यो नतिजा अहिलेसम्मकै राम्रो

|

काठमाडौं : नेपाली राष्ट्रिय र्‍याफ्टिङ टिमले पुरुष खुलातर्फको स्प्रिन्टतर्फ पाँचौँ स्थान हात पारेको छ। अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित टाली नदीमा बिहीबार १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिप सुरु भएको थियो।

सुरज गुरुङको कप्तानीमा उत्रिएको नेपाली टिमले वर्षात्‌बीच २४७.७८ सेकेन्डमा दूरी स्प्रिन्ट पूरा गर्दै पाँचौँ स्थान हासिल गरेको हो। विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले प्राप्त गरेको यो नतिजा अहिलेसम्मकै सर्वाधिक राम्रो हो।

आर ६ तर्फको विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा डिफेन्डिङ च्याम्पियन ब्राजिलले स्प्रिन्टमा स्वर्ण पदक जित्दै राम्रो सुरुवात गर्न सफल भयो। उसले २४२.५२ सेकेन्डमा डुंगा पार गरायो। दुई वर्षअघिको नतिजा दोहोरिँदा जापान २४३.५९ सेकेन्डमा दूरी पूरा गर्दै फेरि रजत पदकमै सीमित भयो। त्यस्तै रुसले २४३.९९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य हात पार्‍यो। १६ देश सहभागी यस स्पर्धामा न्युजिल्यान्ड २४६.६७ सेकेन्डसाथ चौथोमा रह्यो।

सुरजसहित शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र वैकल्पिक खेलाडी सुनिल गुरुङ रहेको नेपाली टिमले हेड टु हेडमा शुक्रबार चीनविरुद्ध प्रतिस्पर्धा गर्नेछ। पहिलो खेल जितेमा नेपालको क्वाटरफाइनल भेट ब्राजिलसँग हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.