|
प्रतीकात्मक तस्बिर

भद्रपुर (झापा) : झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको छ। कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो। 

प्रहरी नायब निरीक्षक आचार्य घर बिदा गएका बेला कारागार सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हीरण सिंहलाई दिइएको थियो। एक प्रहरीले प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाएको रेकर्ड छ। तर, बिहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको हो।

कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनेको छ। छानविन समितिले हराएको हतियारको विषयमा अनुसन्धान थालेको बताइएको छ। 

यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हतियार हराएको विषयमा अनुसन्धान भइरहेको बताए। उनले भने, ‘डिएसपीको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान हुँदैछ।’

फरार कैदी अझै फेला परेन

नौ महिनाअघि झापा कारागारभित्रैबाट फरार भएका एक कैदीबन्दी अझै फेला परेको छैनन्। कारागारको सुरक्षार्थ खटिएका प्रहरीकै लापरवाहीले एक कैदीबन्दी फरार भएका थिए।

गौरादह नगरपालिका–८ स्थित जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएको नौ महिना बितिसकेको छ। २०७१ असार ७ देखि जबरजस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी २०७५ साउन दिउँसै कारागारको पर्खाल नाघेर भागेका थिए।

माझी पेशाले इलेक्ट्रिशियन थिए। कारागारभित्रै बिजुली बनाउने काम गर्नका लागि उनले सिढीको प्रयोग गरेका थिए। सिढी चढेर काम गर्दैगर्दा उनी पर्खाल नाघेर फरार भएको बताइएको छ। कारागारबाट कैदी फरार भएपछि प्रहरी सहायक निरीक्षकसहित ६ प्रहरीलाई प्रहरी कार्यालय झापाले निलम्बन गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.