|

काठमाडौं : कार्यवहाक प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वर पोखरेलले पार्टीको विचार र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन।

युवा संघ नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै एकताबद्ध भएको पार्टी विचारमा सुस्पष्ट हुनुपर्ने धारणा राखेका हुन।

विश्वमा भएका घटना नेपालमा पनि दोहोरिन सक्ने भन्दै पोखरेलले विचारको स्पष्टतालाई नेतृत्वले विशेष महत्व दिनुपर्नेमा जोड दिएका हुन। उनले विचारमा स्पष्ट हुन नसके कम्युनिस्ट पार्टी एकताबद्ध भएर ठुलो बने पनि निर्णायक जित हासिल गर्न नसक्ने तर्क गरेका थिए। उनले भने, 'संसारमा हामीले देख्यौँ कम्युनिस्ट पार्टीहरू ठूलाठूला बने। राज्यसत्ता कब्जा गरे। शासन संचालन गरे। तर ती कम्युनिस्ट पार्टी पूँजीवादीहरूले एउटा पनि गोली प्रहार नगरिकन तासका महल ढले जस्तो भएर ढले। हाम्रो एकतावद्ध भएको कम्युनिस्ट पार्टी कुनै हालतमा पनि त्यस्तो हुनुहुन्न। हामी सबैले यसमा खबरदारी गर्नुपर्ने जरुरी छ।'

आर्थिक विकास र सम्मृद्धिको कुरा गरिरहँदा ठोस नीति, कार्यक्रम, योजना र आचरण स्पष्ट हुनुपर्नेमा पोखरेलले जोड दिएका थिए। राजनीतिक कार्यदिशाले सम्बोधन गर्ने विषय सार्थक ढंगले आउन नसके पार्टी एकढिक्का भए पनि दिशाहिन अवस्थामा पुग्ने उनको तर्क थियो।

पोखरेलले भने, 'हाम्रो पोलिटिक्स अब आर्थिक विकास र सम्मृद्धिमा कसरी केन्द्रीत हुने हो? यसको बारेमा छलफल हुनुपर्दछ। यदि यो छलफल भएर हामी ठिक ढंगले निष्कर्षमा पुग्न सकेनौँ भने बास्तवमा हामी न हाँसको चाल न कुखुराको चाल हुन पुग्छ। त्यो र्दुभाग्यपूर्ण स्थिति आउन दिन हुँदैन।'

विचारमा स्पष्ट हुन नसके सिंगो पार्टी नै अलमलमा पर्ने र अन्तत कम्युनिस्ट पार्टीले नै दुर्गती भोगनुपर्ने भन्दै उनले त्यसतर्फ सधै चनाखो हुनुपर्ने आवश्यकता औँल्याए। उनले भने, 'हाम्रो राजनीतिक कार्यदिशासँग गासिएका कुराहरूमा हाम्रो स्पष्टताको जरुरत छ। विचारको मामिलामा हामी स्पष्टताका साथ अगाडि बढ्नु पर्दछ। राजनीतिक कार्यदिशाका सन्दर्भमा पनि स्पष्टता हासिल गरेनौँ भने हामी अलमलमा पर्छौँ। अलमलमा परेको कम्युनिस्ट पार्टी दुर्गती भोग्नुबाहेक अर्को उपलब्धि हुन सक्दैन। र हामी दुर्गतीलाई स्वीकार गर्न सक्दैनौँ।'

पोखरेलले विगतको अभ्यास भन्दा फरक अभ्यास र प्रणालीबाट अघि बढ्नुपर्ने भएकाले संगठनात्मक दृढताको खाँचो औँल्याए। उनले भने, 'श्रृंखलावद्ध कमिटी प्रणाली नहुने हो भने कम्युनिस्टहरू भीडमा शक्ति प्राप्त गर्न सक्दैनन्। संगठनमा मात्रै शक्ति प्राप्त गर्छन्। र यो संगठन भनेको श्रृंखलावद्ध कमिटी प्रणालीमा प्रकट हुन्छ। प्रकट हुनुपर्दछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.