पूरै गाउँपालिका एकजना कर्मचारीका भरमा

|

 डोटी :  जिल्लाका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ। केही गाउँपालिकामा एकजना कर्मचारीको भरमा गाउँपालिका संचालन गर्नुपरेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। उनले भने, ‘हाम्रो गाउँपालिकामा ६ वडा छन्। ६ वटै वडा सचिवको काम गर्ने, गाउँ कार्यपालिकाको कार्यालयमा प्रशासनिक काम गर्ने, अन्य फाँटका काम गर्ने जम्मा एकजना मात्रै कर्मचारी छन् अनि हामीले कसरी  काम गर्ने?'

एकजना कर्मचारीको भरमा कार्यालय सञ्‍चालन गर्नुपर्ने बाध्यता रहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए।  के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीको दुखेसो पनि उस्तै छ।

उनले भने, ‘हामीले ऐन, नियम, कार्यविधि बनाएका छौं तर त्यसको कार्यान्वयनका लागि जनशक्ति छैन,’ शाहीले भने, ‘सुरुदेखि नै हामीले कर्मचारी अभाव झेल्दै आयौँ, समायोजनपछि त कर्मचारी सबै खाली हुने अवस्था छ।’आफू संघ, प्रदेशमा समायोजन भएको भन्दै कर्मचारीहरूले कामै गर्न नमानिरहेको उनको भनाइ छ। उनी थप्छन्, ‘न कर्मचारी छन् न प्राविधिकहरू छन्, अनि जनप्रतिनिधिले मात्रै चाहेर सुशासन कायम हुनसक्ने अवस्था छैन।’

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्‍जु मलासी जनप्रतिनिधिहरू जसरी खटिएका छन्, कर्मचारीहरू त्यसरी नखटेको दुखेसो गर्छिन्,  ‘कर्मचारीहरूले असहयोग गरेका छन् त म भन्दिनँ, सहयोगै गरेका छन् मलासीले भनिन्, ‘तर जुन स्पिडका साथ हामी जनप्रतिनिधिहरू हिँड्न खोज्छौं, त्यो कर्मचारीहरूले गर्न सकेका छैनन्।’ उनले सुशासन कायम गर्नका लागि आफूले अनुगमनलाई बढी जोड दिएको बताइन्।

स्थानीय सरकारलाई बलियो बनाउनेगरी संघ र प्रदेशले अधिकार दिनुपर्ने बताउँछन् पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी। उनी भन्‍छन्,‘जनताका लागि केन्द्र सरकार सुनिने सरकार हो र प्रदेश सरकार देखिने सरकार हो, तर स्थानीय सरकार जनताले नियाल्ने सरकार हो।’

सोचेअनुसार स्प्रिट छैन

कर्मचारी अभावकै कारण निर्वाचनका बेला जुन सोच लिएका थियो दुई वर्ष पूरा हुँदा पनि त्यो सोचअनुसार अगाडि बढ्न नसकेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए।

उनले भने, ‘कर्मचारी छैन भन्दाभन्दै दुई वर्ष बितेछ, गाउँपालिकामा काम गर्ने एकजना मात्र छन्, वडा सचिव पर्याप्त छैन।’ उनले थपे, ‘कर्मचारी समायोजन भएपछि अहिलेसम्म आउने एक जनाको पनि टुंगो लागेको छैन, सबै जाने भइसके।’

कर्मचारीहरू आउँदै नआउने, आएका कर्मचारीहरू पनि दुर्गममा बस्नै नमान्ने जस्ता समस्याहरू आफूले झेलेको उनी बताउँछन्। उनले भने,  ‘हामीले आवश्यक ऐन कानुनहरू त बनाएका छौँ कानुन बनाएर मात्रै सुशासन कायम हुँदैन, जनशक्ति चाहिन्छ, त्यो हामीसँग छैन।’

जिल्लाको आर्दश गाउँपालिकामा पनि कर्मचारी अभाव उस्तै  रहेको अध्यक्ष टेकबहादुर रोकायाले बताए  उनले भने, ‘आज प्रमुख प्रशासकीय अधिकृत छैन, भोलि लेखापाल छैन, पर्सि फाँटको कर्मचारी छैन भन्दाभन्दै दुई वर्ष बितायौं’ आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले भने, ‘तर पनि हामी जनतालाई सुशासनको प्रत्याभूति गराउने प्रयासमै छौँ।’ कर्मचारी अभावले जनप्रतिनिधिहरूले आफ्नो भिजन अनुसारको काम गर्न नसकेको उनी बताउँछन् ।

गाउँगाउँमा सिंहदरबार कागजमा मात्रै 

गाउँगाउँमा सिंह भन्ने नारा कागजमा मात्र सीमित रहेको  सुदूरपश्चिम गाउँपालिका महासंघ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए। अध्यक्ष ओझाले भने, ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा कागजमै सीमित भएको छ, नाम मात्रका सिंहदरबार हुन्, केको सिंहदरबार? हामीलाई न अधिकार दिने न कर्मचारी दिने, अनि कसरी सुशासन कायम हुन्छ?’

संघ र प्रदेश सरकारले स्थानीय तहभन्दा पनि सांसदलाई बलियो बनाउने काम गरेको उनको आरोप छ। ‘स्थानीय तह सिंहदरबार होइन, स्यालदरबार जस्ता भएका छन्’ ओझाले थपे, ‘तर पनि हामीले सुशासन कायम गर्नका लागि आफ्नो क्षेत्रबाट प्रयास गरिरहेका छौं।’

सांसदले बाँडेका योजना जनताको भन्दा पनि सांसदको हुने भएका कारण त्यसको पारदर्शितामा प्रश्न खडा हुन्छ। उनले भने, ‘हामी यसरी संस्थागतरूपमा यसरी लाग्दा पनि सुशासन कायम गर्न सकेका छैनौँ, त्यहाँ के होला आफैँ जान्नुहोस्।’

सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहले कर्मचारी अभावको समस्या झेलीरहेको अध्यक्ष ओझाले बताए।  उनले भने, ‘भन्ने बेलामा सिंहदरबार भन्ने एकजना कर्मचारीले कस्तो सिंहदरबार चलाउला आफैँ भन्नुस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.