|

इलाम :  गत चैत २३ गते जिल्ला कराते संघ इलाम र फिक्कल डोजोको संयुक्त आयोजनामा पर्यटकीय क्षेत्र श्रीअन्तुमा सातौँ अन्तर्राष्ट्रिय कराते सम्पन्न भयो।खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा नेपाल भारत, बंगलादेश, भुटान र दुबईका गरेर ४५० खेलाडी सहभागी थिए।  

मौसमको प्रवाह नगरी उनीहरूले झरीमा रुझ्दै २५ विधाका १०० मेडलका लागि प्रतिस्पर्धा गरे। प्रतियोगितामा ६ देखि २५ वर्षसम्मका खेलाडी थिए। खेलपछि कतिपय खेलाडी बिरामी भएर घर फर्किए।

चैतको समयमा मौसम सफा भएपछि दान र चन्दाकै भरमा भएपनि आयोजकहरुले सातौँ संस्करणको प्रतियोगिता तयारी सुरु गरे। सम्पूर्ण तयारी पूरा भएपछि पहिलो दिनमा नै ठूलो पानी पर्‍यो। कतिपय खेलाडीलाई रिङमा २ मिनेट टिक्न समेत समस्या देखियो। आर्थिक अवस्था र विदेशी खेलाडीहरूको टिकटको समस्याका कारण मौसम प्रतिकुल भएपनि तोकेकै मितिमा खेल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको आयोजकहरू सुनाउँछन्।

‘दान र चन्दा सहयोगकै भरमा प्रतियोगिता सुरु गरेका थियौ। सबै खेलाडीहरू आइसकेका थिए खेल सुरु हुने दिन पानीले असर गर्‍यो।’ प्रतियोगिताका संयोजक एवं अन्तराष्ट्रिय रेफ्री योगेश चाम्लिङले भने ‘बाहिरबाट आएका खेलाडीको टिकट कन्फर्म भइसकेको थियो। एक दिन ढिला हूँदा आयोजकलाई दुई लाख रुपैयाँ बढी भार पर्ने भयो। हामीसँग पर्याप्त बजेट पनि थिएन। दुःखका साथ पानीमा भिजाउँदै खेलायौँ।’ 

इलाममा कराते खेल सुरु भएको ३ दशक भन्दा बढी अवधि भएपनि कभर्ड हलको अभावमा खुल्ला मैदानमा प्रशिक्षण र प्रतियोगिता आयोजना गर्नुपर्ने हुन्छ। जिल्लाका २५ बढी डोजोका करिब १२ सय खेलाडीहरु खुल्ला मैदानमा नै प्रशिक्षण गर्छन्। इलाम सदरमुकाममा एउटा कर्भड हल भएपनि पर्याप्त छैन। एउटा हलमा कराँतेसँगै बक्सिङ, उसु, टेबल टेनिस , जुँडोका खेलाडीलाई प्रशिक्षण दिनुपर्छ। राष्ट्रिय खेलकुद परिषदबाट खटाइएका चारजना र स्वय‌ंसेवक प्रशिक्षक १६ जनाले खुल्ला चौरबाट नै राष्ट्रिय खेलाडी जन्माइरहेका छन्। गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा प्रदेश एकको टिममा इलामबाट ३ जना खेलाडीले प्रतिनिधित्व गरेका थिए। 

खेलाडी र प्रशिक्षकले ३ दशकदेखि  सुविधासम्पन्न कबर्ड हलको माग गरिरहेपनि अहिलेसम्म पूरा नभएको कराँते प्रशिक्षक प्रदिप सैजु बताउछन्। २०४४ सालबाट राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा इलाममा कराते खेल सुरु भएको थियो। इलामबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि पदक भित्र्याएका छन्। इलामकै उत्पादन सुस्मिता निरौला दुबईमा विगत दुई वर्षदेखि कराते सिकाउँदै आएकी छन्। इलाममा १०० बढी स्थानीय स्तर, २८ वटा जिल्लास्तरिय तथा क्षेत्रीय र सातवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खुला चौरमा सम्पन्न भए। 

चाम्लिङ भन्छन् ‘हामीले राम्रो कबर्ड हल निर्माणका लागि जिल्लादेखि केन्द्रसम्म माग पुर्‍याएपनि पूरा भएको छैन ।’ खुल्ला चौरमा प्रतियोगिता आयोजना गर्नु बाध्यता रहेको उनले बताए। ‘सातौँ अन्तराष्ट्रिय प्रतियोगिता गर्दा विदेशी खेलाडीलाई पानीले भिजाउँदै खेलाउनुपर्यो, टिम कोच  र प्रशिक्षक पनि खुल्ला आकाशमा भिज्दै बस्दा नराम्रो लाग्यो।’  

खेलाडीहरूको क्षमता प्रर्दशनका लागि कराते खेलका प्रशिक्षक र खेलाडीको सक्रियतालाई साथ दिँदै सरकारले चाँडो सुविधासम्पन्न कबर्ड हल बनाउनुपर्ने उनको भनाइ छ। सरकारले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुद क्षेत्रका कार्यक्रम ल्याए पनि ती कार्यक्रम कराते खेल क्षेत्रमा आई नपुगेको कराते खेलाडी विमोचना गुरुङको गुनासो छ। ‘हामीले खेल्दामा पनि खुल्ला चौरमा खेल्नुपर्छ,’ गुरुङले भनिन, ‘खेलाडीहरुलाई प्रशिक्षण दिँदा पनि विद्यालयका चौर, चियाबारीको खुल्ला क्षेत्र रोज्नुपर्ने बाध्यता छ।’ स्थानीय स्तरका प्रतियोगिता मात्रै नभएर हरेक वर्ष आयोजना गरिँदै आएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पाहुना खेलाडीहरुलाई पानीले भिज्दै खेलाउनु पर्दा नराम्रो लागेको गुरुङको भनाइ छ।

स्थानीयस्तरमा कराँते खेलमा युवाहरूको आकर्षण बढे पनि पूर्वाधार निर्माणका लागि स्थानीय सरकारले पनि चासो नदिएको खेलाडी र प्रशिक्षकको गुनासो छ। सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले कराँते खेलाडीको माग सम्बोधानका लागि पूर्वाधार निर्माणका लागि पहल गर्ने बताए। कराँते खेलका लागि सूर्योदय नगरपालिकामा जग्गा अभावले  पूर्वाधार निर्माणको काम अड्किएको प्रमुख राईको भनाइ छ। चाडै सूर्योदय नगरलाई खेलकुदको क्षेत्रमा समेत चिनाउन कभर्ड हल बनाउने उनी बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.