|

बुटवल : रुपन्देहीको कन्चन गाउँपालिका–२ कन्चन खोलानजिकै सिलिन्डर बम बिस्फोट भएको छ। खोलानजिकै रहेको मन्दिरको अगाडि खाली चौरमा शनिबार बिहान ४ बजे बम बिस्फोट गराइएको हो। बिहानै  बम बिस्फोट गराइएको भए पनि स्थानीयहरुले बिहान साढे ७ बजे मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए। 

बिस्फोटबाट ठूलो आवाज आए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ। बमको छर्राहरु गाउँसम्म आइपुगेको वडा नम्बर २ का अध्यक्ष शेरबहादुर चौधरीले बताए। ‘जानकी ग्यासको सिलिण्डर प्रयोग गरेर बिष्फोट गराइएको रहेछ,’ उनले भने, ‘गाउँसम्मै त्यसको छर्राहरु आएका थिए।’ 

यस्तै, बुटवल–भैरहवा सडकखण्डकमा शंकास्पद वस्तु भेटिएको छ। ओमसतिया–१ कटैयामा शंकास्पद बस्तु फेला परेको छ। कटैयामा फेला परेको संकास्पद वस्तु नक्कली बम रहेको प्रहरीले बताएको छ । खतरा लेखिएको डिब्बामा राखिएको सशकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोली पुगेपछि नक्कली भएको पाइएको हो। 

प्रधानमन्त्री बुद्धजयन्ती कार्यक्रमका लागि शुक्रबारदेखि नै लुम्बिनीमा छन्। लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए। 

बम कसले र किन राखेको भन्ने नखुले पनि विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने सुरक्षा निकायको शंका गरेको छ। प्रधानमन्त्री ओली सहभागी कार्यक्रम स्थलमा बन्द आह्वान गर्ने बताउँदै आएको नेकपाले प्रधानमन्त्री ओली लुम्बिनी आउने कार्यक्रमलाई लक्षित गरी बम राखेको हुन सक्ने अनुमान सुरक्षा निकायको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.