|
फाइल फोटो

काठमाडौं : तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको छ।

ठीक एक वर्ष अगाडि २०७५ जेठ ३ गते दुई पार्टी एक भएर नेकपा बनेको थियो। त्यसयता पटकपटक एकताका काम सक्ने भनेर समय किटान गरे पनि एकताले मूर्त रूप लिन सकेको थिएन। नेकपाले हालैमात्र जिल्ला तहको एकता सकेको थियो। त्यसपछि पोलिटब्यूरो गठन, जनवर्गीय संगठनको एकता बाँकी रहेको थियो।

नेकपाको बिहीबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको एकता टुंगो लगाएको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आइतबारसम्म पोलिटब्यूरो र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको घोषणा हुने जानकारी दिएका छन्।

पोलिटब्यूरो सदस्यहरूको नामावली टुंगो लागे पनि घोषणा गर्न भने आइतबारसम्म कुर्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइ थियो। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिनभर बसेको सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्यूरोको टुंगो लगाएको बताइएको छ। पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः रहेका छन् भने बाँकी शीर्ष नेताहरूको पनि नाम समावेश गरिएको छ।

एकता भएको एक वर्षमा नेकपाले पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटीसम्म एकता सम्पन्न गरेको थियो। स्थानीय तह र इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी संगठनको पनि एकता भइसकेको छ।

आजको सचिवालय बैठकले सबै जनवर्गीय संगठनका संयोजक र सहसंयोजकको टुंगो लगाएको छ। पूर्वएमालेबाट संयोजक रहेको संगठनमा पूर्वमाओवादीबाट सहसंयोजक रहेका छन् भने पूर्वमाओवादी संयोजक रहेको संगठनमा पूर्वएमालेबाट सहसंयोजक तोकिएको छ। विद्यार्थी, मजदूर र बुद्धिजीवी पूर्वएमाले र युवा, महिला र पत्रकार संगठनको संयोगकमा पूर्वमाओवादीले नेतृत्व पाएको छ।

जनवर्गीय संगठनको नेतृत्व घोषणा कहिले गर्ने भन्ने निश्चित नभए पनि सम्भवतः शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने बल्खुको कार्यक्रममा घोषणा गरिने स्रोतले जनायो। नेकपाले भोलि मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा बल्खुमा कार्यक्रम आयोजना गरेको छ।

पढ्नुहोस्ः 

हेर्नुहोस् कुन संगठनमा को भए नेकपाका जनवर्गीय संगठनका संयोजक-सहसंयोजकः

किसान महासंघ :  वामदेव गौतम (एमाले) - चित्रबहादुर श्रेष्ठ (माओवादी)

विद्यार्थी : ऐन महर (एमाले)-रन्जित तामाङ (माओवादी)

युवा : रामप्रसाद सापकोटा दीपशिखा (माओवादी) - रमेश पौडेल (एमाले)

महिला : अमृता थापा (माओवादी)- सीता पौडेल (एमाले)

मजदुर : विनोद श्रेष्ठ (एमाले) - जगत सिम्खडा (माओवादी)

पेसागत महासंघ : विश्वनाथ प्याकुरेल (एमाले) - दयाराम बस्याल (माओवादी)

पत्रकार : महेश्वर दाहाल (माओवादी) - गणेश बस्नेत (एमाले)

खेलकुद : पुरुषोत्तम पौडेल (एमाले) - शिव कोइराला (माओवादी)

जनसांस्कृतिक : खेगन्द्र राई (एमाले) - सरल सहयात्री (माओवादी)

बुद्धिजीवी : डा. दिनेशचन्द्र देवकोटा (एमाले) - कृष्ण केसी (माओवादी)

मुस्लिम : सराज अहमद फारुखी (एमाले) -  अतहर हुसेन (माओवादी)

दलित : तिलक परियार (माओवादी)- बोमबहादुर विश्वकर्मा (एमाले)

भूतपूर्वसैनिक : धनबहादुर चन्द (एमाले)- माओवादीले नाम दिन बाँकी

मानवअधिकार : मीनबहादुर शाही (एमाले)- हुकुम पोखरेल (माओवादी)

अपांगयोद्धा संघ : इन्द्रमाया गुरुङ (माओवादी)- रामप्रसाद ढंगाना (एमाले)

कानुन : रुद्र नेपाल (एमाले)- दीनमणि पोखरेल (माओवादी)

उद्योगी व्यवसायी : लक्ष्मीदास मानन्धर (एमाले)- श्याम पाठक (माओवादी)

निर्माण व्यवसायी : यज्ञध्वज कार्की (एमाले)- शिव चौलागार्इं (माओवादी)

आदिवासी जनजाति : सुरेश आलेमगर (माओवादी)- शेरबहादुर तामाङ (एमाले)

भूमिहीन सुकम्बासी : रामप्रीत पासवान (एमाले)- पदम देवकोटा (माओवादी)

इन्जिनियर : शम्भुबहादुर श्रेष्ठ (एमाले)- डा. हरिराम पराजुली (माओवादी)

प्रवास : लोकनाथ भण्डारी (एमाले)- ईश्वरी भण्डारी (माओवादी)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.