|

रुकुम : रुकुम पश्चिममा रहेको जिल्ला अस्पताल सल्ले करिब तीन दशकपछि स्वरुप फेर्न थालेको छ। जीर्ण बनेको अस्पताल भवनको मर्मत सुरु भएको छ।

कर्णाली प्रदेश सरकारले अस्पतालको भौतिक संरचना मर्मत, सेवा सुधार तथा उपकरण खरिदका लागि ६० लाख रुपैयाँ विनियोजन गरेपछि स्थापना भएको झण्डै ३१ वर्षपछि अस्पतालको भवन मर्मत सुरु गरिएको हो। भवनका जस्तापाता फेर्ने, भित्तामा प्लाष्टर गर्ने, टायल विछ्याउने र वरिपरिका सडक निर्माणको काम थालिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

अस्पतालको अन्तरंग, प्रयोगशाला र अप्रेशन कक्ष रहेको भवनको जस्तापाता फर्ने काम सुरु भएको छ। यी तीन वटै भवनको भित्रपट्टि भित्तामा पलाष्टरका साथै भुइँमा टायल र माथि सिलिङ गर्ने काम सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओलीले बताए।

‘यी भवनहरु पुराना र जीर्ण छन्, बिरामीमैत्री तथा कामकाजका लागि पनि उपयुक्त बनाउन मर्मत भैरहेको छ,’ अध्यक्ष ओलीले भने, ‘अर्को भवन नबन्दासम्म यसैमा सेवा दिन मर्मत थालिएको हो।’ तत्कालै अर्को भवन बनाउन सक्ने अवस्था नभएपछि प्रदेश सरकारसँग बजेट माग गरेर मर्मतको काम थालिएको अध्यक्ष ओलीको भनाइ छ।

प्रदेश सरकारको विनियोजन गरेको ६० लाखमध्ये ५० लाख रुपैयाँले भौतिक संरचना मर्मत र १० लाख रुपैयाँले अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्ने तयारी भैरहेको छ। उक्त रकमले बेड, म्याट्रेस र बेड साइड लकर खरिदको तयारी गरिएको अस्पतालले जनाएको छ।

२०४५ सालमा स्थापना गरिएको अस्पतालको संरचना अहिलेसम्म स्तरोन्नति भएको छैन। जनसंख्यासँगै बिरामीको संख्या बढ्दै गएपछि अस्पतालमा भौतिक सामग्रीको अभाव रहेको छ। यस्तै, स्वास्थ्यकर्मीको पनि अभाव रहेको अस्पतालले प्रहशासनले जनाएको छ।

दैनिक करिब अढाइ सय बिरामी आउने अस्पताल १५ शय्याको मात्रै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.