महिलाको आरोप : मुद्दा लड्न सक्दैनौ भन्दै प्रहरीले मिल्न दबाब दियो

|
प्रतीकात्मक तस्विर

जनकपुरधाम : यौन प्रस्ताव अस्वीकार गर्दा महोत्तरीमा एक दलित महिला कुटिएकी छन्। 

महोत्तरीको भंगहा नगरपालिका ९ कञ्चनवनमा दुई छोरीसहित माइतमा बस्दै आएकी २७ वर्षीया महिलामाथि कुटपिट भएको हो। कुटपिट गर्ने सोही स्थानका २८ वर्षीय प्रदीप राउत रहेका छन्।

प्रदीपले ती महिलालाई फोनमा पटक–पटक यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको र उक्त प्रस्ताव अस्वीकार गरेकाले मकै चोरेको निहुँ बनाएर घरमै आएर कुटपिट गरेको ती महिलाले बताइन्।

‘घरमै कोल्डस्टोर र मदिराको बिक्री वितरण गर्दै आएका प्रदीपले मदिरा पिएर आफूलाई पटक–पटक फोन गरी नागरिकता बनाइदिने, कोल्ड ड्रिंक खुवाउने लगायतका प्रलोभन दिएर अनैतिक सम्बन्ध राख्न दबाब दिएको' ती महिलाले बताइन्।

पीडित महिलाले भनिन्, ‘मैले पटक-पटक उसलाई हप्काउँदै अस्वीकार गरे। फोन नगर्न आग्रह गर्दा उसले घरमै आएर कुट्छु, कसैले केहि गर्न सक्दैन भन्दै वैशाख १६ गते साँझ खेतमा मकै चारेको निहुँ बनाएर घरमै आएर कुटपिट गरेको हो। मेरो टाउको फुटेको छ।’

कुटपिटपछि ती महिलाले न्याय माग्दै प्रहरीमा उजुरी दिएकी छन्। दोषीलाई कारबाहीको लागि महोत्तरी जिल्ला प्रहरी कार्यालयमा कुटपिटसम्बन्धी निवेदन दिएको ती महिलाले बताइन्।

ती महिलाले प्रहरीले दोषी पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउनुको साटो आफूलाई मिल्न दबाब दिएको बताइन्। ‘प्रहरीचौकीमा जाँदा प्रहरीले तिमी दलित गरिब छौं, मुद्दा लड्न सक्दैनौँ। पाँच लाख १० लाख रुपैयाँ खर्च लाग्छ भन्दै मिल्न भन्यो। के हामी दलित र कमजोरले न्याय नपाउँने?’

आरोपी प्रदीपले आफूमाथि लागेको आरोप गलत भएको बताएका छन्। उनले ती महिलाले आफ्नो बारीबाट मकै र खुर्सानी चोरेको र सचेत गराएको भने स्वीकार गरेका छन।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले कुटपीटसम्बन्धी निवेदन दिएको बताउँदै निवेदनमा अनैतिक सम्बन्ध राख्न दबाब दिएको कुरा नखुलाएकाले दुवै पक्षलाई छलफलको लागि बोलाएको तर महिला पक्ष उपस्थित नभएको जानकारी दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.