अर्थ

दुई अर्बको बजेट ल्याउने तयारीमा हेटौंडा उपमहानगरपालिका
SHARES

जेठ २, २०७६

    हेटौंडाः हेटौंडा उपमहानगरपालिका आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम एवं बजेट बनाउनमा जुटेको छ। हेटौंडा उपमहानगरपालिकाले २ अर्ब रुपैयाँ बरारबको बजेट निर्माण गर्न लागेको होे।

    संघीय सरकारको तर्फबाट आउने बजेटको सिलिङ् प्राप्त भएपछि उपमहानगरपालिकामा बजेट बनाउन जुटेको हो। संघीय सरकारबाट अहिलेसम्म उपमहानगरपालिकामा वित्तीय समानीकरणतर्फ ३३ करोड ९५ लाख र राजस्व बाँडफाँडबाट २२ करोड २९ लाख गरी हालसम्म ५६ करोड २४ लाख बराबरको बजेट सिलिङ प्राप्त भएको छ।

    चालु आर्थिक वर्षमा उपमहानगरपालिकालाई प्राप्त भएको बजेटमा ६ करोड रुपैयाँ थप गरेर संघीय सरकारले बजेटको सिलिङ् पठाएको उपप्रमुख मीनाकुमारी लामाले बताइन्। संघ र प्रदेशबाट आउने बजेट तथा आन्तरिक आय समेतलाई समेटेर बजेट तयार हुने उनले बताएका छन्। आगामी आर्थिक वर्षमा कतिको बजेट ल्याउने, तथा बजेटको व्यवस्थापन कसरी गर्ने लगायतका विषयमा छलफलका लागि उपमहानगरपालिकाको राजस्व परामर्श समितिको बैठक दैनिकजसो चलिरहेको उनले बताए। चालु आर्थिक वर्षको भन्दा बजेट बढेर आउने समेत उनले जानकारी दिए।

    उपमहानगरपालिकाको आन्तरिक आयमा समेत आगामी आर्थिक वर्षमा बुद्धि हुने देखिएको छ। चालु आर्थिक वर्षमा १८ करोड अनुमान गरेको उपमहानगर पालिकामा ३० देखि ३२ करोड संकलन हुने भएपछि बजेटको आकार बढने भएको छ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा ३२ करोड बराबरकै आन्तरिक आय संकलन हुने अनुमान गरेको स्रोतले बताएको छ।

    चालु आर्थिक वर्षमा एक अर्ब ६३ करोड बराबरको बजेट तयार पारेको उपमहानगरपालिकाको आन्तरिक आय बढ्ने भएपछि आगामी आर्थिक वर्षका लागि करिब दुई अर्बको बजेट ल्याउने तयारी गरेको छ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विषयगत समेत गरेर करिब दुई अर्बको बजेट ल्याउने तयारी गरेको स्रोतले जानकारी दिएको छ।

    दुई वर्षमा उपमहानगरमा १४ वटा ऐन

    उपमहानगरपालिकाले हालसम्म १४ वटा ऐन बनाएको छ। उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधि आए पछिको २ वर्षमा १४ वटा ऐन, २ वटा नियमावली, १० वटा कार्यविधि, ५ वटा निर्देशिका र ३ वटा मार्गदर्शन, अन्य नीति तथा कानुन तयार पारेको जनाएको छ। उपमहानगरपालिकाले १३ वटा ऐन र एउटा विशेष ऐन गरी हालसम्म १४ वटा ऐन तयार पारेर लागू गरेको जनाएको छ।

    निर्वाचित जनप्रतिनिधि आएपछि २०७४ सालमा ७ वटा र २०७५ सालमा एउटा विशेषसहित ७ वटा ऐन तयार पारेर लागू भएको जानकारी दिइएको छ। हालसम्म आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, सहकारी ऐन २०७४, शिक्षा ऐन २०७४, न्यायिक समिति कार्यविधि ऐन २०७४, कृषि व्यवसाय प्रबर्द्धन ऐन २०७४ र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने ऐन २०७४ पहिलो वर्षमा तयार पारेको हो भने स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७५, कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५, प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५, आर्थिक ऐन २०७५, विनियोजना ऐन २०७५ र हेटौंडा उपमहानगरपालिकाको कर्मचारी वृत्तिविकास तथा व्यवस्थापनसम्बन्धी विशेष ऐन२०७५ गरी १४ वटा ऐन तयार पारेर लागू गरेको उपमहानगरपालिकाले जानकारी दिएको छ।

    उपमहानगरपालिकाले हालसम्म कार्यविभाजन नियमावली २०७४ र कार्यसम्पादन नियमावली २०७४ गरी २ वटा नियमावली तयार पारेर लागू गरेको छ। नगरसभा सञ्चालन कार्यविधि २०७४, प्रमाणीकरण कार्यविधि २०७४, बैठक सञ्चालन कार्यविधि २०७४, करारमा प्रविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि २०७४, 'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी २०७५, हेटौंडा उपमहानगरपालिकाको आन्तरिक राजस्व (नदीजन्य पदार्थ) संकलन तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०७५, राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७५, उपभोक्ता समिति गठन, सञ्चालनसम्बन्धी कार्यविधि २०७५, हेटौंडा उपमहानगरपालिकाको आयोजना कार्यान्वयन, अनुगमन जा“चपास तथा फरफारकसम्बन्धी कार्यविधि २०७५ र अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ गरी २ वर्षमा १० वटा कार्यविधि तयार पारेर लागू गरेको जनाएको छ।

    उपमहानगरपालिकाले हालसम्म सार्वजनिक-निजी साझेदारी योजना सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४, हेटौंडा उपमहानगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५, हेटौंडा उपमहानगरपालिकाको घर नक्सा निर्माण (डिजाइन) सहायता निर्देशिका २०७५, खाद्य प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७५ र कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका २०७५ तयार पारेर लागू गरेको जानकारी दिएको छ।

    यसबाहेक उपमहानगरपालिकाले विभिन्न मार्गदर्शन तथा अन्य नीति तथा कानुनहरू तयार पारेर लागू गरेको जनाइएको छ। उपमहानगरपालिकाले अन्य कानुनमा लैंगिकमैत्री समुदायमा आधारित घटना व्यवस्थापन तथा प्रेषण प्रणाली मार्गदर्शन २०७५, जिल्ला सुरक्षित अल्पकालीन सेवा केन्द्रको कार्य क्षेत्रगत शर्त २०७५ र धर्मकाँटा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अन्तरिम मार्गदर्शन २०७५ तयार पारेर लागू गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]