|

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अंहकार छोडेर जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिएका छन।

युवा संघ नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोर्‍याउने भन्दै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएर लोकप्रिय बनाउने तर्फ गम्भीर बन्न सुझाव दिएका हुन।

नेता नेपालले बहुमतको अंहकारमा नपर्न पनि सरकारलाई सचेत गराएका हुन। 'हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ। जनताका पीर, मर्कामा सहयोगी भयौँ भने, जनताको दुःखकष्टमा साथ दियौँ भने अनि जनताको सुखमा पनि रमायौँ भने जनताले हामीलाई मन पराउनेछन्', उनले भने, 'नभए त्यतिकै जनताले मन पराउँछन् भन्ने त्यसको ग्यारेन्टी गरेर बस्न सक्दैनौँ। ख्याल गर्नुहोस्। यस अर्थमा पनि जनताका समस्या के हुन्? जनताका चाहाना के हुन्? जनता के भनिरहेका छन्? त्यो सुन्नुहोस्। म जोड दिन चाहन्छु। हाम्रो बानी के भएको छ भने भन्ने बोल्ने। सुन्ने कम।'

अहिले सम्पूर्ण कम्युनिस्ट नेताको आचरण र व्यवहारमाथि नै परिक्षण भइरहेको भन्दै नेपालले आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्ने तर्फ विचार पुर्‍याउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए। सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दै संस्थागत नियम र विधिको पालना गरी संगठनात्मक जिम्मेवारीसहित अघि बढाउन पनि उनले आग्रह गरेका थिए। उनले भने, 'हाम्रो आचरण र व्यवहारमा कतै ठूला समस्या त खडा भएका छैनन्? अनौठो खालका विकृति झांगीएका त छैनन्? भ्रष्टाचार, जनसम्बन्ध, व्यवहारसँग जोडिएको होस्। पारदर्शीता छ कि छैन? कमिटीभित्र सबै कुरा छलफल हुन्छ कि हुदैन? कामको बाँडफाँड गरिन्छ कि गरिदैन? योग्यता क्षमताको मुल्यांकन गरिन्छ कि गरिदैन? यी जम्मै कुराहरूलाई हेर्नुहोस्। किनभने अन्त्यमा तपाईंको व्यवहारले नै मान्छेको मन जित्छ।'

भाषणको प्रतिष्पर्धामा जान चाहन्न भन्दै आफ्नो सम्बोधन सुरु गरेका पूर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय सहितको सम्मृद्धि मुठ्ठी भरको जमातका लागि नभएको भन्दै शिक्षा, रोजगारी तथा जनतासँग जोडिएको गाँस, बासका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए।

समाजवादको कुरा गर्दा सोभियत संघ विघटन भएर पतन भएको, चीन ठुलो संकटमा पुगेर पनि नयाँ गतिका साथ अघि बढेको प्रसंग उल्लेख गर्दै नेता नेपालले कमजोरी खोज्ने र हटाउने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले चुनावदेखी नै प्रगति गरेको भए पनि यथेष्ट प्रगति नभएको भन्दै दुई तिहाईको दम्भमा बस्ने अवस्था नरहेको तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए। उनले भने, 'प्रगति यथेष्ट छैन। अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौँ। ख्याल गर्नुहोस् दुई तिहाई होइन। धेरै जनताको विश्वास जित्न बाँकी छ। धेरै जनताको माझमा पुग्न बाँकी छ। धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ। त्यो के बाट गर्न सक्छौ? राम्रो कामबाट।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.