नर्सिङ संघ भन्छ - सहयोग गरिरहेका छौँ

|

काठमाडौं : स्थायी, काम र अनुभवका आधारमा बढुवा, जोखिम भत्तालगायत माग राखेर शुक्रबारदेखि शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र नेपाल नर्सिङ संघमा अनशनरत दुई नर्सको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।

पाँच दिनदेखि प्रत्यारोपण केन्द्रको प्रांगणमा अनशनमा बसिरहेकी केन्द्रमा कार्यरत डिक्की‍ शेर्पा आमरण अनशनमा छिन् भने नेपाल नर्सिङ संघको केन्द्रीय कार्यलय लाजिम्पाटमा जिता बराल अनशनमा छिन्।

अनशनको पाँचौँ दिनसम्म आइपुग्दा स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरूलाई इमर्जेन्सीमा भर्ना गरिएको छ। बराललाई वान्ता हुने, ज्वरो आउने, शरीर काँप्ने समस्या देखिएपछि आइतबारदेखि नै बिपी स्मृति अस्पताल भर्ना गरेर उपचार जारी छ।

त्यस्तै, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा अनशन बसेकी डिक्की शेर्पाको  समेत  स्वास्थ्य बिग्रँदै गएपछि इमर्जेन्सीमै राखेर उपचार गरिएको संघर्ष समिति संयोजक तथा उनीहरूको सहयोगी नर्स त्रजिता जतीले बताइन्। डिक्कीलाई बारम्बार बान्ता हुने, हातखुट्टा बाउँडिने र रिंगटा लाग्ने जस्ता समस्या देखिन थालेको छ। उनले भनिन्, ‘आज पाँच दिन भइसक्यो  दुवैको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भर्ना गरेरै उपचार गरिएको छ,  तर हाम्रो मागको लागि कुनै पनि वार्ताको पहल भएको छैन।'

 के हुन् माग?

वैशाख ११ देखि आन्दोलनमा उत्रिएका नर्सहरूले प्रत्यारोपण केन्द्र प्रशासनले पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई भन्दा काम गरेकैलाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने सहितका माग अघि सारेका छन्।

आन्दोलनको बीचमै लोक सेवामार्फत आवेदन खुला गरिएको छ। तर, त्यसमा पनि चिकित्सक र नर्सको मात्रै आवेदन खोल्नुमा चलखेल भएको आरोप नर्सहरूले लगाउँदै आएका छन्। नर्सहरू विगत २१ दिनदेखि आन्दोलनमा छन्।

हाल प्रत्यारोपण केन्द्रमा भएका ९६ जना नर्सहरूलाई बेवास्ता गरेर ९६ जना नै खुला प्रतिस्पर्धाबाट ल्याउन लागेको भन्दै आफूहरू आन्दोलनमा उत्रिनुपरेको नर्सहरूको भनाइ छ।  

सहयोग गरिरहेका छौँ : नर्सिङ संघ

यता, अनशनरत नर्सहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि नेपाल नर्सिङ  संघले भने उनीहरूको जायज माग पूरा गर्न सहयोग गरिरहेको बताएको छ। नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले नर्सहरूको जायज माग पूरा गर्न संघ लागि परेको बताइन्  उनले भनिन्, ‘ नर्सहरूको जायज माग पूरा गर्न हामी बारम्बार  सरकार र अस्पताल प्रशासनसँग  छलफल गरिरहेका छौँ।'

विश्व स्वास्थ्य संगठनका अनुसार एकजना नर्सले धेरैमा ६ देखि ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था भए पहिले हाम्रोमा एउटा नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ।

अस्पतालले वार्डमा हेल्परसमेत नहुँदा यसरी बिरामी हेर्नुपर्दा नर्सहरूमा मानसिक तनावसमेत सिर्जना हुने गरेको छ। तर, अहिले सरकारी स्वास्थ्य संस्थामा १५  हजार नर्स मात्र नर्स कार्यरत छन्। यसले गर्दा देशभरको नर्समा समस्या देखिएको अध्यक्ष पोखरेलको भनाइ छ। उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनका अनुसार सघन उपचार कक्षमा एक बिरामीबराबर एक नर्स हुनुपर्ने, जनरल वार्डमा एक नर्सबराबर ८ बिरामी हेर्नुपर्ने नियम छ। तर, हामीले अहिले एकजना नर्सले ५० जनासम्म बिरामी हेर्दै आएका छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.