'थुनछेक बहसपछि आजै फैसला आउछ'

|
फाइल फोटो

काठमाडौं : विशेष अदालतले भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकको बयान लिइरहेको छ।

पाठकविरुद्ध अख्तियारले दर्ता गरेको मुद्दामा पाठकसँग बयान भइरहेको हो। हालसम्म फरार रहेका पाठक बुधबार बिहान विशेष अदालतमा उपस्थित भएका हुन।

पाठकले भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजका संचालकसँग ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा चैत १२ गते मुद्दा दर्ता भएको हो। उक्त घुस काण्डमा मुछिएका पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।

पाठकको मुद्दामा आजै फैसला आउने विशेष अदालतका उप-रजिष्ट्रार तथा प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए। उनले भने, 'अहिले उहाँको बयान भइरहेको छ। बयान सकिएपछि बहस हुन्छ र थुनछेकको फैसला आजै आउने सम्भावना छ।'

पाठकको बयान विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासमा भइरहेको छ।

पाठक बुधबार बिहान साढे ९ बजे विशेष अदालतमा उपस्थित भएका पाण्डेयले जानकारी दिए।

यो प्रकरणमा नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोधर न्यौपानेविरुद्ध पनि मुद्दा परेको थियो। उक्त सामुदायिक कलेज लम्बोधरको नाममा नामसारी गर्न सहयोग गर्ने र मुद्दा तामेलीमा राखिदिने भन्दै पाठकले पटकपटक गरेर ७८ लाख घुस लिएको खुलासा भएको थियो। विशेष अदालतमा पाठकविरुद्ध बुझाएको अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको थियो। अभियोगपत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी पनि गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.