विचार

यसरी पत्ता लागेको थियो बुद्धको जन्मथलो
SHARES

खड्गशमशेर र क्युरेटर फुहररको विशेष योगदान

जेठ ४, २०७६

    लुम्बिनीलाई गौतम बुद्धको जन्मथलोको रूपमा पुष्टि गर्ने एक मात्र प्रमाण हो, त्यहाँ ठडिइराखेको अशोकस्तम्भ। हामीमध्ये धेरैलाई लाग्छ, तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले स्तम्भ ठड्याएदेखि लुम्बिनीको अस्तित्व कायम छ। तर, सत्य त्यस्तो छैन।

    सम्राट् अशोकले यात्रा गरेको केही शताब्दीपछि चारकोशे झाडीको बीचमा रहेको उक्त स्थान समयको गर्भमा यसरी बिलायो, वर्षौंसम्म कसैलाई पनि लुम्बिनीबारे अत्तोपत्तो भएन। कालान्तरमा, नेपाल र इष्ट इन्डिया कम्पनीले गरेको संयुक्त अन्वेषणका क्रममा विसं १९५३ मा अशोकस्तम्भ पुन: भेटियो। उक्त उत्खनन कार्यमा जर्मन नागरिक एन्टन फुहरर र पाल्पाका बडाहाकिम खड्गशमशेर जबरा सामेल थिए। यो आलेखले सोही उत्खनन कार्यको रोचक कथा भन्छ :


    पूर्वप्रसंग

    शमेशेर भाइहरूले शक्ति हत्याउने अरू उपायको खोजी नगरेका होइनन्। तर, उनीहरूले काका रणोद्दिपलाई सिध्याउनेबाहेक कुनै उपाय देखेनन्। रणोद्दिप सिंह शमशेर भाइहरूको काका मात्रै थिएनन्, मुलुकको प्रधानमन्त्रीसमेत थिए।

    आफूपछि भाइहरू र भाइहरूपछि भतिजाहरूमा जानेगरी जंगबहादुर स्वयंले बसालेको रोलक्रम मिचेर प्रधानमन्त्री रणोद्दिप सिंहले जंगबहादुरका छोरा जगतजंगलाई शक्ति सुम्पने तयारी गरेपछि शमशेर भाइहरू उनीसँग नराम्ररी चिढिएका थिए। उनीहरू कुनै हालतमा जगत प्रधानमन्त्री होऊन् भन्ने चाहँदैनथे। काकाबाट चिढिएका वीर, खड्ग, जुद्ध, भीम, चन्द्र र डम्बरशमशेर भित्रभित्रै हत्याको योजना बुन्न थाले। दिनरातको गोप्य छलफलपछि अत्तत: उनीहरूले काकामाथि गोली हान्‍ने निधो गरे।

    गोली त हान्ने, तर कसले हान्ने? प्रधानमन्त्रीको हत्या गर्नु जोखिमपूर्ण त छँदै थियो, त्यसमाथि पितृहत्याको अपजस लिन सबैजना अन्कनाएपछि अघि बढे खड्गशमशेर। रोलक्रमले उनी वीरपछि दोस्रो वरीयतामा थिए। शक्तिको लागि काकाहत्याको कलंक बेहोर्न खड्ग तयार भए। शमशेर भाइहरूले विसं १९४२ कात्तिक ३ गतेका दिन योजनालाई मूर्तरूप दिए। नारायणहिटी दरबारको दक्षिण लङको कोठामा खड्गले चलाएको गोली लागेर रणोद्दिपको प्राणपखेरु उड्यो। जंगबहादुरका छोरा जगतजंगलाई पनि बाँकी राखिएन। घटनापछि वीरशमशेरले आफूलाई प्रधानमन्त्री घोषणा गरे।

    वीरशमशेरले आफूलाई श्री ३ त घोषित गरे, तर काठ्माडौंस्थित ब्रिटिस लिगेसन उनलाई मान्यता दिन अनकनाइरहेको थियो। ब्रिटिसहरू जंगबहादुरकै सन्तान शक्तिमा आएको देख्न चाहन्थे। यसले वीर शमशेरलाई अप्ठ्यारो पर्न गयो।

    क्रमश: रणोद्दिप, वीर र खड्ग


    अंग्रेजलाई रिझाउन उनले ब्रिटिस फौजमा नेपाली जवान भर्ना गराउनेगरी सम्झौता गरे। जंगबहादुरले विभिन्न बहाना देखाएर टारिरहेको प्रस्ताव वीरका पालामा अनुमोदित भयो। त्यति मात्रै गरेनन्, वीरले आफूहरू पनि जंगबहादुरको सन्तान हौँ भन्ने भान पार्न नामका पछाडि 'जबरा' झुन्ड्याउने चलन चलाए। यसरी वीरले ब्रिटिसहरूलाई रिझाएर श्री ३ को मान्यता हासिल गरे। काकामाथि गोली चलाउने खड्गशमशेर कमान्‍डर–इन–चिफ बनाइए।

    यसैबीच, काठमाडौंका शक्तिकेन्द्रहरूमा गाइँगुइँ चल्न थाल्यो कि खड्ग अब वीरलाई सिध्याउने तानावाना बुन्दैछन्। सेनाको नेतृत्व सम्हालिरहेका खड्गले चाहेको खण्डमा त्यसो हुनु असम्भव थिएन। निकट इतिहासमै रणोद्दिपको हत्या नजिरका रूपमा उपस्थित थियो। वीरशमशेरमाथि नसोचेको संकट आइलाग्यो।

    खड्गशमशेर पाल्पा धपाइए

    हजुरिया कर्णेल फौदासिंह खत्रीमार्फत खड्गले षड्यन्त्र गरिरहेको खबर कानमा परेपछि वीरशमशेर नराम्ररी तर्सिन पुगे। खड्गलाई काठमाडौंमा राखिराख्नु उनका लागि सर्वथा अहितकर थियो। खड्गलाई निकट राखेर जोखिम मोल्न सकिँदैनथ्यो। तसर्थ खड्ग बडाहाकिम बनाइएर पाल्पा पठाइए। अर्को शब्दमा, उनलाई काठमाडौंबाट निकाला गरियो।

    त्यतिखेर काठमाडौंस्थित ब्रिटिस लिगेसनको प्रमुखमा मेजर विली थिए। दूतावास बसिसकेको थिएन, लिगेसनले नै ब्रिटिस सम्पर्क कार्यालयको रूपमा काम गर्‍थ्‍यो। इस्ट इन्डिया कम्पनीले उसका स्वार्थहरू तिनै विलीमार्फत नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने गर्दथ्यो।

    यस्तैमा एकदिन प्रधानमन्त्री वीरशमशेरलाई मेजर विलीको एउटा पत्र प्राप्त भयो, जसमा आर्कियोलोजिकल सर्वे अफ् ब्रिटिस इन्डियाका तर्फबाट गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विकस्थलहरूको अध्ययन अनुसन्धान गर्न अनुमति मागिएको थियो।

    जंगबहादुरको पालासम्म विदेशीलाई सकभर नेपाल छिर्न दिइँदैनथ्यो। तर, वीरशमशेरसँग अनुमति नदिनुको विकल्प थिएन। अघि भनिसकिएको छ, ब्रिटिसबाट श्री ३ को मान्यता पाउन वीरशमशेरले धेरै नै सम्झौता गर्नुपरेको थियो।

    बुद्धको जन्मथलो खोज्ने जिम्मा खड्गशमशेरलाई

    पाल्पा धपाइएका खड्गसँग त्यहाँ खासै महत्वपूर्ण काम थिएन। सेनाको कमान्‍डर–इन–चिफबाट बडाहाकिममा झारिएका खड्ग चारकोशे जंगलको दोहनमा व्यस्त थिए। केन्द्रको राजकाजमा उनको कुनै भूमिका थिएन। त्यति हुँदा पनि पाल्पाबाट षड्यन्त्रका खबरहरू काठमाडौं आइरहन्थे। यस्ता उडन्ते खबरहरू खड्गको 'काठमाडौं हान्ने योजना'ले भरिपूर्ण हुन्थे। यस्ता खबरले वीरशमशेरलाई बेचैन बनाउथ्यो। उनी खड्गलाई कम महत्वको कुनै काममा अल्झाइराख्न चाहन्थे।

    मेजर विलीको चिठ्ठीको जवाफ दिँदै वीरशमशेरले 'लुम्बिनी क्षेत्रमा उत्खनन् गर्ने भए पाल्पाका बडाहाकिमका तथा आफ्ना भाइ खड्गलाई सम्पर्क गर्न उचित हुने' सुझाए। ब्रिटिस मिशनलाई सघाउन आदेश दिँदै भाइलाई पनि चिठ्ठी लेखिलिए। विलीले पनि सोहीअनुरूपको परिपत्र पठाए।

    यसरी लुम्बिनी उत्खननको तयारी अघि बढ्यो। लुम्बिनी क्षेत्रको उत्खननका लागि उताबाट लखनग म्युजियममा कार्यरत जर्मन शोधकर्ता एन्टन फुहरर दलबलसहित नेपाल आउने भए। पाल्पाबाट खड्गशमशेर लुम्बिनी जाने भए। 

    उत्खननपूर्व के थियो लुम्बिनीमा?

    बुद्धको जन्मथलो चारकोशे झाडीको विशाल आयतनमा कतै बिलाएको थियो। पुरातात्विक महत्वको उक्त ठाउँ कैयौँ शताब्दीसम्म कसैलाई अत्तोपत्तो नै नहुनेगरी समयको गतिमा पुरिएको थियो। मौर्य सम्राट् अशोकले इ.पू. २४९ मा लुम्बिनीमा खडा गरेको विशाल शिलास्तम्भ सालका विशाल वृक्षहरूको छायामा विलुप्त हुन पुगेको थियो। यदाकदा त्यहाँ पुग्ने व्यक्तिहरूले त्यहाँ शिलास्तम्भको ठूटो देखिएको नबताएका होइनन्। तर, त्यो स्तम्भ के थियो, कसले र किन खडा गरेको थियो, रहस्यकै गर्भमा थियो। स्थानीयले सो ठाउँमा वनदेवीको नाउँमा बलि चढाउने गर्थे। 

    उत्खननका क्रममा स्तम्भमा ब्राह्मी लिपीका अक्षर कुँदिएको पाइयो। खड्गशमशेर ब्राह्मी बुझ्दैनथे। त्यसैले उनी क्युरेटर फुहररलाई कुरेर बसे। ब्राह्मी वाच्‍न जान्ने क्युरेटर फुहररले उक्त स्थानमा आउनासाथ स्तम्भको लिखत पढ्दै लुम्बिनीलाई बुद्धको जन्मथलो किटान गरे। जसमा लेखिएको थियो, 'हींद बुधे जाते शाक्यमुनीति...।' अर्थात् शाक्यमुनिको जन्म यहाँ भएको थियो।

    यता, बुद्धको जन्मथलोलाई चारकोशे झाडीले पुन: आफ्नो गर्भमा समाहित गरे पनि बुद्धका शिष्यहरूले उनको दर्शनलाई देशविदेश फैल्याइरहेका थिए। खासगरी चीन र हालको श्रीलंका आसपासका क्षेत्रमा बुद्धधर्म अँगाल्नेहरूको संख्या वृद्धि हुँदै गएको थियो।

    इ.पू. ६३६ मा चिनियाँ बौद्धभिक्षु ह्वेन साङ्गले आफ्नो पुस्तकमा लुम्बिनीबारे चर्चा गरेको पाइन्छ। उनी बौद्धग्रन्थको मूलपाठ खोज्दै भारत आएका थिए। १५ वर्ष भारतमा बिताएका उनले आफ्नो वृतान्तमा तत्कालीन भारतवर्षको विवरण प्रस्तुत गरेका छन्।

    त्यसअघि चौथो शताब्दीमा लुम्बिनी पुगेका चिनियाँ यात्रीहरू सेङ्ग साई र फाहियानले पनि यात्राविवरण लेखेका छन्। त्यसमा पनि लुम्बिनीको चर्चा परेकाले उक्त समयसम्म बुद्धको जन्मथलोबारे मानिसहरू जानकार थिए भन्ने अनुमान लगाउन सकिन्छ। तर, ती प्राचीन पुस्तकहरूका आधारमा बुद्धको जन्मथलो किटान गर्न सम्भव थिएन। अनुमानसम्म लगाउन सकिन्थ्यो कि बुद्धको जन्मथलो चारकोशे झाडीको अगलबगलमा कतै लुकेर बसेको छ।

    नेपाल र इष्ट इन्डिया कम्पनी दुवैतर्फका शासकहरूलाई बुद्धको जन्मथलो कुन देशमा पर्छ भन्ने जानकारीसम्म पनि थिएन। सायद प्राथमिकता वा रुचिको विषय थिएन, त्यसैले। वारिपारि दुवैतिरका शासकहरूमा बौद्ध धर्मलाई विदेशी धर्म ठान्दथे। यसप्रति अपनत्वको भाव थिएन।

    ब्रिटिसहरूलाई पनि वीरशमशेरको पालामा आएर मात्र बुद्धको जन्मथलोबारे तातो लागेको थियो, जतिबेला बौद्धधर्म हालको श्रीलंकातिरबाट दक्षिणपूर्वी एसिया र चीनतिरबाट पूर्वीएसियातर्फ फैलिइसकेको थियो। युरोपमा पनि यस धर्मको आकर्षण बढिरहेको थियो।


    भनिन्छ, सन् १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि हुनुपूर्व बुद्धको जन्मथलो प्रमाणित भएको भए उक्त थलो नेपालभित्रै रहिरहन्थ्यो भन्ने कुनै ग्यारेन्टी थिएन। सीमाबाट १०/१५ किलोमिटरको दूरीमा रहेको लुम्बिनीलाई पारीपट्टीको सीमाभित्र पार्न ब्रिटिसलाई कुनै आइतबार हुँदैनथ्यो। तर, नेपालको सौभाग्य, सुगौली सन्धिको समयमा बुद्धको जन्मथलो प्रमाणित भइसकेको थिएन।

    यसरी भेटियो अकाट्य प्रमाण

    लुम्बिनीको उत्खननका लागि लखनउबाट क्युरेटर एलोवेस एन्टन फुहरर दलबलसहित नेपाल छिरे। उनलाई इन्डियन आर्कियोलोजी सर्वे विभागले उत्खननको अख्तियारी दिएर पठाएको थियो। केही सैनिकसहित खड्गशमशेर पनि बुद्धको जन्मथलो खोज्न पाल्पाबाट लुम्बिनी रमाना भए।

    यातायातका साधनको कुरै छाडौँ, बाटोसम्म पनि गतिलो थिएन। विज्ञानसमेत परिस्कृत नभइसकेकाले परम्परागत तरिकाबाटै अनुसन्धान गर्नुपर्दथ्यो। नापनक्सा, मानचित्र, क्यामेरा आदिइत्यादी केही उपलब्ध थिएन। स्तम्भको टुप्पो देखिएको भन्ने स्थानीयको सूचनालाई आधार बनाई दुवै टोली चारकोशे झाडीभित्र छिर्‍यो। एउटा टोली पाल्पाबाट, अर्को भैरहवाबाट। 

    लुम्बिनी आइपुग्नुपूर्व फुहरर टोलीले कपिलवस्तुको सगरहवामा कनकमुनि बुद्धको र गोटीहवामा क्रकसुन्दर बुद्धको स्तम्भ भेट्यो। कनकमुनिको स्तम्भ भाँचिएको अवस्थामा पाइयो भने क्रकसुन्दरको स्तम्भ सग्लै भेटियो। दुवै स्तम्भ सम्राट् अशोकले खडा गरेको अध्ययनले देखायो। 

    विसं १९५३ मंसिर १८ गतेको कुरा हो यो। खड्गशमशेर फुहररको टोली आइपुग्नु अघि नै लुम्बिनी पुगिसकेका थिए। खड्गको टोलीले स्तम्भ खोतलखातल पार्न थालिसकेको थियो। सिपाहीहरूको मद्दतले उत्खनन गर्दा स्तम्भ र अन्य महत्वपूर्ण भग्नावशेष टुटफुट भयो कि भन्ने अनुमान पनि गरिन्छ। उत्खननको क्रममा स्तम्भमा ब्राह्मी लिपीका अक्षर कुँदिएको पाइयो। खड्ग ब्राह्मी बुझ्दैनथे। त्यसैले उनी क्युरेटर फुहररलाई कुरेर बसे । ब्राह्मी वाच्न जान्ने क्युरेटर फुहररले उक्त स्थानमा आउनासाथ स्तम्भको लिखत पढ्दै लुम्बिनीलाई बुद्धको जन्मथलो किटान गरे। जसमा लेखिएको थियो, 'हींद बुधे जाते शाक्यमुनीति...।' अर्थात् शाक्यमुनिको जन्म यहाँ भएको थियो।उत्खननमा भेटिएको लिपि र अन्वेषक फुहरर


    स्तम्भमा 'सम्राट् अशोकले शाक्यमुनिको जन्मथलोमा पूजाअर्चना गरेको र लुम्बिनी गाउँलाई कर मुक्त गरिदिएको' पनि उल्लेख थियो। त्यहाँका स्थानीयलाई सम्राट् अशोकले कर माफ गरिदिएका कारण उक्त ठाउँ इ.पू. २४९ मा मौर्य साम्राज्यकै हिस्सा भएको अनुमान लगाउन सकिन्छ। अन्यथा अशोकले अर्काको राज्यमा आएर कर माफको घोषणा गर्ने थिएनन् होला। ११ औं शताब्दीमा सिञ्जा राज्यका राजा रिपु मल्ल लुम्बिनी पुगेको प्रमाण पनि सोही स्तम्भमा भेटियो। रिपुले आफू त्यहाँ पुगेको तथ्य स्तम्भको टुप्पोमा खोपाएका रहेछन्।

    जे होस्, आफ्नो राज्याभिषेकको २० औं वर्षमा लुम्बिनी पुगेर सम्राट् अशोकले गाडेको स्तम्भ बुद्धको जन्मथलो प्रमाणित गर्ने अकाट्य प्रमाण बनेको बन्न पुग्यो। बुद्धको जन्मथलो कैयन् दशकपछि पुन: भेटियो। तथापि शाक्यशासित राज्यको अस्तित्व इतिहासबाट कसरी नामेट भयो र अशोकस्तम्भसहितको लुम्बिनी गाउँ कसरी धर्तीको गर्भमा पुरिन पुग्यो भन्नेबारे कुनै आजसम्म कुनै संकेत मिलेको छैन।

    लुम्बिनी पत्ता लगाउने श्रेय कसलाई?

    लुम्बिनीमा शोध गर्ने अनुमति दिएर बुद्धको जन्मथलो प्रकाशमा ल्याएकोमा विश्वभरका बौद्धमार्गीहरूले वीरशमशेरप्रति कृतज्ञता ज्ञापन गरिरहँदा लुम्बिनी पत्ता लगाएको श्रेय लिन खड्गशमशेर र फुहररबीच भने तानातान नै चलेको थियो।  फुहररले इन्डिया फर्केको केही समयपछि लुम्बिनी सर्वेक्षण प्रतिवेदन प्रकाशित गरे। व्यवसायिक शोधकर्ता नभएका कारण खड्गशमशेर भने छायामा पर्न पुगे। तैपनि अंग्रेजी भाषामा राम्रै दख्खल राख्ने खड्गले कलकत्ताबाट छापिने 'दी पायोनियर' पत्रिकामा लगातार तीनवटा लेख छपाएर लुम्बिनी उत्खननमा आफ्नो योगदान पुष्टि गर्ने कोसिस गरे। 

    कालान्तरमा फुहररको प्रतिवेदनलाई अतिरञ्जित ठहर्‌याउँदै इन्डियन आर्कियोलोजी सर्वे विभागले थप अनुसन्धानको जिम्मा अर्का शोधकर्ता पूर्णचन्द्र मुखर्जीलाई सुम्पियो। उनले एक वर्षको अध्ययनपछि सन् १९०१ मा आफ्नो रिपोर्ट दिए, जसमा शाक्य राजाको राजधानी कपिलवस्तुकै तिलौराकोटमा रहेको र सिद्धार्थ गौतम लुम्बिनीग्रामस्थित मावलीमा जन्मेको निष्कर्ष दिइएको छ।  

    लुम्बिनी उत्खननमा खड्गशमशेरको प्राविधिक वा सांयोगिक संलग्नता मात्र थियो भन्ने मान्न सकिँदैन। लुम्बिनी, कपिलवस्तु तथा पाल्पा आसपास उनले गरेको काम हेर्दा धार्मिक तथा सांस्कृतिक विकासमा उनको रुचि देखिन्छ। पायोनियर पत्रिकामा छापिएका लेखहरूमा उनले कपिलवस्तु, निगलिहवा, कुशीनराजस्ता ऐतिहासिक स्थानलाई विश्वको नजरमा ल्याउन मद्दत हुनेगरी चर्चा गरेका छन्।

    रिपोर्टमा उनले 'लुम्बिनी, तिलौराकोट र कपिलवस्तुलाई नेपालभित्रकै स्थान' भनेका छन्। आजसम्म पनि मुखर्जीको सोही रिपोर्टलाई आधार मानेर बुद्धको जन्मथलोबारे बहस गर्ने गरिन्छ। साथै बुद्धको जन्मथलोसम्बन्धी खोज–अनुसन्धानमा मुखर्जीको रिपोर्ट सर्वाधिक उधृत गरिएको पाइन्छ।

    खड्गशमशेरको नियति

    पितृहत्याको कलंक बोकेका खड्गशमशेरलाई लुम्बिनी पत्ता लगाएको जस दिन इतिहासकारहरूले कञ्जुस्याइँ देखाएका छन्। त्यसो त श्री ३ को आँखी बनी राजधानीबाट धपाइएका खड्गलाई लुम्बिनी उत्खननको श्रेय दिनु चानचुने कुरा पनि थिएन।

    विसं १९६० मा चन्द्रशमशेर गद्दी चढेपछि खड्ग झन् अप्ठ्यारोमा परे। खड्गले सत्तापलट गर्ने सम्भावना देखेका चन्द्रशमशेरले काठमाडौंबाट सेना पठाई पाल्पाको तैनाथी आफ्नै हातमा लिए। फलस्वरूप खड्ग पाल्पाबाट पनि भारत भास्सिन विवश भए। भारत पलायन भएको केही समयपछि उनको त्यतै देहान्त भयो।

    लुम्बिनी उत्खननमा खड्गशमशेरको प्राविधिक वा सांयोगिक संलग्नता मात्र थियो भन्ने मान्न सकिँदैन। लुम्बिनी, कपिलवस्तु तथा पाल्पा आसपास उनले गरेको काम हेर्दा धार्मिक तथा सांस्कृतिक विकासमा उनको रुचि देखिन्छ। पायोनियर पत्रिकामा छापिएका लेखहरूमा उनले कपिलवस्तु, निगलिहवा, कुशीनराजस्ता ऐतिहासिक स्थानलाई विश्वको नजरमा ल्याउन मद्दत हुनेगरी चर्चा गरेका छन्।

    आफ्नी प्रिय रानी तेजकुमारीको स्मृतिमा पाल्पाको कालीगण्डकी किनारमा भव्य रानीमहलको निर्माण पनि उनैले गरेका हुन्, जो आजपर्यन्त प्रेमको प्रतिकका रूपमा प्रसिद्ध छ। केही अध्येताहरू खड्गशमशेर त्यतिखेर पाल्पामा उपलब्ध नभएको भए वा उनले चासो नदेखाएको भए लुम्बिनी उत्खनन् कार्य केही पछाडि धकेलिन सक्दथ्यो भन्ने मत राख्दछन्।

    उत्खननपछिको लुम्बिनी

    लुम्बिनी उत्खननको श्रेय कसलाई दिने भन्नेबारे इतिहासकारहरूको मत विभाजित रहे पनि विसं १९५३ मंसिर १८ गतेका दिन भएको भएको उक्त प्राप्ति नेपालका लागि सर्वाधिक महत्वपूर्ण पक्ष हो। सोही घटनाका कारण नेपालले 'बुद्धको जन्मथलो'को परिचय प्राप्त गरेको हो। त्यसपछि मात्रै विभिन्न देशका बौद्ध धर्मावलम्बीहरू तीर्थाटनका लागि नेपाल ओइरिन थालेका हुन्।


    उक्त घटनायता संयुक्त राष्ट्रसंघका महासचिवहरू ऊ थान्त, कुर्त वाइल्डह्याम, पेरज डी कोयायार, बुत्रोस बुत्रोस घाली, कोफी अन्नान, वान कि मुनलगायतले लुम्बिनीको भ्रमण गरिसकेका छन्। लुम्बिनी विश्वसम्पदा सूचीमा सूचीकृत भएको छ। त्यसयता नेपालले पनि विभिन्न समयमा विश्व बौद्ध सम्मेलनको आयोजना गरी बुद्धको जन्मथलोको प्रचारप्रसार गर्ने कोसिस गरेको छ। लुम्बिनीको विकासका लागि सरकारले १५ हजार रोपनी जमिन अधिग्रहण गरेको छ।

    लुम्बिनी गुरुयोजनाले उक्त स्थानलाई बौद्ध धर्मको अन्तर्राष्ट्रिय केन्द्र बनाउने रणनीति तय गर्दै अधिकभन्दा अधिक देशहरूको सहभागिता हुनेगरी बौद्धविहार बनाउन अनुमति दिएको छ, जसमा महायान र हिनयान दुवै धारका बौद्धमार्गीहरू समेटिएका छन्। आज लुम्बिनीमा देखिने विशाल बौद्धविहारहरू सोही गुरुयोजनाका परिणाम हुन्। लुम्बिनी आउने पर्यटकको संख्या पनि बर्सनि बढ्दो छ। भैरहवामा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपाल धार्मिक पर्यटनबाट अझै लाभान्वित हुने अपेक्षा गरिएको छ।

    (लुम्बिनीसम्बन्धी अध्येता प्रताप खत्रीसँग को कुराकानीमा आधारित। ७८ वर्षीय खत्री दुई दशकभन्दा बढी समय लुम्बिनी विकास समितिसँग आबद्ध थिए।)

पवनराज पौडेल

पत्रकार पौडेल थाहा संचार नेटवर्कको स्टेशन म्यानेजर हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]