|

रसुवा : चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडकमा सवारी आवतजावतमा रोक लगाइएको छ। सवारी आवतजावतको दुर्घटनाको जोखिम बढेसँगै मर्मत गर्नुपर्ने भन्दै आज बुधबार दिनभरका लागि आवतजावतमा रोक लगाइएको हो।

मैलुङ स्याफ्रुबेसी सडक खण्डअन्तर्गत त्रिशुली खोलामा हिमपाइपसहित खोलाको सडक खण्ड ढलान गरिने भएकोले आज दिनभर सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। उनले भने चिनियाँ टोलीले दुर्घटनाको जोखिम रहेका स्थानमा ढलान गर्ने र हिमपाइप राख्ने भएकोले सवारी आवतजावतमा दिनभरका लागि रोक लगाइएको छ। त्यस्तै बेत्रावती कालिकास्थान, धुन्चे स्याफ्रुबेसी सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले अनुरोध समेत गरेको छ। 

मैलुङ स्याफ्रुबेसीसम्मको सडकको बिचमा पर्ने त्रिशूली खोलामा पुल तथा हिमपाइप राख्नुपर्ने भए पनि  कुनै काम नहुँदा आवतजावतमा समस्या भएको चालकहरुले बताएका थिए। खोलामा बानीको बाहब बढी रहेको र रातिको समयमा सही बाटो पहिचान हुन नसक्दा सवारी दुर्घटना बढेको थियो। 

सडक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनालाई यो सडक हस्तान्तरण गरेको एक वर्ष भयो। हस्तान्तरण गरेको केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको दिए पनि केही दिनपछि बन्द भएको थियो।  वर्षातमा  ठाउँठाउँमा पहिरो गई अवरोध भएको सडकको स्तरोन्नतिका लागि डीपीआर संशोधन गनुपर्ने भन्दै स्तरोन्नतिमा ढिलाइ भएको बताइएको थियो।

र डेढ महिना अघि मात्र अबरुद्ध सडकको ट्रयाक खोलिएको थियो।  ट्रयाक खोलिएसँगै साना सवारी मात्र सञ्चालन गर्न सकिने भनिएको थियो। तर छोटो दुरीको साघुरो तथा अप्ठेरो सडकमा कुनै प्रवाह नगरि चालकहरुले ठूला सवारी सञ्चालन गरिरहेको छन्। साना सवारी मात्र सञ्चालनका लागि सडक योजनाले अनुमति दिएपछि पछिल्लो समय साना सवारी सञ्चालनमा समस्या देखिएको छ।

'छोटो दूरीमा सहजै गन्तव्यसम्म पुग्न सकिन्छ भनेर यो बाटो आएको सडकमा कतै उकालो कतै ओरालो अनि धेरै जसो ठाउँमा खाल्डाखुल्डी छ', कन्टेनर चालक पासाङ तामाङले भने, 'त्यसले गर्दा टायर पञ्चर हुने अनि गाडी बिग्रिन्छ। मर्मत नहुन्जेलसम्म बस्नुपर्छ, धेरै समस्या छ।' 

सडक स्तरोन्नतिका लागि ठेकेदार छनौट नहुदाँ ढिलाई भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका इन्जिनियर तथा सूचना अधिकारी पारस हमालले बताए। संशोधन गर्नुपर्ने भन्दै ठेक्का हुन सकेको थिएन् गत बर्खामा अवरुद्ध भयो सडक त्यसले पनि मर्मतको काम गर्न सकेका थिएनौँ, ढिलै भएको हो, तर अहिले ठेक्का प्रक्रियामा गएको छ तर ठेकेदार छनोट हुन सकेको छैन। यो आर्थिक वर्ष भित्रमा छनोट हुन्छ।

राष्ट्रिय प्राथमिकतामा  परेको मैलुङ–स्याफ्रुबेसी सडक खण्ड नेपालि सेनाले निर्माण गरेको डबल लेनको सडक हो। सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ। नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुनेछ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ। पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। काठमाडौंदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्रु १७ किमी दूरी छ।

काठमाडौंबाट बेत्रावती धुन्चे रसुवागढीको दूरी १४५ किलोमिटर रहेको छ भने काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर मात्र हुने छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्नपर्दैन। यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडक भन्दा स्याफ्रुबाट मैलुङ हुदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने हुदाँ कन्टेनर चालकहरू यो सडकतर्फ आकर्षित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.