खेलकुद

भीमनारायण गोल्डकप : दाउफिन्स क्लब फाइनलमा
SHARES

विजेता टिम पाउनेछ चार लाख

जेठ २, २०७६

    धनकुटा : धनकुटामा जारी १४ औं संस्करणको शहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विन्दावासिनी फुटबल क्लब मोरङलाई ० का विरुद्ध २ गोलले पराजित गर्दै दाउफिन्स क्लब क्यामरुन फाइनलमा प्रवेश गरेको छ। बुधबार हुने भनिएको पहिलो सेमिफाइनल खेल वर्षाका कारण बिहीबार भएको हो।

    दाउफिन्सका लागि खेल सुरु भएको १७ औँ मिनेटमा जर्सी नं १४ का पेटेङगाले पहिलो गोल गरेका थिए। त्यसपछि दबाबमा परेको विन्दावासिनीले धेरैपटक गोल गर्ने अवसर पाए पनि बललाई जाली चुमाउन सकेन। खेलको दोस्रो हाफमा दाउफिन्सलाई निकै दबाबमा राखेको विन्दबासिनीले कतिपय गोल गर्ने मौका चुकाउँदा पराजय व्यहोर्नुपरेको हो।

    दोस्रो हाफको दुई मिनेटमा विन्दवासिनीका विष्णु श्रवण, दोस्रो हाफ कै १२ मिनेटमा बुद्ध चम्जोङको गतिलो प्रहारलाई दाउफिन्सका गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरे भने ४२ औँ मिनेटमा विन्दवासिनीका तीर्थ बस्नेतले गरेको प्रहार पोल नजिकैबाट बाहिरिएको थियो। यस्तै, खेलको दोस्रो हाफको इन्जुरी समयमा दाउफिन्सकै जर्सी नम्बर १० का एभ्रल इनामेले गोल गर्दै आफ्नो टिमलाई २–० को अग्रता दिलाए। खेलको म्याच म्यान अफ द म्याच दाउफिन्सका जर्सी नम्बर ३ का यामनिक ओवना घोषित भए।

    प्रतियोगितको दोस्रो सेमिफाइनल खेल बिहीबार अपरान्ह ४ बजे विर्ता युनाइटेड क्लव झापा र सशस्त्र प्रहरी बल काठमाडौंबीच हुने आयोजकले जनाएको छ। विर्ता युनाइटेड क्लब झापाले आयोजक धनकुटालाई र एपिएफले फ्रेण्डस् क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन्। प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने भएको छ।

    गत शनिबारदेखि जारी प्रतियोगितामा विभिन्न विभागीय तथा दुई अन्तर्राष्ट्रिय टिमसहित ८ टीमको सहभागिता रहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। प्रतियोगितामा विजेता टिमले चार लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र म्यान अफ दि सिरिज (सर्वोत्कृष्ट) खेलाडीबाट पुरस्कृत हुनेछन् भने उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]