|

  • रमेश रावल-

कालीकोट : ८ वर्षको उमेरमा बाबुको मृत्यु भएपछि परिवारको आर्थिक भार कम गर्न भारतमा मजदुरी गर्न गएका कालीकोटका एक युवकले गरेको समाजसेवा धेरैका लागि प्रेरणादायी बनेको छ। मजदुरी गर्ने क्रममा भारतमा राम्रो आम्दानी गरेका र कामकै सिलसिलामा अमेरिका पुगेका कालीकोट ओदानकुका ३० वर्षिय कर्णबहादुर सिंहले जिल्लामा विपन्न र असहायको उपचारमा लाखौं रकम खर्च गरेका छन्।

बाल्यकालमै बाबु बितेपछि आमा र २ दिदीलाई घरायसी काममा सघाउनुपर्ने जिम्मेवारी उनको काँधमा आयो। मजदुरी गर्नका लागि उनी भारत गएका थिए। १२ वर्षको उमेरमा उनी भारत हिडें।

उनी भारतमा मात्र अडिएनन्, विश्‍वका धेरै देश डुले। तर निमोनिया भएर बाबुको मृत्यु भएको बिर्सन सकेनन्। विगतले पछ्याइरह्‍यो। 'बाबु बितेको घटना बिर्सन सकिनँ,' कर्णबहादुर ती दिनहरु सम्झिन्छन्, 'स्वास्थ्य क्षेत्रमा गरीब र विपन्‍न परिवारको पहुँच पुर्‍याउन केही न केही गर्ने  धोको थियो। अझै धेरै गर्न बाँकी छ।'

सिंहले अहिले विपन्न, दलित, गरिब र अपाङ्गलाई निशुल्क उपचार सेवा प्रदान गर्छन्। 'साधारण बिराम थियो। तर उपचार नपाएर बुबा बित्‍नुभयो,' सिंहले फेरि विगत कोट्टयाए,'त्यस दिनदेखि गाउँमा रहेका साधारण मानिसको उपचार गर्ने इच्छा जाग्यो।'

भारतमा उनले पर्यटकहरु बस्‍ने रिसोर्टमा काम पाए। अमेरिकी पर्यटकहरुसँग उनको संगत बढ्यो। '‘पर्यटकसँगको संगतले मलाई अमेरिकासम्म पुर्‍यायो,' उनले सम्झिए, 'अमेरिका पुगेपनि त्यहाँ बस्न मन लागेन। बाबुको मृत्यु भएको घटनाले सताइरह्‍यो। गाउँको स्वास्थ्य र शिक्षा क्षेत्रमा केही गर्छु भन्‍ने अठोट लिएर फर्किएँ।'

अमेरिकामा मनग्ये कमाइ हुने काम छाडेर उनी नेपाल फर्किए। २०७० सालमा 'हिमालयन सेवा' समाज' नामक संस्था स्थापना गरे। अहिले सामाजिक काममा सक्रिय छन्। यस संस्थामार्फत जिल्लाका २५ हजार मानिसको निःशुल्क औषधी उपचारमा संलग्न छन्। उनले अपाङ्गता भएका १ सय ६१ जनाको उपचार गरेका छन्। उनीहरुलाई निशुल्क  औषधी तथा कृत्रिम अंगहरु उपलब्ध गराएका छन्।

इमानदारीताले सफलता हात लाग्यो

भारतमा १ वर्ष रिसोर्टमा काम गरेपछि कर्णबहादुर सिंहले गढवाल हिमालयन नामक संस्थामा काम थाले। यस समाजिक संस्थामा उनले १३ वर्षसम्म काम गरे। '१३ वर्ष संस्थामा काम गर्दा त्यो संस्था मनेजरसम्म बनेँ,' सिंहले भने, 'मेनेजर बनेपनि मेरो गाउँ र गाउँका गरिब दुःखीलाई सम्झिरहेँ ।'

रिसोर्टमा काम गर्दा चिनेका अमेरिकी पर्यटकसँग उनी निरन्तर सम्पर्कमा थिए। उनीहरुले सिंहलाई गढवाल हिमालयन संस्थामा काम गर्दा निरन्तर सहयोग गरे। गढवालको मेनेजर बनेर नेपाल आउँदा उनले  असाहय, टुहुरा बालबालिका झोला र कापी किताब बाँड्ने गरेका थिए।

सिंहको कार्यालय रहेको भवन

यही संस्थामा काम गर्दा-गर्दै उनी अमेरिका पुगे। ७ महिना अमेरिका बसे। अमेरिका गएका धेरैले झोलाभरी पैसा लिएर आउँछन्। उनले पनि झोला भरेरै आए। तर झोलाभित्र पैसा कम, सपना धेरै थियो। उनले ६ सय बालबालिकाका लागि ज्याकेट, झोला र पन्जा ल्याए। सामाजिक संस्था खोलेर गाउँमै समाजसेवा गर्न थाले।

अहिले ओदानकुका छिमेकी गाबिस पाखा, चिलखाया, गेलालगायतका वृद्ध, विधवा, टुहुरा बालबालिकाको निशुल्क औषधी उपचार गर्छन्। 'सेवा गर्न पाउनु गर्व हो,' सिंहले भने, 'अब कुनै दाता भेटिए जिल्ला भरी काम गर्ने इच्छा थियो। सपना अझै पुरा भएको छैन।'

हिमालयन सेवा समाजले जिल्लाको स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय कालीकोटलाई यस संस्थाले १ करोड बराबरको औषधी र स्वास्थ्य सम्बन्धी उपकरण उपलब्ध गराएको  जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौशल अलीले बताए। 'सिंहले स्वास्थ्य क्षेत्रमा जिल्लामा ठूलो योगदान पुर्‍याएका छन्,' उनले भने, 'उनले जिल्लाको स्वास्थ्य क्षेत्रमा प्रशंशनीय काम गरेका छन्।'

सिंहले जिल्लाका गरिब विद्यार्थीका लागि निशुल्क अंग्रेजी भाषा कक्षा पढाउने गरेका छन्। गाउँमा नै स्वास्थ्य संस्था खोलेर सिंहले ४ जना मेडिकल स्टाफ  राखेर काम गरिहेको रहेको नेकपा एमाले जिल्ला समितिका सचिव चित्रसिंह गाउँले बताउँछन्। 'निकै दुःख पाएका सिंहले अहिले गाउँमा स्वास्थ्य क्षेत्रमा राम्रो सेवा दिइरहेका छन्,' उनले भने,'सिटामोल समेत नपाइने ठाउँमा गाउँमा निशुल्क औषधी उपचारको समेत ब्यवस्था गरेका छन्।'

सिंहले सञ्चालनमा ल्याएको स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर, ल्याबको समेत ब्यवस्था छ। 'समाजसेवा गर्ने मानिसको भाव यस्तो हुदोँरहेछ। न त्यसलाई उमेरले छेक्दो रहेछ। न त्यसलाई व्यवधानले नै परास्त गर्न सक्ने रहेछ,' कालीकोट जिल्लाका ३० वर्षिय युवा कर्णबहादुर सिंहको समाजिक यात्रालाई नजिकबाट नियालेकाहरु यसै भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.