|

बुटवल : सन् १९७६ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बौद्धमार्गी उथान्तले अन्तराष्ट्रिय बौद्धमार्गीका लागि पवित्र उद्यान क्षेत्रका रूपमा लुम्बिनीलाई विकास गर्न चासो व्यक्त गरेका थिए। संयुक्त राष्ट्रघको अनुवृत्ति र नेपाल सरकारको पहलमा सन् १९६९को अन्ततिर विश्वप्रशिद्ध आर्किटेक्चर जापानिज प्रोफेसर केन्जो टाँगेलाई लुम्बिनी गुरुयोजना बनाउन लगाइयो। बुद्ध जन्मस्थल लुम्बिनीको समष्टिगत विकासको लागि जापानिज प्रोफेसर केन्जो टाँगेले लुम्बिनीको गुरुयोजना बनाएका थिए।

लुम्बिनी क्षेत्रको ११ सय ५५ बिगाहा क्षेत्रफलमा निर्माण गरिने गुरुयोजनाको महत्व अमूल्य रहे पनि यसले पूर्णरूपमा मूर्तरूप पाउन सकेको छैन। हालैको एक रिपोर्ट हेर्नेहो भने गुरुयोजना निर्माण भएको ४२ वर्ष बितिसक्दा ८२ प्रतिशत काम सकिएको छ। २५५८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवसको अवसरमा लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्याङबोले सो प्रतिवेदन सार्वजनिक गरेका हुन्।

सन् १९७८मा लुम्बिनी गुरुयोजनाले अन्तिम रूप पाएको थियो। त्यतिबेलाको लुम्बिनीमा बिजुली, टेलीफोन र सडक थिएनन्। स–साना हरिया पोथ्राहरू मात्रै थिए।

गुरुयोजनाका बाँकी सबै काम एकैचोटि सक्नेगरी लुम्बिनी विकास कोषले करिब ६ अर्बको ग्लोबल टेण्डर आह्वान गर्ने तयारी गरेको हो। ग्लोबल टेण्डर आश्वान गरेर ३ वर्षभित्रै गुरुयोजनाको सबैकामहरू सक्ने दाबी विकास कोषको छ।

कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले अन्तराष्ट्रियस्तरको परामर्शदाता छनोट गरी उनीहरूकै सुपरिवेक्षण्को आधारमा ग्रलोबल टेण्डर आश्वान गरिने बताए। ‘सबै संरचनाहरूको सुपरिवेक्षणसमेत परामर्शदाताले गर्नेछ। त्यसो हुँदा कोषले गुरुयोजनामा आफ्नो जनशक्ति लगाउनुपर्ने छैन’ उनले भने।

ग्लोबल टेण्डरले भौतिक पूर्वाधारको कामसक्ने हुँदा लुम्बिनी विकास कोषले सौन्दरीकरणमा केन्द्रीत हुन पाउने भट्टराईको भनाइ छ। तीन वर्षभित्र गुरुयोजना पूरा गरेर लुम्बिनीलाई आध्यात्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भन्ते मेत्तेय) ले बताए। 

यस्तो छ गुरुयोजना  

टाँगेको गुरुयोजनाअनुसार लुम्बिनीको तीन वर्गमाइल जमिनलाई उद्यान क्षेत्र, अन्तराष्ट्रिय विहार क्षेत्र, नयाँ लुम्बिनीग्राम गरी तीन भागमा विभाजन गरिएको छ। तीन वर्गमाइल भूभागलाई एक/एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फको एक वर्गमाइल क्षेत्रलाई लुम्बिनीग्राम, दोस्रो खण्ड एक वर्ग माईलको भूखण्ड जसलाई शैक्षिक, सांस्कृतिक तथा अन्तराष्ट्रिय विहार तथा गुम्बा क्षेत्र भनी नामाकरण गरिएको छ।

उद्यान क्षेत्र

लुम्बिनी गुरुयोजनाले प्राथमिकता दिएको मुख्य क्षेत्र पवित्र उद्यान क्षेत्र हो। यही क्षेत्रमा शाक्यमुनी गौतम बुद्धले पहिलो पाइला टेकेका थिए। यो पवित्र उद्यान क्षेत्रलाई चारैतिरबाट पोखरीले घेरिएको छ। यो पोखरीलाई ‘सर्कुलर लेबी’ भनिएको छ। वरिपरि नीलो पानीले घेरिएको सुन्दर बगैंचाको परिकल्पना यहाँ गरिएको छ। गोल पोखरीभित्र  मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पुरातात्विक महत्वका भग्नावशेषहरू, प्राचीन लुम्बिनीग्रामका अवशेषहरू मात्र रहने गरि कुनै पनि नयाँ निर्माणका काम गर्न रोक लगाइएको छ। 

उत्तर पश्चिमबाट आउने बाढीको पानी पवित्र क्षेत्रभित्र पस्नबाट रोक्नका लागि गोलाकार नहरहरू बनाइएको हो। पवित्र क्षेत्रलाई विश्व आरक्षण समाजको १ देखि ६ डिसेम्बर १९ सय ९७ को सभाले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो। पबित्र क्षेत्रमा दायाँ बायाँ  वा पूर्व पश्चिम गरी दुई क्षेत्रमा दुई/दुई सय जनासम्म साधक साधिकाहरू अटाउने ध्यानकुटी र गोलाकार नहरहरूको बाहिर पवित्र  पुरातात्विक  क्षेत्रको हेरचाहका लागि पुरातात्विक कार्यालय बनाइएको छ। गोलाकार पोखरी बाहिर एउटा विशिष्ट अतिथिगृह र अर्को अति विशिष्ट अतिथिगृह बनाउने योजनासमेत छ।

उद्यान क्षेत्रभित्र बुद्धको जन्म भएको स्थान, मायादेवी मन्दिर, मायादेवीले स्नान गरेको चिसो र तातो पानीयुक्त २ वटा कुण्ड भएको पोखरी, अशोक स्तम्भ र त्यस वरिपरि प्राचीन विहार, चैत्य आदिका भग्नावेशषहरूको संरक्षण गरी  आगन्तुक तीर्थयात्रीको मनलाई शान्त र शीतल पार्न र बुद्धकालीन प्राचीन बगैँचालाई झल्काउने गरी  विभिन्न फूल  र विरुवाहरू रोप्ने योजना  छ। यहाँ रहेका ४१ वटा उद्यानका प्लटमध्ये ३ वटा प्लटहरू मात्र तयार भएका छन्।

बाँकी सवै प्लटहरूलाई यसैवर्षदेखि सुन्दरीकरण गर्ने योजना छ।  पवित्र उद्यान क्षेत्रमा गुरुयोजनाअनुसार निर्माण गर्ने ठूला संचरनाहरू करिब सम्पन्न भएका छन्। उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ। अहिलेको पोखरीलाई दोब्बर बढाएर घांस तथा झारहरू उम्रिन नमिल्ने गरि सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमिनमा दुवो,फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम शुरु भएको छ।

पोखरीको डिलमा बनेको परिक्रमा पथमा इँटा छाप्ने काम पनि पूरा भइसकेको छ। तर यसको मर्मत सम्भार राम्रो हुन सकेको छैन। पोखरी सुन्दरीकरणका कामसँगै यसको मर्मत सम्भार गरेर अझ सुन्दर बनाइनेछ। पवित्र उद्यान क्षेत्रभित्र करिब ७० लाखको लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ।

विहार क्षेत्र

पवित्र उद्यान क्षेत्रबाट उत्तरर्फ रहेको  अन्तराष्ट्रिय गुम्बा क्षेत्रलाई पूर्वी र पश्चिमी बिहार क्षेत्र गरी दुई  भागमा विभाजन गरिएको छ।  यो दुई क्षेत्रलाई शान्ति दीप बाट सुरु भएको केन्द्रिय नहरले दुई अलग अलग भागमा छुट्टाएको छ। यो क्षेत्रमा थेरबादी बिहार, महायानी, बज्रयानी बिहार, स्तुप तथा ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्यका साथ विभिन्न विहार र गुम्बाका लागि ४३ वटा प्लटहरू छुट्टाइएको छ।

 जसमध्ये पूर्वी विहार क्षेत्रमा थेरावादी वौद्ध सम्प्रदायका १३ वटा मूलुकहरूमध्ये नेल लगायत ७ वटा मुलुकका आकर्षक विहारहरू निर्माण भइसकेका छन्। पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मुलुकमध्ये २१ वटा मुलुकहरूले आफ्नो संस्कृति झल्कने आकर्षक विहारहरू बनाइसकेका छन्। ती मध्ये केही विहारहरू निर्माणाधिन छन्। वांकी मुलुकहरूले निर्माणको काम थालेका छैनन्। 

यसरी विहार बनाउने मुलुकहरूमा पूर्वतर्फ श्रीलंका, बर्मा,थाइल्याण्ड, कम्वोडिया, क्यानडालगायत छन् भने पश्चिमतर्फ चीन, सिंगापुर, जापान, कोरिया, फ्रान्स, जर्मनी, भियतनाम, क्यानडालगायत मुलुक छन्। अमेरिकालगायत केही मुलुकहरूले विहार बनाउने तयारी गर्दै छन्।

नयाँ लुम्बिनी ग्राम

लुम्बिनी गुरुयोजनामा बाँडिएका प्रमुख तीनवटा क्षेत्रहरू बुद्धको दर्शन तथा उपदेशलाई प्रतिविम्बित गर्ने गरी भौतिक एवं वातावरणीयरूपमा संरक्षण गर्ने अभिप्रायले तयार गरिएका छन्।

योजनाबद्धरूपमा विकास भइरहेको  तीन वर्ग माईलमध्येको उत्तरतर्फको एक वर्गमाइल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामाकरण गरिएको छ।  गृहस्थ जीवनमा आवश्यक पर्नै सबै प्राविधिक परियोजनाहरू समावेश गरिएको क्षेत्रलाई नव लुम्बिनीग्राम भनेर बुहत गुरुयोजनामा समावेश गरिएको छ। तीर्थयात्री तथा पर्यटकहरूलाइ आवश्यक भौतिक सुबिधा पुर्याउने संरचनाहरू यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ।

नयाँ लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचनाहरू बनेर सञ्‍चालनमा आइसकेका छन् यद्यपि थुप्रै  महत्वपूर्ण संरचनाहरू बन्न बाँकी छन्। गुरु योजनाले लुम्बिनी ग्राम क्षेत्रमा  चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको थियो। जसमध्ये  एक सय बेडको सबै सुविधायुक्त बिलासी होटल, एक सय ५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, दुई सय बेडको साधारण आवासगृह र चारवटा क्याम्प्रिङ निर्माण गर्ने योजना बनाएको थियो। जसमध्ये तीनस्तरका होटलहरू सञ्चालनमा छन् भने क्याम्पिङ निर्माणको काम बाँकी छ।

गत वर्षदेखि  यस क्षेत्रका महत्वपूर्ण संरचनाहरूको निर्माण कार्य सुरु भएको छ। पर्यटक सूचना केन्द्र र लुम्विनी विकास कोषको प्रशासनिक भवन निर्माण सम्पन्न भएर सञ्चालनमा छन्। यहाँ डोम आकारका यस्ता कूल ८ वटा भवनहरू बन्ने छन्। लुम्विनी विकास कोषले यी भवनहरूलाई लुम्विनीको धरोहरका रूपमा लिएको छ। बैंक, प्रहरी, उपचार भवन, ट्राभल एजेण्ट र रेष्टुरेण्टका लागि यस्ता भवनहरू बन्नेछन्। गुरुयोजना क्षेत्रभित्र ९ वटा गेटमा आधुनिक सुरक्षा पोष्टहरूको निर्माण कार्य करिब सकिएको छ।

न्यु लुम्बिनी भिलेज क्षेत्रमा ३५ करोडको लागतमा अग्लो खानेपानी ट्यांकी निर्माण भइसकेको छ। ३५ करोडकै लागतमा अन्डरग्राउन्ड टेलिकम्युनिकेशन र विद्युतीय विस्तार,३५ करोडकै लागतमा ढल निकासको काम सुरु भएका छन्। यीबाहेक केही ठूला पोखरी र केन्द्रीय नहरको विस्तारका कामसमेत बांकी छन्। नयाँ लुम्बिनी ग्राम क्षेत्रमा १ हजार क्षमताको अस्थायी सभाहलसमेत निर्माण भएको छ।

स्थायी सभाहल निर्माण सम्पन्न नहुंदासम्मका लागि बनाइएको यो सभाहल बुद्ध जयन्तीका अवसरमा गरिने ठूला समारोह सहितका कार्यक्रमहरूका लागि उपयोगी बनेको छ। यसै क्षेत्रमा हाइस्कुल तथा अस्पतालको परिकल्पना समेत गुरुयोजनाले गरेको छ। हाइ स्कूलको नाममा लुम्विनी गुरुयोजनाकै डिजाइनअनुसार लुम्विनी वौद्ध विश्वविद्यालयको आवास क्षेत्र निर्माण गरिएको छ। यी भवनहरू २० वर्ष विश्वविद्यालयले उपयोग गरेपछि हाइस्कुल सञ्चालन गर्ने कोषको योजना छ।

कति लगानीमा के के?

गुरुयोजनाअनुसार न्यु लुम्बिनी भिलेज क्षेत्रमा १ अर्ब २७ लाख ६० हजार लगानी भएको छ। यो क्षेत्रमा निर्माण भएका होक्के होटल र होटल कासाइले ३० करोड ७० लाख लगानी गरेका छन्। यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तरराष्ट्रिय संस्था रेयुकाइले ३० करोड ८० लाखको लागतमा अन्तराष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ। यो क्षेत्रमा अझै करिब ३ अर्बको लागतमा विभिन्न भौतिक संरचनाहरू निर्माण हुनेछन्।

सबैभन्दा धेरै १ अर्व ३८ करोड ८२ लाख ८८ हजार खर्चमा उद्यान विहार क्षेत्र निर्माण गरिदैं छ। १२ वटा विहारहरू नेपालले निर्माण गरेको छ। सबैभन्दा बढी आकर्षक मानिएको चाइना र जर्मनी विहार निर्माणका लागि ती मुलुकहरूले ५२ करोड ८० लाख लगानी गरेका छन्। अर्को मुलुक थाइल्याण्डले १० करोड २५ लाखको लागतमा विहार बनाएको छ। विहार क्षेत्रमा अझै २२ करोड लगानी हुने अनुमान छ।

लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ३८ करोड ८१ लाख लगानी भएको छ। यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख लगानी गरिएको छ भने मायादेवी मन्दिर निर्माणका लागि ७ करोड रुपियां लगानी भएको थियो।

गुरुयोजनाअनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका काम गर्न ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ। त्यस्तै, लुम्‍बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.