|

डोटी : जिल्ला अस्पताल डोटीमा प्रसूति हुने महिलाले यातायात खर्च पाएका छैनन्। आमा सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थामा सुत्केरी भएपछि प्रोत्साहन गर्ने दुई हजार र चार पटक नियमित गर्भजाँच गरेपछि प्रोत्साहनस्वरुप दिइने आठसय गरी दुई हजार आठ सय रुपैयाँ नपाएको महिलाले गुनासो गरेका छन।

जिल्ला अस्पतालमा आवश्यकता भन्दा पनि करम आउँदा अभाव भएको जिल्ला अस्पताल डोटीका निमित्त सुपरिटेन्डेन भुषण मिश्रले बताए। मिश्रले भने,‘ यो शीर्षकमा दुई लाख रुपैयाँ आएको थियो। त्यो सकियो त्यसैले अहिले उहाँहरूले पाउने रकम अहिले दिन बन्द गरिएको छ।’ दिपायल सिलगढी नगरपालिकामार्फत आमा सुरक्षा कार्यक्रमअन्तर्गत दुई लाख रुपैयाँ प्राप्त भएपनि प्रसूति हुनेको चापका कारण केही महिनामै रकम सकिएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ। 

नगरपालिबाट प्राप्त रकम बाहेक ०७५ साउनदेखि कुनै पनि ठाउँबाट रकम प्राप्त नभएको सुपरिटेन्डेन मिश्रले बताए। मिश्रले भने, ‘यहाँ जिल्लाभरका प्रसूति हुन आउछन। त्यसैले पनि चाँडै सकियो।’ साउनदेखि माघ १६ गतेसम्म जिल्ला अस्पताल डोटीले शोधभर्ना हुने गरी  आन्तरिक कोषबाट ७ लाख ८२ हजार रुपैयाँ खर्च गरेको भए पनि कताबाट शोधभर्ना गर्ने कुनै टुंगो नलागेको जिल्ला अस्पताल डोटीका नासु लोकेन्द्र बिष्टले बताए।

जिल्ला अस्पतालबाट माघ महिनासम्म १८८ सामान्य, २२ अप्रेसन र १५ जटिल प्रकारका प्रसूति सम्पन्न भएको थियो। माघ १६ गतेदेखि प्रसूति प्रश्चात प्राप्त हुने रकम र न्यानो झोला वितरण पनि बन्द भएको अस्पताल प्रशासनले बताएको छ। नायव सुब्बा बिष्टले भने, ‘न्यानो झोलाका लागि बजेट आएको छ। खरिद पक्रिया अन्तिम चरण रहेकाले केही दिनमै वितरण सुरु हुन्छ।’ माघदेखि बैशाखसम्म ११२ जना सुत्केरीले प्रसूति वापत प्राप्त गर्नु पर्ने ३ लाख १३ हजार ६०० रकम प्रदान गर्न नसकिएको सुपरिटेन्डेन मिश्रले बताए। मिश्रले भने, ‘केही महिनासम्म त आन्तरिक कोषबाट समेत काम गर्‍याैं। तर अहिले थेग्न नसकेपछि बन्द गरिएको छ।’

पारिश्रमिक नपाउँदा खिन्नता

प्रसूति गराए वापत प्राप्त गर्नु पर्ने पारिश्रमिक नपाउँदा महिला स्वास्थ्यकर्मीले खिन्नता ब्यक्त गरेकी छन। प्रसूति कक्ष इञ्चार्ज अम्बिका थापाले भनिन् ‘हामीले पाउने सेवा सुविधा नपाएमा कति दिनसम्म सेवा गर्न सक्नु पाउने कुराको कुनै ठेगान छैन।’ प्रसूति गराए वापत गत श्रावणदेखि कुनै रकम पाउन नसकेको थापाले बताइन। उनले थपिन्, ‘रात दिन नभनेर डिउटी गरेका छौँ। तर रकम पाउन सकेका छैनौँ।’

पाउने सेवा सुविधा नपाएमा काम गर्ने ऊर्जा पनि घट्दै जाने अर्की एएनएम निर्मला श्रेष्ठले बताइन। उनले भनिन्, ‘काम गरेपछि हरेकले अपेक्षा गर्छ। तर हामी एक आर्थिक वर्ष सकिनै लाग्दा केही पाउने टुंगाे छैन।’

आमा सुरक्षा कार्यक्रममा ७ करोड अभाव 

आमा सुरक्षा कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशमा ७ करोड रकम अभाब रहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गोगन हमालले बताए। महालले भने, ‘यो केन्द्रीय कार्यक्रम हो। यो समस्या जिल्ला अस्पताल मात्र होइन। धेरै ठाउँमा समस्या छ। यो प्रदेशभरिमा ७ करोड रकमको आवश्यक छ।’

आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक पर्ने रकम केन्द्र सरकारबाट माग गरेको सचिव हमालले बताए। हमालले भने,‘केन्द्र सरकारबाट प्राप्त भएपछि हामी अस्पताललाई उपलब्ध गराउँछौँ। अस्पतालबाट उक्त रकम प्राप्त हुन्छ।’  यस आर्थिक वर्षभित्र उक्त रकम अस्पतालमा आउने पनि हमालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.