|

सोलुखुम्बु : गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा नौ महिनाअघि बेपत्ता भएका एक विद्यार्थीको शब भेटिएको छ। पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये सुनिल बराइलीको शव बिहीबार बिहान ११:३० बजे भेटिएको गोक्योबाट पत्रकार विक्रम श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बराइलीको शव करिब ३५ फिट गहिराइबाट निकालिएको हो। जसको लागि विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबारबाट खोजी कार्य सुरु गरेको थियो। 

खोजकर्ताले परिचालन गरेको रोबर्टले बिहीबार बिहान मात्र शब पहिचान गरी बाहिर निकाल्न सफल भएको हो। गत साउन १८ गते शैक्षिक भ्रमणमा गएका बेला पौडी खेल्ने क्रमममा बराइली साथीको उद्धार गर्न जादा आफैँ डुबेर बेपत्ता भएका थिए। उनी जीउमा लगाएको कपडासहित डुबेका थिए । सोही आधारमा उनको पहिचान गरिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

बेपत्ता मध्ये १६ वर्षीय पेम्बा नुरु शेर्पाको शव गत साउनको २३ गते बिहान ११:२५ बजे शसस्त्र प्रहरीको गोताखोर टोलिले भेटेको थियो। अब १७ वर्षीय पेम्बा दोर्जी शेर्पाको शब खोज्ने कार्य जारी रहेको खोजकर्ताले बताएका छन्।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले बुधबार दिनैभर रोबर्ट तथा अन्य उपकरण प्रयोग गरी शबको खोजी गरेको थियो।

चिसो मौसमको कुनै प्रवाह नगरि टोलिको निरन्तर प्रयासपछि उनीहरु डुबेकै ठाउँको आसपासमा शब भेटिएको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिए। गत असोज ताका खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शब खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेका थिए।  

प्रहरी नहुँदा अन्यौल

पौडी खेल्ने क्रममा बेपत्ता भएका बराइलीको शव भेटिए पनि प्रहरीको अनुपस्थितिमा के गर्ने भन्ने अन्यौल भएको छ। बेपत्ताको पुनः खोजी गर्न लागेको विषयमा इलाका प्रहरी कार्यालय नाम्चे र प्रहरी चौकी खुम्जुङलाई पहिले नै जानकारी गराए पनि घटनास्थलमा प्रहरी नआएपछि अन्यौल थपिएको टोलीलाई उद्धृत गर्दै गोक्योबाट पत्रकार विक्रम श्रेष्ठले जानकारी दिए। 

खोजकर्ताले तालबाट शव निकालेको जानकारी पाएको भन्दै इलाका प्रहरी चौकी नाम्चेबाट प्रहरी टोलि गोक्यो ताल प्रस्थान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।  हेलिकोप्टरको व्यवस्था नहुने हो भने दुई दिनको पैदल यात्रापछि मात्रै प्रहरी पुग्नसक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.