|

काठमाडौं : महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रमुखको रुपमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रमसिंह थापा बुधबारबाट अवकाश पाउँदैछन्। ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट एसएसपी थापाले अवकाश पाउन लागेका हुन्। काठमाडौं प्रहरी प्रमुख भएर अवकाश पाउने थापा पहिलो प्रहरी अधिकृत पनि हुन्।

उनलाई बुधबार नै परिसरले विदाई कार्यक्रम गर्‍यो। विदाई कार्यक्रममा एसएसपी थापा भावुक थिए। उनी भन्दै थिए ‘नाफाको जिन्दगी पाएको थिए, अब झन खुल्ला आकाशमा आएको छु, देशको सेवामा नै लाग्छु।’ उनी सशस्त्र द्वन्द्वको बेला नुवाकोटको तारुकामा एम्बुसमा परेका थिए। २०५७ असारमा माओवादीमा भिडन्तमा घाइते भएका प्रहरीलाई बचाउन जाने क्रममा एम्बुसमा परेका थिए। त्यसबेला देखि उनको श्रवणशक्तिमा कमी आएको थियो। 

एसएसपी थापाले ३० वर्षको अवधिमा २५ वटा युनिटमा इन्चार्जको रुपमा काम गरेका थिए। २०४७ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका एसएसपी थापाको पहिलो पोष्टिङ त्यत्तिबेलाको वडा प्रहरी कार्यालय, गौशालामा भएको थियो। सेवा शुरु गरेको बेला सम्झिदै उनी भन्छन्– ‘त्यत्तिखेर कपाल पाल्ने केटाहरु म देखेपछि भागिहाल्थे, गौशाला, भिमसेनगोलामा त्यत्तिखेर केटाहरु विक्रमसिंह आयो भन्दै भाग्थे।’

उपत्यकाभित्र उनले बानेश्वर, सोह्रखुट्ट र कालिमाटीमा इन्चार्ज भएर चलाए। त्यस्तै बिराटनगर, वीरगन्ज, नुवाकोट, सिन्धुली र नेपालगन्जका बिभिन्न प्रहरी युनिटका प्रमुख भएका थिए। प्रहरी सेवामा रहदा उनले २०५९ मा पूर्ण शान्ति पुरस्कार पाएका थिए भने गत महिना उत्कृष्ट प्रहरीको सम्मान पाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.