जनप्रतिनिधि भन्छन्- भवन बनाउन पैसा छैन

|

उदयपुरः स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधि भाडामै कार्यालय खोलेर बसेका छन्। विभिन्न समस्याको घेराभित्रबाट स्थानीय तह सञ्चालन गरिरहेका छन्। यस्तै सुगम जिल्लामै पर्ने उदयपुरको ताप्ली गाउँपालिका पनि विद्यालको छात्राबास भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ।

उदयपुरको ताप्ली गाउँपालिकाको प्रमुख प्रशासानिक कार्यालय सञ्चालन गर्ने आफ्नै भवन नहुँदा विभिन्न समस्याबीच कार्यालय सञ्चालन गर्न बाध्य हुनु परेको प्रमुख प्रशासकीय अधिकृत लीलाराज श्रेष्ठले बताए। ‘भवन नहुँदा दुखले गाउँपालिकाको काम कारवाही अगाडि बढाउन बाध्य छौं’ उनले भने, ‘एउटै कोठामा धेरै शाखा कार्यालय राखेर सञ्चालन गरिरहेका छौं।’

लेखा र प्रमुख प्रशासकीय अधिकृतको कोठा एउटै छ। अन्य शाखाको कोठा पनि एउटै भएकाले काम गर्न र अभिलेख राख्न समस्या भएको श्रेष्ठको भनाइ छ। सोही ठाउँकै महेन्द्ररत्न उच्च माध्यमिक विद्यालयको भवन गाउँपालिकाकाले भाडामा लिएको छ। 

भवन निर्माणमा पैसा अभाव : जनप्रतिनिधि

गाउँपालिकाको नयाँ बन्ने भवनको केही अदिन अघि मात्र शिलान्यास गरेको छ। विद्यालयले भाडामा दिएको भवनबाट काम भइरहेको छ। दुई वर्ष अघि बनाउनु पर्ने भवन दुई वर्षपछि निर्माण सुरु गरिएको र भवन निर्माणमा प्रयाप्त बजेट नभएको ताप्ली गाउँपालिकाकी उपाअध्यक्ष कमलमाया राईको गुनासो छ।

‘हामीले गापाको नयाँ भवनको निर्माण थालेका छौं,’ उनले भनिन, ‘गाउँपालिाकाको पैसाले मात्र सम्भव छैन। प्रदेश र संघीय सरकारको सहयोग भइदिए झनै राम्रो हुने थियो।’ कुल ६ करोड ४८ लाखको लागतमा बन्न लागेको भवन निर्माण काम यस आर्थिक वर्ष ८४ लाख ८ हजार १८१ रुपैयाँको काम गर्ने गरी ठेक्का लगाइएको छ।

सगरमाथा एण्ड प्रिन्स जेभी कन्टक्सन प्रालि, कटारीले प्यागोडा शैलीमा ४४ वटा कोठा, इजालास, साँस्कृतिक कार्यक्रम कक्ष तथा सम्पूर्ण विषयगत शाखाहरू एकै ठाउँमा रहने भवन बनाउने ठेक्का लिएको छ। अहिलेकै जनप्रतिनिधिले गाउँपालिकाको भवन निर्मामण गर्ने गरी लागि परेको गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाको भनाइ छ।

‘गाउँपालिकाको लागि स्थानीयले १५ रोपनी जग्गा समेत निशुल्क उपलब्ध गराएका छन', उनले भने, ‘सोही जग्गामा निर्माण थालिएको भवन कहिले बन्छ भनेर स्थानीय पखाइमा छन। आउने आर्थिक वर्ष गाउँपालिकाकाले बजेट बढाउने छ।’ भवन सम्पन्न गरेर विद्यालयबाट गाउँपालिकाका कार्यालय सार्न जनप्रतिनिधिले लागि परेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.