|

पर्वत : जिल्लाको कुस्मा नगरपालिका ५ मेलमिलापचोकका मिठु गिरीको दैनिकी हिजोआज केही बदलिएको छ। स्थानीय शिवालय माध्यमिक विद्यालयमा २६ वर्षदेखि अध्यापन गर्दै आएका उनले बिहान बेलुकाको समयमा टेलिभिजन हेर्ने र साथीहरूसँग गफिने गरेर समय बिताउने गरेका थिए। तर केही दिनयता उनी गफमा होइन कम्प्युटरको ‘स्क्रिन’ अगाडि देखिन्छन्। उमेरले ४८ वर्ष पुगेका उनले अहिलेसम्म कम्प्युटर छोएका पनि थिएनन्। तर अहिले उनी परीक्षाका लागि तयार पारिने प्रश्नपत्रको ‘डिजाइन’ आफैँले तयार पार्छन्।

बुढेसकालमै भए पनि कम्प्युटर सिक्न निकै कसरत गरिरहेका छन् सोही विद्यालयका अर्का शिक्षक हरिनारायण उपाध्याय। उमेरले ५६ वर्ष पुगेका उनले पनि अहिलेसम्म कम्प्युटरमा काम गरेका थिएनन्। प्रयास गर्ने हो भने सकिन्छ भन्ने आशा बोकेका उपाध्यायले पनि परीक्षा आउँदा विद्यालयका कम्प्युटर ‘टाइपिस्ट’ लाई खोज्नु पर्दैन।

उनीहरू जस्तै विद्यालयका १९ जना शिक्षकहरूले यसरी नै बिहान बेलुकाको समयमा कम्प्युटर सिक्न थालेका छन्। कक्षा शिक्षणमा ‘प्रोजेक्टर’ लगायतका सामग्रीको प्रयोग गरेर शिक्षण विधि ‘आइटी’ बेसमा जाँदा विद्यालयले नै शिक्षकहरूका लागि कम्प्युटर सिक्न अनिवार्य गरेको हो। शिक्षण सिकाइ क्रियाकलापमा कम्प्युटरको प्रयोग प्रभावकारी बन्दै गएपछि विद्यालयले नै शिक्षकहरूलाई कम्प्युटर सिक्नका लागि ताकेता गरेपछि उनीहरूमा परिवर्तन आएको छ।

घरमा भएका मोबाइल, ट्याव र कम्प्युटर चलाउन सिकि सकेका विद्यार्थीले विद्यालयका शिक्षकलाई कम्प्युटरबारे सोध्दा शिक्षकहरू भने नाजावाफ भएर बस्नुपर्ने अवस्था थियो। त्यति मात्र होइन एकाइ परीक्षादेखि अर्धवार्षिक र वार्षिक परीक्षामा आउँदा हातले लेखेर तयार पारेका प्रश्नपत्रको ‘टाइप’ कसले गरिदेला? भनेर शिक्षकहरूको टाउको दुखाइ बन्ने गर्दथ्यो। यही कारण पनि शिक्षकहरूलाई कम्प्युटर सिक्नैपर्ने बाध्यता भयो।

आफूहरूमा कम्प्युटर सीपको विकास हुँदा शिक्षकहरू पनि मख्ख देखिन्छन्। ‘मैले पहिले खोल्न र बन्द गर्न मात्र जानेकी थिएँ, अहिले सजिलै टाइप गर्न सक्छु।’ विद्यालयकी शिक्षिका मोतीकुमारी पुनले भनिन्। उनले इन्टरनेट खोलेर कक्षाकोठामा पनि विद्यार्थीलाई आवश्यक सामग्री देखाउन र आफैँले पावर पोइन्ट तयार पारेर विद्यार्थीको अगाडि देखाउन सक्ने बन्दा अध्यापनमा पनि नयाँ जोस थपिएको बताइन्।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा शिक्षकहरूभन्दा विद्यार्थी अगाडि बढीसक्दा पनि शिक्षकहरूले भने कम्प्युटरसमेत नजान्दा बालबालिकाको मनोविज्ञानसमेत बुझ्न कठिन हुने भएकोले यो कार्यक्रमको थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरी बताउँछन्। ‘ठूला काम नजाने पनि साना काम त कम्प्युटरमा बसेर शिक्षक आफैँले गर्नुपर्छ भनेर नै हामीले यो अभ्यास गरेका हौं’ अध्यक्ष गिरीले भने।

शिक्षकहरूलाई कम्प्युटर सिकाउने जिम्मा सहकारीको

शिक्षकहरूलाई कम्प्युटर सिकाउनको लागि कहीँकतैबाट आर्थिक सहयोग नभएको भए पनि सिकाउन सुरु गरिएको र सहयोग दाता खोज्ने काम भइरहेको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईंले बताए। ‘सिक्दै गर्दा कहीँ न कहीँबाट त सहयोग पाइला भन्ने आशाले शिक्षकहरूको लागि कम्प्युटर क्लास सुरु गरिसकेका छौँ।’ उनले भने, ‘शिक्षकहरूमा पनि परिवर्तन आएको छ, सिक्न सुरु गरेको केही दिन मात्र भएको भयो तर अंग्रेजी नेपाली दुवै भाषामा टाइप गर्न सक्नुहुन्छ। प्रयास गरे सम्भव छ भन्ने कुरा उहाँहरूबाट प्रमाणित भएको छ।’

शिक्षकहरूलाई कम्प्युटर सिकाउने जिम्मा अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्थाले लिएको छ। सहकारीकी अध्यक्ष राधाकुमारी कुँवर क्षत्रीका अनुसार बिहान र बेलुकाको समयमा पालोअनुसार शिक्षकहरूलाई प्रशिक्षकको प्रत्यक्ष निगरानीमा राखेर सिकाउने गरिएको छ।

कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले विद्यालयले थालेको प्रयास उदाहरणीय भएको बताउँदै नगर शिक्षा शाखाको तर्फबाट यसमा सक्दो सहयोग गर्ने बताए। ‘शिक्षकहरूले कम्प्युटर सिक्नु आवश्यक छ भनेर मैले धेरैपटक विद्यालय प्रशासनसँग पनि कुरा गरें, उहाँहरूले थालनी गर्नुभएको छ, यसमा नगर शिक्षा शाखाको तर्फबाट कति सकिन्छ सहयोग हुनेछ’, उनले भने, ‘मैले पनि उहाँहरूले सिकेको हेरेको छु, केही दिन अगाडिसम्म कम्प्युटरको अगाडि नपर्नुभएका सरहरूले अहिले सजिलै टाइप हान्नेदेखि प्रमाणपत्रहरूको डिजाइन गर्ने सक्ने भइसक्नुभएको छ।’

नेपाल सरकारले केही वर्ष अगाडि नै हरेक विद्यालयलाई ‘आइटी’ बेसमा लैजाने भन्दै सामुदायिक विद्यालयहरूमा कम्प्युटर, ल्यापटप र इन्टरनेट सेवा उपलब्ध गराएको थियो। पर्वतका अधिकांश विद्यालहरुमा कम्प्युटरहरू भएको भए पनि तिनलाई चलाउन सक्ने जनशक्तिको अभावमा कतिपय विद्यालयका कम्प्युटरहरू अझै पनि थन्किएर बसिरहेका छन्।

जिल्लाका अधिकांश विद्यालयहरूले आधारभूत तहको कक्षा ६, ७ र ८ मा ‘कम्प्युटर’ लाई विषयगत रूपमा पढाउँदै आएको भए पनि दक्ष शिक्षकको अभावमा सैद्धान्तिक कक्षाहरू मात्र चल्ने गरेका छन्। सैद्धान्तिक कक्षा जसोतसो चलाइरहेको भए पनि विद्यालयमा कम्प्युटर शिक्षकको अभाव हुँदा प्रयोगात्मक कक्षाहरू भने सञ्चालन हुन नसकिरहेको धेरै विद्यालयका प्रधानाध्यापकहरू बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.