|

रसुवा : चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुवेसी सडकखण्डको त्रिशुली खोलामा सडक मर्मत सुरु भएको छ।

दुर्घटनाको जोखिम बढेसँगै सवारी आवतजावतमा रोक लगाई बुधबारदेखि मर्मत सुरु गरिएको हो। सडक मर्मतमा कसैले चासो नदिएको भन्दै आफ्नो नेतृत्वमा काम सुरु गरिएको आमाछोदिङ्मो गाउँपालिका–१ का वडाध्यक्ष नीमा दिन्डु तामाङले बताए। सवारी आवतजावतका बेला त्रिशुली खोलामा दुर्घटना बढेपछि मर्मतको काम सुरु गरिएको उनको भनाइ छ।

‘सडक मर्मतमा कसैले चासो दिएनन्। जीर्ण सडकका कारण साना तथा ठूला गाडीहरु दैनिकजसो बिग्रिने थालेपछि जनप्रतिनिधि, व्यवसायी सबै मिलेर मर्मत थालेका हौँ,’ वडाध्यक्ष तामाङले भने, ‘रसुवागढी जलविद्युत आयोजना र जिल्ला समन्वय समिति रसुवाबाट सहयोग प्राप्त भएको छ।’

मैलुङ–स्याफ्रुवेसी सडकखण्डअन्तर्गत त्रिशुली खोलामा ह्युमपाइप राखी खोलाको सडक ढलान गर्न सुरु भएको समेत छ। बुधबार एक दिन सवारी आवतजावतमा रोक लगाउने भने पनि काम बाँकी रहेकाले बिहीबार दिनभर रोक लगाइने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ईश्वरी भण्डारीले बताए।

मैलुङ–स्याफ्रुवेंशी सडकखण्डको बीचमा पर्ने त्रिशुली खोलामा पुल तथा ह्युमपाइप राख्नुपर्ने भए पनि नराखिँदा आवतजावतमा समस्या भएको चालकहरुले बताए। खोलामा पानीको वहाव बढिरहेको र राति बाटो राम्ररी नदेखिँदा दुर्घटना बढेको उनीहरुको भनाइ छ।

सडक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजना हस्तान्तरण गरेको एक वर्ष भयो। हस्तान्तरण गरेको केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइए पनि केही दिनपछि बन्द भएको थियो।

वर्षातको समयमा ठाउँठाउँमा पहिरो गई अवरोध भएको सडकको स्तरोन्नतिका लागि डिपिआर संशोधन गनुपर्ने भन्दै स्तरोन्नतिमा ढिलाइ भएको बताइएको थियो। डेढ महिनाअघि मात्र अवरुद्ध सडकको ट्रयाक खोलिएको थियो।  ट्रयाक खोलिएसँगै साना सवारी मात्र सञ्चालन गर्न सकिने भनिएको थियो। तर, छोटो दूरीको साँघुरो र अप्ठ्यारो सडकमा ठूला साधानहरु पनि सञ्चालन हुँदै आएको छ। 

सडक स्तरोन्नतिका लागि ठेकेदार छनौट नहुँदा ढिलाइ भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंसी–रसुवागढी सडक योजनाका इन्जिनियर तथा सूचना अधिकारी पारस हमालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.