|
फाइल फोटो

जाजरकोट : कम्युनको अभ्यास गरेर दुनियाँलाई सन्देश दिएको जुनिचाँदे गाउँपालिकामा पहिलो पटक सरकारी अधिकारी गएर बृहत् शिविर सञ्चालन गरिएको छ।

गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनी बस्तीमा पहिलो पटक बृहत् शिविर सञ्चालन गरिएको हो। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलगायतको सरकारी टोली लुहादह, जुनिचाँदेलगायतका ठाउँ पुगेर सञ्चालन भएको शिविरमा ६४२ ले नागरिकता लिएका छन्। गाउँपालिकाको समन्वय र जिल्ला प्रशासन कार्यालयद्वारा सञ्चालन गरिएको एकीकृत बृहत् घुम्ती शिविरमा नागरिकता वितरण गरिएको हो।

उक्त एकीकृत घुम्ती शिविरबाट ६५० जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन्।  शिविरमा एक हजार ९३६ भेडा-बाख्रा, २३३ गाई-गोरु, १६१ भैँसी-राँगो, १० कुकुर र २५ घोडा-खच्चड गरी जम्मा दुई हजार ३७६ वटा पशुचौपायलाई विभिन्न रोगको खोप लगाइएको छ।

त्यस्तै ५०० घरधुरी किसानलाई विभिन्न उन्नत जातको तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए। जिल्ला सदरमुकाम खलंगादेखि करीब ३२ कोस टाढाको दूरीमा रहेको जुनिचाँदेको सबै वडामा उक्त शिविर भएको थियो।

जिल्ला प्रशासन कार्यालयको आयोजना र स्थानीय तहको समन्वयमा यसअघि जाजरकोटको बारेकोट, कुशे, शिवालय र जुनिचाँदे  गाउँपालिकामा बृहत् शिविर भइसकेको छ। चारवटा स्थानीय तहबाट छ हजार ५५९ जनाले नागरिकता र फोटोसहितको मतदाता नामावली सेवा लिएका छन्। सदरमुकाबाट मात्र नागरिकता र फोटोसहितको मतदाता नामावलीको सेवा पाएका जाजरकोटका दूरदराजका स्थानीयवासीले घरआँगनमा सेवा पाएपछि खुशी भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । जुनिचाँदेबाट जाजरकोट सदरमुकाम आउन तीन दिन लाग्ने गर्दछ।

पहिलो पटक गाउँमा पुगेका सरकारी अधिकारीलाई स्थानीयवासीले प्रश्नको ओइरो लगाएका थिए। टेलिफोन, नागरिकता गाउँमा सधैँ पाइने अवस्था कहिले हुन्छ भन्दै प्रश्न गरेका थिए। दैलेखको सिमानासँग जोडिएको जुनिचाँदे गाउँपालिका जिल्लाको दुर्गम स्थानीय तहमा पर्दछ। जनयुद्धको समयमा कम्युनको अभ्याससमेत गरेको जुनिचाँदेका स्थानीयवासीले अहिलेसम्म सरकारी अधिकारी गाउँमा पुगेको नदेखेको बताएका छन्। बहुमूल्य जडीबुटी, खानीको भण्डार रहेको यहाँ चोरी–निकासी व्यापक भएको भन्दै प्रजिअ बस्नेतलाई नियन्त्रणका लागि पहल गर्न आग्रहसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.