थानीय बताउँछन्।

झरनामा एकनासले पानी झर्ने भएकाले यसको विशेषता नै बेग्लै रहेकाले यसको संरक्षणका लागि सबैको चासोको बिषय हुनु पर्ने जयलाल बोहराले बताए। सुविधा विहीन अवस्थामा रहेको धारापानी गाँउका बासिन्दाले उत्पादन गरेका कृषि उपज, कुखुरा र खाद्य पदार्थ आन्तरिक पर्यटकले खरिद गर्न थालेपछि आर्थिक अवस्थमा सुधार आउन थालेको छ। 

धारापानी क्षेत्रमा दैनिक पिकनिक मनाउन आउनेहरुको संख्या धेरै छ बोहराले भने, ‘पिकनिक आउन थालेपछि स्थानिय कृषि उत्पादनहरू बिक्री हुने भएकाले असहज जीवन सहज बन्न थालेको छ।’ वडा कार्यालयले धारापानी गाउँ नजिकैको खोलाको बगरमा पिकनिक 'स्पट'सँगै विश्राम गर्नका लागि दुई दर्जनचौतारा निर्माण गर्ने योजना अघि सारेको छ। ‘जनसहभागितामा चौतारा निर्माणको कार्य केही दिन भित्रै शुरु गर्ने योजना छ’ वडाध्यक्ष महराले भने। 

झरना रहेको ठाउँमा मन्दिर, विश्राम गृह निर्माणसँगै पर्यटकलाई पौडी खेल्न सहजताका लागि आवश्यक सामग्री उपलब्त्ध गराउने वडा कार्यालयको योजना छ।नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकास लागि सबैको सहकार्यको खाँचो रहेको बताउँछन्।

‘बतासे झरनाको अध्ययनसँगै नगरपालिकाले प्राविधिक टोली पठाई यो क्षेत्रसम्म पुग्न पदमार्ग निर्माण गर्न र भौतिक पूर्वाधारका कार्य अगाडि बढाउन कसरी सकिन्छ, सबै सम्भावना र विकल्पका बारे अध्ययन गरी बजेटका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्छौ’ उनले भने। लघु जलविद्युत आयोजना निर्माणका लागि पनि सम्भाव्यता अध्ययन गरिने उनको भनाइ छ। 

झरना क्षेत्र भएको ठाउँसम्म पुग्ननगरपालिका र वडाको बजेटले नधान्ने भएकाले प्रदेश र केन्द्र सरकारलाई गुहार्ने वडा अध्यक्ष महराले बताए। ‘पदमार्ग र विश्रामस्थल निर्माणका लागि प्रारम्भिक लागत अनुमान(डीपीआर) बनाउने कार्य गरेपछि बजेटका लागि प्रदेश र केन्द्र सरकारलाई प्रस्ताव गर्छौँ’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.