यस्तो छ प्रधानमन्त्री ओलीको दुईदिने कार्यसूची

|

बुटवल : २५६३ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनी भ्रमण वर्षको घोषणा हुँदै छ। यसकाे तयारी अन्तिम चरणमा पुगेको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनाका रूपमा मनाउने गरिन्छ।

बुद्धपूर्णिमाकै दिनलाई लुम्बिनी दिवसको रूपमा पनि मनाइँदै आएको छ। सोही अवसरमा प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको एकवर्षे कार्यक्रमको घोषणा गर्ने छ। उक्त भ्रमण वर्षको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। जेठ ४ गते परेको बुद्ध पूर्णिमा र सोही अवसरमा घोषणा हुने भ्रमण वर्षलाई भव्य बनाउन प्रदेश सरकार र लुम्बिनी विकास कोषसहितका यहाँका निजी क्षेत्रहरूले विशेष सक्रियताका काम गरिरहेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ। यसका लागि प्रदेश सरकार र कोषले विभिन्न समिति, उपसमितिहरू गठन गरेर काम भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडियामा पुगेर विश्व समुदायलाई लुम्बिनी भ्रमणको निम्तो दिइसकेका छन्। प्रदेश सरकारले लुम्बिनीलाई केन्द्रमा राखेर बुद्धसँग सम्बन्धित प्रदेशका सबै क्षेत्रलाई एउटै सर्किटमा जोड्दै पर्यटन स्थापनाको तयारी गरिरहेको छ। 

लुम्बिनीमा विशेष सरसफाइ र चहलपहल 

बुद्ध जयन्तीको तयारीका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा ५ ६३ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ भने विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ। प्रदेश सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा मूल समिति, मन्त्री गिरीको संयोजकत्वमा कार्यकारी समिति र विभिन्न उपसमितिहरू गठन गर्दै भ्रमण वर्षको तयारी गरिरहेको प्रचार–प्रसार उपसमितिका संयोजक भरत केसीले जानकारी दिए। 

बुद्ध पूर्णिमा नजिकिँदै गर्दा लुम्बिनीमा विशेष चहलपहल भइरहेको छ भने निरन्तर सरसफाइसमेत भइरहेको छ। त्यहाँ विकास कोषका कर्मचारी तथा सुरक्षा निकाय, निजी क्षेत्रका विभिन्न संघ संस्थाले सरसफाइका काम गरिरहेका छन्।

प्रदेश सरकारले सरसफाइ तथा साैन्दर्यकरण उपसमिति नै गठन गरेर लुम्बिनीसहित बुद्धसँग सम्बन्धित क्षेत्रहरूको सरसफाई गरिरहेको मन्त्रालयका सचिव धनञ्जय पौडेलले जानकारी दिए। २५६३ औं बुद्ध जयन्ती, लुम्बिनी दिवस एवं लुम्बिनी भ्रमण वर्ष २०७६ को पूर्व सन्ध्यामा सरसफाई अभियान शुभारम्भ गरिएको अहिले लुम्विनीमा रहेर सरसफाई कार्यक्रम संचालन गरिरहेको लुम्विनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाइले बताए।

लुम्बिनीबाट शुभारम्भ गरिएको कार्यक्रममा क्लबले मर्चवार, भैरहवा, धकधईलगायतका स्थानहरूमा गर्नेछ। प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी वर्ष सफल पार्न लुम्बिनीबाट सुरुवात गरिएको हो। लुम्बिनीस्थित महिलावार चोकबाट सुरु भएको सरसफाइ कार्यक्रम मायादेवी मन्दिर पुगेर समापन भएको थियो। लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्ı मुनी शाक्यले लुम्बिनी भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताए।

लुम्बिनी भ्रमण वर्ष २०७६ का सरसफाई तथा सौन्दर्यकरण उपसमितिका संयोजक सागर अधिकारीले लुम्बिनी प्रेस क्लबले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए। भ्रमण वर्षलाई सबैले आफ्नै क्षेत्रबाट सहयोग हुनु पर्नेमा उनले जोड दिए। बुद्ध पूर्णिमा मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न मुलुकका बौद्धमार्गीहरू, भिक्षुभिक्षुणीलगायत लुम्बिनी आउने कार्यक्रम छ। 

यस्तो छ प्रधानमन्त्री ओलीको दुईदिने कार्यसूची  

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री ओली बुद्धपूर्णिमा मनाउन अघिल्लो दिन नै बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्ने छन्। जेठ ३ गते शुक्रबार दिउँसो लुम्बिनी आउने प्रधानमन्त्री ओली कपिलवस्तुस्थित शुद्धोधनको दरबार रहेको तिलौराकोट र अन्य बुद्धस्थलको अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

कोषका उपाध्यक्ष भिक्षु मेत्तेयका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बेलुका मायादेवी मन्दिरअघिल्तिर बसेर बुद्ध पूर्णिमा प्रार्थना र ध्यान गर्नेछन्। त्यसपछि उनले अर्कोदिन बिहान बुद्ध पूजा र शान्ति र्‍यालीमा सहभागी हुनेछन्। भिक्षुलाई चिवर दान दिने कार्यक्रम पनि रहेको छ। यस्तै सोही दिन लुम्बिनीमा दुई हजार ६४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात पनि प्रधानमन्त्रीले गर्नेछन्।

लुम्बिनीमै ५५ फिटको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ। बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्ध पूर्णिमा २५६३ औँ वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्षअघि भएकोले बुद्ध जन्मिएको २६४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका निमित्त सदस्य इन्जिनियर सचिव सरोज भट्टराईले बताए। त्यसपछि बिहान ११ बजे मूल समारोह सुरु हुनेछ।

बुद्ध पूर्णिमाको अवसर पारेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १०० जना विद्यार्थीलाई ५/५ हजारका दरले छात्रवृत्ति वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.