|

बुटवल : प्रदेश ५ प्रदेश सभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ। अधिवेशनको पहिलो बैठक विहीबार दिउँसो १ बजे बस्नेछ।

पहिलो बैठकमा सभामुख पूर्णबहादुर घर्तीमगरले मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर अधिवेशनको सुभारम्भ गर्नेछन्। प्रदेशसभाको हिउँदे अधिवेशन २३ वटा विधेयक पारित गर्दै अघिल्लो आइतबार रातिदेखि अन्त्य भएको थियो ।

आर्थिक वर्ष ०७६/७७को बजेट निर्माण गर्ने म्याण्डेटसहित यो अधिवेशन सुरु हुँदै छ। अधिवेशनले आगामी आर्थिक वर्षका लागि तयार गर्न विनियोजन विधेयकका सिद्यान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफल गरी विनियोजन विधेयक पारित गर्ने छ। यद्यपि यसबारे कार्यसूची भने ब नसकेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए।

मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले प्रदेशसभा नियमावलीको १३३ को उपनियम (२) बमोजिम प्रदेश सरकारले आर्थिक वर्ष ०७५/०७६ का लागि तयार गर्न विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफल गर्न प्रस्ताव पेस गरेपछि छलफल सुरु हुनेछ।

प्रदेशसभाको नियमावलीमा विनियोजन विधेयक पेस हुनु १५ दिनअगावै बैठकमा छलफल समाप्त समाप्त भइसक्नुपर्नेछ। तर, बजेट अधिवेशन नै ढिला गरी सुरु भएकाले समयावधिभित्रै विनिजयोजन विधेयकको पूर्ण छलफल भने हुन नसक्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता जनार्दन पौडेलले बताए। प्रस्ताव पेस भएसँगै आगामी आर्थिक वर्ष ०७६/०७७ को नीति कार्यक्रम र बजेट कस्तो बनाउने भन्नेबारे प्रदेशसभा सदस्यले छलफल गर्नेछन्।

नीति तथा कार्यक्रम जेठको दोस्रो साता

यो छलफल सकिएसँगै सम्भवतः जेठ दोस्रो सातातिर सरकारले नीति कार्यक्रम पेस गर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता जनार्दन पौडेलले बताए।  प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ।

बजेट निर्माणमा जुटेको प्रदेश सकारले अन्य प्रदेशको कार्यसूचीभन्दा निकै ढिलो गरी बजेट अधिवेशनको आह्‍वान गरेको हो। 

योजना तथा बजेट महाशाखाका उपसचिव तथा मन्त्रालयका प्रवक्ता पौडेलले बजेटको आकारबारेमा यकिनका साथ भन्न नसकिने बताए। आर्थिक वर्ष ०७५/०७६ का लागि २८ अर्ब २९ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आवका लागि त्योभन्दा  ठूलो आकारको बजेट ल्याउनेमा भने कुनै शंका नरहेको सचिव पौडेलले बताए।

‘संघले दिने सशर्त अनुदानको रकमबारे थाहा नहुँदासम्म प्रदेशले बजेटको प्रक्षेपण गर्न मिल्दैन।’ सचिव पौडेलले भने। नीति तथा कार्यक्रम पारित गरिसकेको संघीय सरकारले भने जेठ १५ मा बजेट घोषणा गर्ने तयारी गरिरहेको छ।

संघले प्रदेश ५ लाई आगामी आर्थिक वर्षमा वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ५४ करोड १ लाख र राजस्व बाँडफाँडबापत ९ अर्ब ९१ करोड २३ लाख गरी १७ अर्ब ४५ करोड रुपैयाँ दिने भएको छ। प्रदेश सरकारको आन्तरिक स्रोतबाट २ अर्ब ४० करोड रुपैयाँ राजस्वको प्रक्षेपण छ। यी संख्यालाई हेर्दा आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको भन्दा धेरैले नबढ्ने सहजै अनुमान गर्न सकिन्छ।

पाँच वर्षको आवधिक योजना र मध्यमकालीन खर्च संरचनालाई ठोस आधार दिने गरि आगामी आर्थिक वर्षको बजेट तयार हुने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बताए। असार १ गते प्रदेश सभामार्फत मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.