|
File Photo

पर्वत : जिल्लाको पैयूँ गाउँपालिका ६ उपल्लो हुवासमा रहेको आले होटेलबाट चोरी भएको सुनसहित चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ।

गत वैशाख ३० गते रातीको समयमा होटेलमा छिरेर सुन चोरी गरेका स्थानीय ३६ वर्षीय सोमबहादुर रानालाई पक्राउ गरिनुका साथै उनले चोरी गरेको सुन पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए।

चोरी भएलगत्तै पीडितले इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि प्रहरीले शङ्कास्पद व्यक्तिहरूको खानतलासी सुरु गरेको थियो। सोही क्रममा बिहीबार राती १२ बजे प्रहरी निरीक्षक मित्रबहादुर आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले शङ्काको आधारमा रानालाई घरबाटै नियन्त्रणमा लिएको थियो।

सोधपुछका क्रममा उनले चोरी गरेको स्वीकार गर्दै घरको शौचालयमा सुन लुकाएको बताएका थिए। उनकै बयानका आधारमा प्रहरीले शौचालयमा लुकाएर राखेको अवस्थामा ४ तोलाको हार, ४ तोलाकै सुनका बाला २ ओटा, चन्द्रमा र सिक्री बरामद गरेको हो।

चोरीमा संलग्न रानाले गाउँमा नै मिस्त्रीको काम गर्दै आएका थिए। राना  सहित पक्राउ परेको सुनलाई ईलाका प्रहरी कार्यालय हुवासले शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.