|

ललितपुर : सडक मर्मत नभएको भन्दै विगत ६ दिनदेखि चापागाउँमा यातायात सेवा अवरुद्ध गरिएको छ। स्थानीयवासीले सडक मर्मतको माग गर्दै यो क्षेत्रमा सवारी साधन चलाउन रोक लगाएका हुन्।

सडक विस्तार आयोजनाले समयमै चापागाउँ–सातदोबाटो सडकखण्ड मर्मत नगर्दा स्थानीयवासीले धुलो, हिलो र धुवाँको समस्या खेप्दै आएका छन्। ‘धुवाँ, धुलो अति भो, ठेक्का दिएको कति भो, समय हेर्‍यौँ पटक पटक, पछि हट्दैनौँ हामी यो पटक’ नाराका साथ चापागाउँवासीले सडक ठप्प पारेका हुन्। बन्दका कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

सडक समस्या समाधान गर्नका लागि पहल गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए। ‘राज्यले स्थानीयवासीलाई समयमै मुआब्जा दिन नसकेका कारण बीच बीचमा सडक निर्माणको काम रोकिँदा धुवाँ, धुलोको समस्या खप्नुपरेको हो’, उनले भने। नगरपालिकाले सहजीकरणको काम मात्र गर्ने हुँदा बारम्बार बैठकमा कुरा उठाएको महर्जनले जानकारी दिए।

नगरपालिकाको मातहतमा छेउ र भित्री सडक मर्मत गर्ने जिम्मेवारी रहेकाले मर्मत गरिँदै छ। नगरपालिकाले चापागाउँ मूल सडकबाट सानो टिपर आवतजावत गर्न दिए पनि ठूलो टिपरको लागि नख्खु करिडोरको व्यवस्था गरेको छ।

उक्त सडक विस्तार र मर्मत मात्र होइन कालोपत्र पनि गरिनुपर्ने स्थानीयवासीको माग छ। सडकमा परेका घर टहरा पूरै नहटाएसम्म कालोपत्र गर्न नमिल्ने सडक विभागका महानिर्देशक केशवराज शर्माले बताए। उनले भने, ‘घरको मुआब्जाको व्यवस्था भएपछि मात्र कालोपत्र सम्भव छ।’ सरकारले तत्काल चापागाउँ सडक मर्मत गर्ने जिम्मेवारी नलिए आन्दोलनमा उत्रने सांसद नवराज सिलवालले बताए।

सडक निर्माण सम्पन्न हुनुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.