‘असंसदीय शब्द बोलेको छैन, सभ्य समाज बनाउन मिडिया काउन्सिल विधेयक ल्याइएको हो’

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि हमला गर्ने अस्त्रको रूपमा, गणतन्त्रका सर्वोच्च संस्थामाथि अनाहकमा प्रहार भइरहेको बताएका छन्। उनले यो विषयमा सरकार स्पष्ट भएको बताएका छन्।

भियतनाम र कम्बोडियाको एक साता लामो भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै नेपाली सभ्यतालाई यसरी चुनौती भइरहेको बताएका छन।

‘विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरू अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो। यो अनाहक र अनुचित ढङ्गले आएको छ।‘

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले  संसदमा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बताएका छन। उनले सभामुखले आफूले बोलेका शब्द नभइ प्रतिपक्षी कांग्रेसका सांसदले प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिएको बताए।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री र प्रतिपक्षका सांसदले बोलेका असंसदीय शब्द रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महराले निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले सरकार कुनै पनि विधेयक र कानुनमा छलफल गर्न तयार रहेको बताएका छन।

संघीय संसद सचिवालयमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि उठेका प्रश्नबारे प्रधानमन्त्री ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन ल्याइएको बताए। उनले कानुनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै सरकारले अघि सारेका विधेयकमा संसदमा छलफल हुनुपूर्व बाहिर फरक रूपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको जनाए। विधेयकलाई संसदले वृहत छलफल गरेर पारित गर्ने बताए।

सरकारले दर्ता गरेको विधेयकमाथि नेपाल पत्रकार महासंघ लगायत पत्रकारसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूले विरोध गरिरहेका छन्। राष्ट्रिय मानअधिकार आयोगले पनि उक्त विधेयकमाथि प्रश्न उठाएको छ।

प्रधानमन्त्री ओली विदेशमा रहेका बेला यो विधेयकमाथि व्यापक बहस भइरहेको छ। यसलाई लिएर प्रधानमन्त्रीले भने, ‘असभ्यतालाई बहादुरी ठान्नु समाजका लागि चुनौती हो। विधेयकहरूमा छलफल र परिमार्जन गर्न सकिन्छ। आवेग र उत्तेजनामा आउन आवश्यक छैन। सरकारले कुनै पनि कानून हचुवाका भरमा ल्याउँदैन। आक्रोशपूर्ण, निराधार र अनुचित कुराहरूले समाजलाई विकृतितर्फ लैजान्छ?’

 भियतनाम र कम्बोडिया भ्रमण उपलब्धिमूलक

प्रधानमन्त्रीबाट ओलीले भियतनाम र कम्बोडिया भ्रमण अत्यधिक सफल र उपलब्धिमूलक रहेको बताए। प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वाचन गरेको विज्ञप्तिमा नेपालसँग भियतनाम र कम्बोडियाबीचको द्विपक्षीय सम्बन्ध थप विस्तार भएको र नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा थप उज्यालो भएको उल्लेख छ।

प्रधानमन्त्री ओली नेपालको एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण थिए।

भियतनामसँग हवाई सम्झौता, आर्थिक, व्यापार र लगानी, पर्यटनका क्षेत्रमा सहकार्यका लागि गहन छलफल र सम्झौता भएको जानकारी उक्त विज्ञप्तिमार्फत जानरकारी दिइएको छ।

आफूले भ्रमणका क्रममा गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएकाले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजनाका लागि प्रस्ताव गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.