|

बाँके : कोहलपुर नगरपालिकाभित्रका दूध डेरी उद्योग खाना पकाउने भान्छा, औषधिको गोदाम र गाडीमर्मत गर्ने ग्यारेजमा सञ्चालन गरेको फेला परेको छ। कोहलपुर नगरपालिका ११ मा रहेको साझा डेरी उद्योगले भान्छा र सुत्ने कोठामा दूध डेरी उद्योग सञ्चालन गरेको फेला परेको छ। 

दूधको प्रोसेसिङ गर्ने ठाउँ र खाना पकाउने भान्छा एउटै ठाउँमा भएको अनुगमनका क्रममा फेलापरेको  छ। त्यस्तै, कोहलपुर ११ मै रहेको किसान डेरी उद्योगले औषधिको गोदाममा नै दूध डेरी सञ्चालन गरेको पाइएको अनुगमन समितिका संयोजक एवं कोहलपुर नगरपालिका आर्थिक विकास शाखा प्रमुख धनबहादुर खत्रीले बताए। उनले कोहलपुर नगरपालिका १२ मा रहेको सुविन डेरी उद्योगले गाडी मर्मत गर्ने ग्यारेजमै दूध बिक्री वितरण गरेको फेला परेको छ। भने अर्काको नाममा कोहलपुर–११ मा डेरी उद्योग सञ्चालन गरेको पाइएको छ।

चुलिमालिका दूध डेरीको नाममा बिनादर्ता दूध डेरी उद्योग सञ्चालन गरिएको पाइएको उनले बताए। त्यस्तै, कोहलपुर नगरपालिका ११ मै आरसी किरण पसलमा दूध डेरी सञ्चालन गरेको पाएपछि अनुगमन टोलीले तत्काल दूध डेरीको अनुमति लिन सुझाव दिएको छ। साथै, कोहलपुर नगरपालिकाभित्र रहेका अन्य दूध डेरी अव्यवस्थितरूपमा सञ्चालनमा रहेको भेटिएका छन्। 

कोहलपुर नगरपालिका बजार अनुगमन समितिले बुधबार र बिहीबार गरेकोे दूध डेरी उद्योग अनुगमनका क्रममा आधिकांश दूध डेरी अव्यवस्थित रुपमा सञ्चालन गरेको देखिएको उनले बताए। ‘कतिपय डेरी उद्योगले न्यूनतम मापदण्डसमेत पूरा नगरेको र दूधमा अखाद्य सामग्री प्रयोग गरेको समेत भेटियो’ उनले भने।

समितिले बिहीबार ए वान डेरी उद्योग, देउती डेरी उद्योग, सिर्जना डेरी उद्योग, श्री कृष्ण डेरी उद्योग, ऊँसाई केदारेश्वर डेरी उद्योग, श्री बनकटवा दुग्ध उत्पादक सहकारी संस्था, चापागाई डेरी उद्योगको अनुगमन गरेको छ। अधिकांश डेरी उद्योगले न्यूनतम मापदण्ड पूरा नगरेको र एउटै काउण्टरबाट अन्य व्‍यवसायसमेत संचालन गर्दै आएको देखिएको नगरपालिकाले जनाएको छ। 

डेरी संचालकलाई दूध तथा दूधजन्य सामग्रीको स्वच्छतामा विशेष ध्यान दिन अनुगमन टोलीले निर्देशन समेत दिएको खत्रीले बताए। कोहलपुर नगरपालिकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, कोहपुर उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, नगर पशु कार्यालय तथा पत्रकार महासंघलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिसहितको संयुक्त टोलीले बुधबारदेखि बजार अनुगमन सुरु गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.