गाउँपालिकाको मुख्य आम्दानीको स्रोत बन्दै

|

सिन्धुली : सिन्धुली सदरमुकाम माढीबाट पश्चिमतर्फ करिब ८० किलोमिटर गाढीको यात्रा गरेपछि हरिहरपुरगढी किल्ला पुग्न सकिन्छ। अग्लो डाँडामा रहेको किल्लामा पहिलोपटक पुग्ने जो कोही आनन्दले रमाउन सक्ने प्राकृतिक सौन्दर्य र इतिहास बोकेको छ।

हरिहरपुरगढी किल्लाको वरिपरि हरियाली जंगल। उत्तरबाट मकवानपुर र सिन्धुलीलाई छुट्याउँदै बगेको बागमती नदी। दक्षिणतर्फ तराईका फाँट, पश्चिम मवकनपुरको बागमती गाउपालिकाको मनोरम दृष्य हरिहरपुरगढीबाट सहजै देख्न सकिन्छ।  

हरिहरपुरगढी सिन्धुलीगढीभन्दा पुरानो इतिहास बोकेको किल्ला हो। बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालीन राजा हरिसिंह देव विसं. १३८७ मा सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए। त्यही किल्लाले राज्यको रूप लिएको थियो। यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो।

सिन्धुलीगढीमा पराजित भएका इष्टइन्डिया कम्पनीका फौजले एक पटक फेरि काठमाडौं प्रवेश गर्न हरिहरपुरगढीबाट फेरि प्रयास गरेको इतिहास छ। त्यहाँसमेत अंग्रेजी फौजलाई गोर्खालीले परास्त गरेका थिए। 

ऐतिहासिक महत्व बोकेको यो हरिहरपुरगढी किल्ला लामो समय संरक्षण र प्रचार प्रसारको अभावमा आझेलमा परेको थियो। तर अहिले स्थानीय सरकार हरिहरपुरगढीको संरक्षण र विकासमा जुट्दै छ। झण्डै ७०० वर्षअघि बनेको यो किल्ला अहिले पनि तत्कालीन समयमा निर्माण भएको दरबार बाहेक अरु संरचना उस्तै र उतिकै बलिया देखिन्छन्। किल्लाभित्र रहेको दरबार भने भत्किएर भग्नावशेष मात्र बाँकी छ। 

हरिहरपुरगढीकै नामबाट नामाकरण भएको हरिहरपुरगढी गाउँपालिका अहिले उक्त किल्लाको विकासमा जेटेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७५।०७६ को १५ लाख बजेटले किल्ला क्षेत्रमा पर्ने जग्गामा घेराबेरा गरेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले बताए।‘

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै गाउँपालिकाको मुख्य आम्दानीको स्रोतको रूपमा यही किल्लालाई विकास गर्ने योजना छ। वर्षैपछि बजेट विनियोजन गर्दै स्थानीय सरकार किल्लाको विकासमा जुटेको छ’ उनले भने। स्थानीय सरकारको पहलमा मात्रै हरिहरपुरगढी किल्लाको विकास सम्भव नभएकाले प्रदेश र संघ सरकारलाई पनि सहयोग मागेको उनको भनाइ छ। 

पानीको समस्या समाधानमा प्रदेशको सहयोग 

डाँडामा किल्ला भएकाले खानेपानीको समस्या छ। खानेपानीको समस्या हँदा पिकनिक,विभिन्न कार्यक्रममा आउने आन्तरिक पर्यटक कमै छन्। खानेपानीको समस्या समाधानका लागि प्रदेश ३ सरकारले ५० लाख बजेट विनियोजन गरेको अध्यक्ष लामाले जानकारी दिए। उक्त ५० लाख बजेटले किल्लाको कही तल रहेको मुहानबाट लिफ्ट गरी पानी माथी लैजान डिपिआरसमेत तयार भएको अध्यक्ष लामाले बताए। खानेपानी उपलब्ध भएपछि आन्तरिक पर्यटनको आगमन बढ्ने अध्यक्ष लामाको विश्वास छ। 

हरिहरपुरगढीलाई पहिलाकै स्वरूपमा विकास गर्न पुरातत्व विभागले अहिले किल्लाको डिपिआर तयार गरिरहको छ। पुरातत्व विभागले आफैले हरिहरपुरगढी किल्लाको संरचना निर्माणका लागि डिपिआर निर्माण गर्दैछ। ‘डिपिआर निर्माणको काम अन्तिममा पुगीसकेको जानकारी आएको छ। अव छिट्टै नै डिपिआरको रिपोर्ट आउछ होला’ उनले भने। 

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागी गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेकाले तामाङ होम स्टे संचालन गर्ने गाउँपालिकाको योजना रहेको उनले बताए। होम स्टे संचालनका लागी पनि डिपिआर तयार भइरहेको उनको भनाई छ। त्यस्तै सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद तथा पूर्व कृषिमन्त्री हरिबोलप्रसाद गजुरलेको संसद विकास कोषको ४० लाख बजेटमा अतिथि गृह निर्माण सुरु भएको छ। 

हरिहरपुरगढी किल्ला घुम्न आउन पर्यटकलाई खान बस्न मिल्ने गरी सुविधा सम्पन्न किल्ला क्षेत्रभित्रै अतिथि गृह निर्माण सुरु भएको उनले बताए। उक्त अतिथि गृहको केही समय अघि सांसद गजुरेलले नै शिलान्यास गरेका छन्। निर्माणाधीन धरान-चतरा-सिन्धुली-हेटौंडा (मदन भण्डारी) राजमार्गको निर्माण सम्पन्न हुने वित्तिकै हरिहरपुरगढी किल्लामा पर्यटकको चहलपहल सुरु हुने अपेक्षा गरिएको छ।

सरदमुकाम सिन्धुलीमाढीबाट हरिहरपुरगढी गाउँपालिकाको गुर्जीसम्म करिव ७३ किल्लो मिटर मदन भण्डारी राजमार्ग र त्यसबाट करिव ९ किलो मिटरको उचाइमा चढेपछि हरिहरपुरगढी पुग्न सकिन्छ। गुर्जीबाट किल्ला पुग्ने ९ किलो मिटर सडक कच्ची भएकाले उक्त सडक पिचका लागि पनि गाउँपालिकाले डिपिआर निर्माणलाई अन्तिम चरण पुर्‍याएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.