ब्लग

सहरमा ‘गोहो’ : हुलिया फरक, दायरा उही
SHARES

जेठ २, २०७६

    काठमाडौ‌ं : 'गोहो' अर्थात् पदचिह्न/गोरेटो। गाउँघर, लेकबेँसी गर्दाको गन्तव्य पुग्ने माध्यम गोहो एकाएक सहरमा देखिएको छ। त्यसमाथि फरक हुलियामा। गोहो कथासंग्रहको रूपमा आएको छ। गोहोको यो अवतारको श्रेय जान्छ लेखक जिके पोखरेल र अक्षरशाला प्रकाशनमाथि।

    यति मात्रै होइन गोहो पाठकको हातमा र फेसबुकका भित्तामा पनि छ। यसमा लेखक पोखरेल पनि लागिपरेका छन्। पुस्तक, लेखक र पाठक बीचको दूरी छोट्याउन सामाजिक सञ्जाल पनि बलियो माध्यम भएर आएका छन्। भलै यसका अन्य पक्षहरू पनि होलान्। तर, जन्मदाताले सन्तानलाई केही कदम हिँडोस् भनी औँला दिनुलाई म चाहिँ नजरअन्दाज गरिदिन्छु।

    अब पुस्तकपट्टि जान्छु। गोहो कथासंग्रहको आवरण हेर्दा मात्र पूरा अर्थ नखुल्न सक्छ। तर, एकपछि अर्को पाना छिचोल्दै जाने हो भने आवरणको भेद खुल्दै जान्छ। त्यसमाथि गोहोको शाब्दिक अर्थको दायराले पनि संग्रहमा समेटिएका कथाहरूले नेपाली लेखनको क्षेत्रमा आफ्नो पदचिह्‍न आफैँ बनाउनेमा म पाठकको हिसाबमा विश्वस्त छु। पुस्तक कसलाई समर्पण गरिएको छ त? यसमा केही अनुच्छेदपछि आउँछु।

    ल आनन्दपुरमा जाऊँ। ‘आनन्दपुर’ गोहोको पहिलो कथा हो। ‘कहिल्‍यै आनन्द पाएन यो गाउँले’ भन्ने निरश वाक्यबाट सुरु भएको यो कथा विस्तारै पाठकका लागि चाहिँ रसिलो बन्दै जान्छ भने पात्रहरूका लागि रसबिहीन।

    १० वर्षे सशस्त्र संघर्षको कुनै एक कालखण्डलाई क्यानभास बनाएर लेखिएको यो कथाले गाउँका केही शिक्षकमाथि गाढा रङ पोतेको छ। फिक्का रङले समाज नियालेको छ। उक्त संघर्षलाई नजिकबाट नियालेका हामीलाई यो कथानक सत्य घटनाझैँ प्रतीत हुन्छ।

    दोस्रो कथा हो ‘गोहो’। यसैलाई संग्रहको नामाकरण पनि गरिएको छ। यो कथा पढिरहँदा मज्जाको अनुभूति भयो। जस्तोकी कुनै ‘बिजनेस’का लागि बनाइएको फिल्म हेरेझैं। तर, कथाको निष्कर्षमा पुग्दा यसमा माओवादी छापामार पछुतोको जिन्दगी बाँचिरहेका छन्। यस्तो लाग्छ कि लेखक देशमा आएको परिवर्तनमा खुसी छैनन्।

    पाठक यहाँसम्म पुग्दैगर्दा कथाकारमाथि स्वतः प्रश्न उब्जिन्छ- के हाम्रा लागि अहिले पाएको स्वतन्त्रता केही पनि होइन? तत्कालीन परिवर्तकारी शक्ति तथा व्यक्तिहरूदेखि अहिले सिंगो देशवासी नै प्राप्त उपलब्धिमाथि पूर्णरूपमा सन्तुष्ट नहोलान्। तर, यहि परिवर्तन पनि केही होइनर? के भुइँमान्छेदेखि आमजनता थोरै नै सही खुसी छैनन् र? यस्तो विषयलाई लेखकजस्तो सचेत दिमागले कसरी नजरअन्दाज गर्न सक्यो?

    ‘भैस’, भैस कथा एक पूर्ण र सफल कथा हो। कोशी नदीको रिसाहापन र यसले गरेको क्षतिबारे समाचार पढियो, भेलमा तैरिरहेको तराई र मधेस पनि देखियो, कोसीमाथिको भू-राजिनीति पनि बुझियो। तर, कथाकारले यही विपत्तिबाट एउटा ‘भर्जिन’ कथा ‘भैस’ जन्माएको छ। कथामा कोसी किनारका भुइँमान्छेको तस्वीर ‘एचडी क्वालिटी’मा खिचिएको छ। पठनपछिको सन्तुष्टिका आधारमा भन्ने हो भने लाग्छ यो कथा संग्रहकै उत्कृष्ट हो।

    कथा ‘मोचनघाट’ पढिरहँदा यस्तो भान हुन्छ कि हो त यस्तै भइरहेको छ त। पच्छाएर कथाकार अघि बढेको त्यसले फराकिलो तह बनाउन सकेको देखिँदैन। कथाकारको मुख्य मात्र एउटा वाक्य बोल्छ - संसारका महान नारीहरू पुरुषको सहयोगले मात्र महान् भएका हुन्।

    कथाकार कसरी भन्नसक्छ कि हरेक नारीहरुलाई महान् बन्न पुरुषको काँध जरुरी पर्दछ? एकछिनलाई मानौँ कि कुनै पुरुषको साथ र सहयोगमा कुनै महिला महान् भइन्। अब प्रश्न उब्जिन्छ- के पुरुषहरू एक्लै प्रयासबाट मात्रै महान् भएका छन् त? के उनीहरू महान् हुनुमा महिलाको कुनै स्थान छैन। जिके पोखरेल लेखक, पत्रकार या पुरुष बन्न उनकी आमा, श्रीमती या परिवारका अन्य महिला सदस्यहरूको भूमिका उनी कसरी बिर्सन सक्छन्?

    लेखकले किन यस्तो तर्क पेस गर्न खोजे, उनी नै जानुन्? तर, यसले लेखकको मूलस्वर र सोच उजागर गरेको छ। ‘सुराकी’ सामान्य कथा हो। जहाँ एउटा पात्र तत्कालीन नेकपा (माओवादी)ले राज्यपक्षविरुद्ध छेडेको संघर्षका कारण बसाइँ सर्छ। युद्धकालमा यस्ता घटना भएकै हुन्। मेरो गाउँमा पनि केही खुमलाल, महेन्द्र, र तेजबहादुर यसरी नै आइपुगेका थिए। यसकारण पनि सामान्य लागेको हुनुपर्छ मलाई। त्यसैले यसमा मेरो भन्नुपर्ने थप केही छैन।

    ‘तारा’ कथा संग्रहमा किन राखेछु भन्ने लेखकलाई पर्‍यो कि परेन होला? भेटेछु भने सोधौंला। इडिभी परेर प्रेम सकिएको भन्दै रोइलो गरिरहेको पात्र लोभी, स्वार्थी र कमजोरबाहेक अरू केही लाग्दैन। यसबाहेक ‘तारा’ कथा स्कुले किशोरकिशोरीको प्रेमप्रसंग राखेर उनीहरूबाट तारिफ पाउने उद्देश्यका साथ लेखिएको हुनसक्छ भन्ने आँकलन मैले गरेको छु। केही दिनअघि मात्रै इडिभीको नतिजा सार्वजनिक भएको छ। यसबाट कथाकारलाई अर्को कथा मिलोस्, शुभकामना।

    नेपालले भोगेको दुई कालखण्ड तर एकअर्कामा अन्तरसम्बन्धित समयको चित्र छ ‘छेकारो’मा। जबर्जस्ती सहिद बनाइएको व्यक्ति र उनकी पत्त्नीको संघर्ष र पीडालाई कथाले बलियो ढंगबाट उठान गरेको छ। एक हिसाबले युद्ध सकिएको १५ वर्ष भइसक्दा पनि आजसम्म बाँचिरहेको मुद्दा हो ‘छेकारो’।

    ‘झपट बहादुर’, कथा भनेर लेखिएको झपटबहादुर शीर्षकको कथा, कथा नभएर समाचार जस्तो छ। कथाकारको उपस्थिति निकै फितलो लाग्छ। सायद कथाकार पुराना पत्रकार हुनुपर्छ। पत्रकारिताको पूर्णप्रभाव छल्किएको छ कथामा। आफ्नो पेसागत मर्यादासँग जोडिएर कुनै एउटा कथा लेखौं न त भनेर लेखेजस्तो स्वरूपमा छ झपटबहादुर।

    कथा ‘पर्दाभित्रको मान्छे’ले समाजको एउटा असल प्रेमीलाई देखाएको छ। ‘अपांग’ नारी र उनका ‘सपांग’ श्रीमान्‌बीचको सम्बन्ध नै यस कथाको कथानक हो। तर, मोचनघाट कथामा उच्च पुरुश्वार्थी सोच राख्ने लेखकले यो कथा पनि पुरुष अहमलाई उच्च देखाउनका लागि लेखेका त होइनन्? शंका उब्जिन्छ। ‘दृष्टिभ्रम’ कथा स्वयं कथाकारलाई ‘खत्रा’ लागेको हुनुपर्छ। तर, यो कथा त्यत्ति खत्रा कथा चाहिँ होइन। नेपाली साहित्य बजारमा ‘म्याजिकल रियालिजम’मा कथा, उपन्यास आइरहेको बेला  नेपाली लेखनको क्षेत्रमा यो कथाको प्रभाव कमजोर रहला भन्ने मेरो अनुमान छ। रहरले ‘दृष्टिभ्रम’ लेखेका कथाकारलाई बधाईबाहेक अरू केही भन्न सकिएन। कारण एउटा रहर जो पूरा भएको छ।

    कथामाथि मेरो निजी विचार यत्ति नै। एक सामान्य पाठकका रूपमा म कुनै पनि पुस्तक विशेषगरी फरक रहनसहनबारे बुझ्नका लागि पढ्छु। त्यो ठाउँको आञ्चलिकताबारे मेरो चासो र जिज्ञासा रहन्छ। गोहो पढ्नुअघि लागेको थियो यसले पनि त्यस्तै कुरा उठाएको होस्। तर, यसले पूर्वी नेपालको संस्कृतिका  केही अंश मात्रै अंगाल्न सकेको छ। बरु सुदूरपश्चिमतिर नभएका/नसुनिएका उखानहरू पढ्न पाउँदा भने खुसी लाग्यो। त्यसका लागि यहाँ सन्दर्भ राख्नुको साटो किताब पढ्दै अधिक मज्जा आउँछ। अर्थ खुल्छ।

    अब जाऊँ पछि भनौँला भनेर साँचेर राखेको कथाको समर्पणतिर। लेखिएको छ- समाज हिँड्ने गोहो बनाउन जानी-नजानी त्याग गर्ने र बलिदान हुनेप्रति समर्पित।

    कथासंग्रह पढिसकेपछि यो पाटो अमिल्दो लाग्छ। कथाभित्र चाहिँ नारी स्वतन्त्रता र उनीहरुको योगदानमाथि प्रश्न उठाउने अनि समर्पण चाहिँ उनीहरूलाई नै भन्ने? कि लाग्दैन आज नारीहरूले पनि समाजका लागि गोहो (पदचिन्ह) बनाएका थिए, बनाइरहेका छन् र बनाइरहनेछन् भनेर?

    त्यस्तै, सशस्त्र संघर्ष र आन्दोलनका लडाकुलाई दया दृष्टिले हेर्ने, परिवर्तनलाई अन्देखा गर्ने अनि समर्पित भनेर उनैलाई भन्ने। यो समर्पणको परिपाटी यसकारण पनि अमिल्दो लागेको हो। त्यसमाथि केही कथाहरू नै यही धरातलमा लेखिएकोले पनि लेखकको दृष्टि नपुगेकै लाग्यो।

    गोहो कथासंग्रहमा बिम्बको ‘अ-सुन्दर’ प्रयोग गरिएको छ। जस्तो कि शीर्ष कथा ‘गोहो’मा नै बादलको वर्णन गर्ने क्रममा भनिएको छ- ‘कहिले घामजस्तो कहिले अक्टोपसजस्तो।’ कथाको नाम चाहिँ गोहो अनि बिम्ब चाहिँ अक्टोपस? कि गोहो समुद्री किनारको हो? अनि घामको वर्णन गर्ने क्रममा डुब्‍न लागेको घामलाई ‘डरपोक’ भनिएको छ। कमजोर घाम, बूढो घाम भनेसम्म त ठीकै थियो। तर, डरपोक घाम अलि उपयुक्त लागेन। यस्ता अरू पनि ‘अ-सुन्दर’ बिम्ब भेट्टाइन्छ पढ्दै जाँदा।

    विकासक्रमसँगै आजभोलि गाउँघरमा पनि गोहोको यथार्थ मेटिने क्रममा छ। कथाकार पोखरेलले भने गोहो बनाए। गोहो पिच सडकझैं चिल्लो, चिप्लो हुन्न भन्ने सत्यलाई अँगाल्दै मैले पनि ‘गोहो’ कथासंग्रहलाई गोहोकै रूपमा लिएँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]