|

हेटौंडाः प्रदेश सभा ३ मा स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिमा बिहीबारदेखि छलफल भएको छ। नेकपा प्रदेश ३ संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले छलफलका लागि प्रस्ताव गरेपछि संसदमा छलफल सुरु भएको हो।

छलफलमा स्थायी राजधानी सँगै नामाकरणको विषय पनि उठेको छ। छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सांसद प्रभात तामाङले स्थायी राजधानीको विषय सँगै राजधानीको विषय पनि संसदमा आउनुपर्ने माग गरेका छन्। उनले राजधानीको विषयमा मतदान गर्न जाँदा पक्ष र विपक्ष सँगै तटस्थको पनि भोटिङको व्यवस्था गर्न माग गरेका छन्। यस्तै विवेकशील नेपाली दलका प्रदेश सभा सदस्इ रमेश पौड्यालले कार्यविधि नै अमुर्त र अस्पष्ट रहेको आरोप लगाएका छन्।

कार्यविधिमा राजधानीको विषय टुंगिने मिति र तरिका नभएको भन्दै संसदमा रोष व्यक्त गरेका हुन्। यस्तै नेकपाका सांसद प्रेमबहादुर पुलामीले प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त भन्दै १३ जिल्ला मध्ये ७ जिल्ला मकवानपुरसँग जोडिएको बताएका थिए। उनले पनि राजधानी सँगै नामाकरणको विषय पनि संसदमा प्रवेश गराउनु पर्ने बताएका हुन्।

नेकपाकै प्रदेशसभा सदस्य ओम ग्लानले पनि स्थायी राजधानी संगै नामाकरणको पनि माग गरे राजधानीको विषय राजनीतिक सहमतीमा टुंग्याइने भन्दै यसलाई विवादको विषय बनाउन नहुने बताएका हुन। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य गीता वाग्लेले डोरमणि पौडेलले व्यक्तिलाई देखाएर सरकार फेल गराउन नेकपाकै सांसदहरू लागिपरेको आरोप लगाएका छन्। उनले हेटौंडाबाट राजधानी सार्न नेकपाकै सांसदले चलखेल गराएको भन्दै हेटौंडाबाट राजधानी सारे देशभरि आगो बल्ने बताइन।

चितवनकी सांसद वाग्लेले हेटौंडा राजधानस् बनाउन सबै एकजुट हुनुपर्ने भन्दै बरु त्यसको लागि संरचनामा सुविधाको ध्यान दिनु पर्ने बताएकी हुन्। राजधानीको विषयमा बोल्दै विवेकशील नेपाली दलका प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले प्रदेशको राजधानी वैज्ञानिक र व्यवहारिक रुपमा तोक्नु पर्ने बताएका हुन्।  

प्रि–बजेटमा छलफल

बिहीबार नै बसेका प्रदेश सभाको वैठकमा प्रि बजेट अर्थात विनियोजन विधेयक,२०७६ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको छ। छलफलमा ८ जना प्रदेश सभा सदस्यहरूले सिद्धान्त र प्राथमिकता बारेमा बोलेका थिए। प्रदेश सभा सदस्यहरू ओम ग्लान,कञ्चन खनाल,कल्पना नेपाली, कुसुमकुमार कार्की, कृष्णप्रसाद भुर्तेल, केशवराज पाण्डे, गणेशप्रसाद दुलाल र गीता वाग्लेले बोलेका थिए। यस अघि सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराज जम्मकट्टेलले महालेखा परीक्षकको प्रतिवेदन पेश गरेका थिए।

यस्तै आजै भएको प्रदेश सभाको वैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पेश गरेका 'प्रदेश बीउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' प्रतिवेदनसहित  पारित भएको छ। यस्तै मन्त्री लामाले नै पेश गरेका 'प्रादेशिक कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक' पनि पारित भएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.