|

जाजरकोट : तल्लो डोल्पाको मुड्केचुला र जगदुला गाउँपालिकामा फोनले काम नगर्दा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। आफन्तसँग फोन गर्न अग्ला हिमालमा नेटवर्कको खोजी गर्दै घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको जगदुला गाउँपालिका ६ का करवीर रोकायले बताए।

फोन नलाग्दा एक गाउँबाट अर्को गाउँमा खबर पठाउन दुई दिन लाग्ने गरेको उनले बताए। स्थानीय तहका कर्मचारीलाई कुनै कार्यक्रम गर्नका लागि खबर पठाउन हिँडेरै जानुपर्दा समस्या भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए। 'टावर निर्माणका लागि ल्याइएका सामग्री रुकुमको त्रिवेणीको एक वर्षदेखि थन्किएका छन्', उनले भने, 'टेलिकमका कर्मचारी नआउँदा टावर जोड्न सकिएको छैन।'

मुड्केचुला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कुमा फोनले काम नगर्दा सरकारी काम गर्न सदरमुकाम दुनै जानुपरेको शाहीको भनाइ छ। फोन र इन्टरनेट नहुँदा 
ईलमा रहेको बाणिज्य बैंकको सेवा प्रवाहमा समेत समस्या देखिएको छ। टेलिफोन टावर निर्माणका लागि सरोकारवालामा जानकारी दिए पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए।

उपल्लो डोल्पामा कुनै घटना घटे सदरमुकाममा खबर पुर्‍याउन समस्य भएकोले पाँच दिन भन्दा बढी लाग्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी अवदेश विष्टले बताए। माथिल्लो डोल्पाका अधिकांश ठाउँमा टेलिफोन सम्पर्क नहुँदा दैनिक सूचना आदानप्रदानमा समस्या  भएको उनको भनाइ छ । अग्ला , अग्ला हिमाल , त्यसको फेदीमा गाउँहरू भएको उपल्लो डोल्पामा सेवा दिन कर्मचारी जान आउन समेत मुस्किल भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए। 

डोल्पाका ७० प्रतिशत भागमा फोनले काम नगर्दा दैनिक सूचना दिन र लिन वर्षौँदेखि समस्या भोग्दै आएको प्रजिअ केसरीले बताए। सञ्चार लगाएका समस्याका कारण त्यहाँका स्थानीय तहको कार्यालय समेत सदरमुकाम दुनैमा राखेर सञ्चालन गरिएको छ। बैंकहरू समेत स्थापना हुँन नसकेको अवस्था रहेको छ।

टावर निर्माणका लागि ठेक्का लिएर निर्माण व्यवसायीले समयमै काम नगर्दा टेलिफोन टावर विस्तारमा समस्या भएको प्रतिनिधिसभाकी सदस्य सत्य पहाडीले बताइन्।  नयाँ टावर निर्माणका लागि काम जारी रहेको र आगामी आर्थिक वर्षभित्र काम अघि बढ्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.