|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी, संघ संगठन र राजनीतिक दलका पहुँचवालाको नातेदारको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ। यस विषयमा अख्तियार अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकाली छानबिनको प्रक्रियालाई अघि बढाएको छ।

त्रिवि आयोगले लिएको परीक्षाको नतिजामा अनियमितता भएको र नातेदार तथा उच्च पदाधिकारीको मात्र नाम निस्केको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो। यस विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो।

अख्तियार अनुसन्धान स्रोतका अनुसार भेटिएका केही तथ्यांकले गम्भीर अनियमितताको संकेत गरेको छ। स्रोतले प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा जाने  र थप छानबिन काजगपत्र हेरेर अनुसन्धानको कामलाई अघि बढाएको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आयोगले उजुरी गरेकै दिनबाट छानबिन तथा अनुसन्धानको कामलाई अघि बढाएको बताए। ‘अख्तियारले यस विषयमा छानबिन गरिरहेको छ’, ‘छानबिनको काम भइरहेको छ, उनले भने छानबिनको विधि र प्रक्रिया सार्वजनिक गरिँदैन, अख्तियारले गोप्यरूपमा छानबिन गरिरहेको छ।’ उनले छानबिन सकिएर नतिजा आएपछि मात्र सबै प्रक्रियालाई सार्वजनिक गर्ने बताए।

आयोगले लिएको खुला परीक्षामा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्राचार्य कृष्ण आचार्य, पूर्वरजिष्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदार सफल भएका छन्।

आयोगले विज्ञापन नम्बर १८र२०७३र२०७४ मा विभिन्न पदमा खुला विज्ञापन गरेको थियो। उपप्रशासक, आर्थिक नियन्त्रक, शाखा अधिकृत, लेखा अधिकृत, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, लेखा सहायकलगायत १६ पदमा विज्ञापन गरिएको थियो। धेरैजसो पदमा उच्च पदाधिकारीको नातेदारको नामावली प्रकाशित भएपछि उजुरी परेअनुसार अख्तियारले छानबिन अघि बढाएको हो।

उत्तरपुस्तिका गडबड गरेर आफ्नो नजिकको व्यक्तिलाई छानेर पास गराइएको त्रिविका अन्य कर्मचारीको भनाइ छ। नतिजा प्रकाशन उच्च पदाधिकारीकै मिलेमतोमा गडबड भएको भन्दै प्राध्यापक, विद्यार्थी संघ संगठनले यस विषयमा छानबिन गरी कारबाहीको मागसमेत गरेका छन्।

आयोग कार्यालयबाट प्राप्त एक सूचीमा अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको नाम शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा निस्केको छ। शर्माले भतिजीसहित भनसुनका आधारमा अन्य आफन्त र चिनजानका व्यक्तिको समेत नाम निकाल्न सफल भएको स्रोतको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.