|

रसुवा : उत्तरगया गाउँपालिका १ को तिरुगाउँ सडक सञ्जालमा जोडिएको छ। मैलुङदेखि ३५ किलो, गोगने हुँदै तिरु गाउँसम्म पुग्ने साढे सात किलोमिटर सडक विस्तार गरिए सँगै सडक सञ्जालमा जोडिएको उत्तरगया गाउँपालिकाका सूचना अधिकारी उत्सव पौडेलले बताए।

उत्तरगया गाँउपालिका, प्रदेश सरकार र संसद विकास कोषको गरी एक करोड ७० लाखको लागतमा सडक निर्माण गरिएको पौडेलले जानकारी दिए। साविक हाकु गाविस ८ र ९ तथा डाँडाँगाउँ गाविस ७, ८ र ९ मिलेर उत्तरगया गाउँपालिका १ बनेको हो। पहिलो पटक तिरु गाउँमा सडक पुगेसँगै अब अन्य पूर्वाधारहरुको विकास हुदै एकीकृत बस्ती निर्माणको प्रक्रियामा सहयोग पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त केसीले बताए।

'उत्तरगया गाँउपालिका र राष्ट्रिय पुनर्निमाण प्राधिकरणको सहयोगमा हाल तिरुमा एकिकृत बस्ती बसाल्ने योजना समेत तयार भइसकेको छ, सडक निर्माण भइसकेको छ', उनले भने, ' अब आवास निर्माण लगायतका पूर्वाधार निर्माणमा सहज हुने अपेक्षा लिएका छौँ।' 

चार वर्षअघिको भूकम्पले तिरुका करिब डेढ सय परिवार विस्थापित भएका थिए। विस्थापितहरू अहिले जिल्लाको खाल्टे, बोगटीटार, सातबिसे र नुवाकोकोटका विभिन्न स्थानका शिविरमा बसोबास गरिरहेका छन्।

त्यस्तै विस्थापितहरूको पुनःस्थापनाका लागि उत्तरगया गाउँपालिकाको पहलमा तिरुमा एकिकृत वस्ती निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए। उनले भने स्थानीय तह निर्माण भई वर्षौँपछि जनताले जनप्रतिनिधि पाएसँगै सडक निर्माणको ट्रयाक निर्माण गरिएको छ। आगामी दिनमा सडकको स्तरन्नोति गर्ने लक्ष्य राखेका छौँ।' 

तिरूमा भुकम्प अघि करिब डेढ सय घरधुरी थियो। हाल तिरुमा करिब ६० परिवार अस्थायी टहरा निर्माण गरि बसिरहेका छन्। तर अधिकाशं मानिसहरु खाल्डे लगायतका विस्थापित शिविरमा बसिरहेका छन्। सडक सञ्जालमा तिरु गाउँ जोडिएपछि आवतजावतमा सहज भएको स्थानीयले बताए।

तिरुमा एकीकृत बस्ती निर्माण गरिएसँगै करिब ११८ घरपरिवार एकीकृत बस्तीमा जाने सामुदायिक आत्मनिर्भर सेवा केन्द्र रसुवाका संयोजक विश्वास नेपालीले बताए। पूर्वाधार विकास र एकिकृत बस्ती निर्माणका लागि सडक सञ्जालले थप सहयोग पुर्‍याउने समेत उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.