|

काठमाडौं :   बुधबार साँझ कालोपुलमा आफ्नै श्रीमानले एसिड प्रहार गरेपछि घाइते भएकी जेनी खड्काको स्वास्थ्य अवस्था स्थिर र गम्भीर रहेको बताइएको छ।

एसिड प्रहारबाट घाइते भएकी खड्कालाई सुरुमा ओम अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि हाल उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

सुरुमा आइसियुमा राखेर उपचार गरिएकोमा अहिले वार्डमा सारिएको र बिहीबार दिउँसो उनको  जलेको भागमा ड्रेसिङ गरिने उनको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै अस्पतालका कर्मचारी सुमन निरौलाले बताए।

एसिडका घाइतेहरूको अवस्था थाहा पाउनका लागि उपचार गरेको  ४८ देखि ७२ घण्टापछि मात्र खतरामुक्त भए नभएको थाहा हुने हुँदा अहिले नै केही भन्न नसकिनै उनले बताए। उनले भने, ‘हाल उनलाई बेडमा सारिएको छ,  अब केही बेरमा एसिडले असर गरेको भागमा ड्रेसिङ गर्ने तयारी छ, अहिले नै उहाँ खतरामुक्त भने भन्न मिल्दैन।' एसिड प्रहारबाट हाल उनको दुवै हात, छातीको अगाडिको भाग, घाँटीको भाग र अनुहारको तल्लो भाग गरेर शरीरको २० प्रतिश भाग जलेको बताइएको छ।

विष्णु भुजेलले सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकार गरेका छन्। उनले श्रीमती जेनी खड्कामाथि बुधबार साँझ ८ बजेतिर काठमाडौंको कालोपुलनजिक एसिड प्रहार गरेका थिए। श्रीमतीलाई एसिड प्रहार गरेर भक्तपुरतिर भागेका विष्णुलाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो। एसिड प्रहार गरेर भाग्दै गरेका उनलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरमा राखिएको छ। प्रारम्भिक बयानमा पारिवारिक झगडामा एसिड प्रहार गरेको विष्णुले स्वीकार गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.