|

भक्तपुर : भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक रानीपोखरी सर्वसाधरणका लागि खुला हुने भएको छ। नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय हाताभित्र रहेको उक्त पोखरी सर्वसाधरणको लागि खुला गर्न सेना सहमत भएको हो।

भक्तपुर नगरपालिका र नेपाली सेनाबीच विभिन्न चरणमा पटकपटक भएको छलफलपछि भक्तपुुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनर्निर्माण र सर्वसाधारणका लागि खुला गर्ने सहमति भएको छ। यस्तै, सिद्धपोखरी उत्तरतर्फको खेल मैदान स्थानीयका लागि खेलकुद प्रयोजनका लागि खुला गर्ने गरिने छ।

सहमतिअनुसार नगरपालिका र नेपाली सेनाले समन्वयमा रानीपोखरीको क्षेत्रफल यकिन गर्ने र त्यसको आधारमा नगरपालिकाले जिर्णाेद्वार गर्ने भएको छ। जिर्णाेद्वारसँगै त्यहाँ भेटिएका पुरातात्विक वस्तुहरुको संरक्षण र भग्नावशेषको रुपमा रहेको पाटीको पुनर्निर्माण पनि नगरपालिकाले गर्ने भएको छ। सहमतिअनुसार पोखरीको क्षेत्र अध्ययन सुरु भइसकेको छ।

रानीपोखरी जिर्णाेद्वारपछि सुरक्षाको उचित व्यवस्था मिलाई पोखरीलाई चारैतिर पर्खालले घेरेर पोखरीको दक्षिण सल्लाघारी, दूधपाटी बाटोतर्फ प्रवेशद्वार बनाई बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सर्वसाधारणको लागि खुला गरिने सहमति भएको नगर प्रमुख सुनील प्रजापतिले बताए। साथै, रानीपोखरी अवलोकन गर्न आउनेका लागि सवारीसाधन पार्किङ स्थल सल्लाघारीको खाली जमिनमा नगरपालिकाले निर्माण गर्ने भएको छ।

त्यस्तै, सिद्धपोखरी उत्तरतर्फको खेल मैदानको चारैतिर तारबारले घेरी मैदानको दक्षिणतर्फ प्रवेशद्वारको व्यवस्था गरी स्थानीयका लागि बिहान सोढ ७ बजेदेखि साढे ११ बजेसम्म चार घण्टा खुला गर्ने र शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गर्ने सहमति भएको छ। 

साथै, सैनिक महाविद्यालय बन्द रहेको र आवासीय विद्यार्थीहरु बिदामा रहेका दिनहरुमा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म स्थानीयको लागि खुला हुने जनाएको छ। रानीपोखरी जीर्णोद्वार र खेल मैदान खुला गर्ने विषयमा नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापासँग समेत नगरप्रमुख प्रजापतिले आवश्यक छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.