|

संखुवासभा : खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा भएको आर्थिक हिनामिना भएको लेखा प्रतिवेदन समितिले लुकाएको छ। खानेपानी समिति र कर्मचारीको मिलेमतोमा लाखौँ रुपैयाँ घोटाला गरेको प्रतिवेदन सार्वजनिक गर्न आलटाल भइरहेको हो। 

खानेपानी महसुल लगायतको रकम हिनामिना गरेको प्रतिवेदन वैशाख १५ गते समितिलाई बुझाए पनि समितिले पटक–पटक प्रतिवेदन  माग्दा समितिका अध्यक्ष नरेन्द्र राईले अहिले दिन नमिल्ने बताएका छन्। लेखा समितिले बुझाएको छानविन प्रतिवेदन पत्रकारले सार्वजनिक गर्न माग गर्दा खाँदबारी नगरपालिकाकासँग छलफल गरेपछि मात्र सार्वजनिक गर्ने भन्दै समितिका अध्यक्ष राईले दिन आनाकानी गरे। रकम घोटला भएको छानविन प्रतिवेदन वैशाख १५ गते नै समितिले बुझिसकेको छ। 

तत्कालीन खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठको समितिले लामो समय लगाएर तयार पारेको लेखा प्रतिवेदन समितिलाई बुझाएको बताएको छ। खानेपानी कार्यालयमा आर्थिक रकम हिनामिना व्यापक भएको गुनासो आए पनि महसुल र उपभोक्ताबाट उठाएको रकमको मात्र छानविन गरेको लेखा अधिकृत श्रेष्ठले जानकारी दिए। आफूलाई दिइएको अधिकारका आधारमा खानेपानी महसुल र आयोजना सञ्चालनका क्रममा उपभोक्ताबाट उठाएको पाँच प्रतिशत रकमको छानविन गरेको उनले बताए।

समितिले जडान शुल्कबापत उपभोक्ताबाट अग्रिम रूपमा पाँच प्रतिशत अर्थात् दुई करोड १५ लाख भन्दा बढी रकम उठाइएको थियो। गत माघ १५ गते लेखा अधिकृत श्रेष्ठलाई खानेपानी समितिमा आर्थिक अनियमिता भएको भन्दै छानविनका लागि लेखा अधिकृत श्रेष्ठलाई जिम्मेवारी दिएको हो। उता खानेपानी कार्यालयमा अझै रकम अनियमितता भएकाले फेरि पनि छानविन गर्नुपर्ने खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले बताए। प्रमुख खतिवडाले भने पुनः छानविन गर्नु पर्ने देखिएकाले उच्चस्तरीय छानविन समिति तयार गरी छानविन गर्ने बताए। खानेपानी समितिमा उच्चस्तरीय छानविन सकिएपछि मात्र प्रतिवेदन सार्वजनिक हुने बताए। 

२०७० सालमा निर्माण सम्पन्न गर्ने गरी कुल लागत ४४ करोड ४३ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्न जिम्मा आशिष कन्स्ट्रक्सनले लिएको थियो। उपभोक्ताहरूले खानेपानी आयोजनालाई कुल लागतको पाँच प्रतिशत रकम सहभागिता वापत मुख्य पाइपलाइनदेखि धारा जडान गर्दा दूरीका हिसाबले प्रतिघर पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म तिरेका थिए। रकम घोटालामा कर्मचारी र समितिका अध्यक्ष र सचिव समेत संलग्न भएको आशंका गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.