|

बाँके : नरैनापुरका स्थानीयले चरेशसहित पक्राउ परेको भारतीय नागरिकलाई छुटाउन आफूलाई बन्धक बनाएको प्रदेश ५ की सांसद कृष्णा केसीले बताएकी छन्।

शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी उनले आफ्नो निर्वाचन क्षेत्र नयाँगाउँ, खयरभट्टी, चुनभट्टी, महेशपुर लगायत गाउँको स्थलगत अवलोकन गरि फर्किने क्रममा गाडी रोकेर स्थानीयले आरोपीलाई मुक्त गर्न आफूलाई चार घण्टा बन्धक बनाएको बताइन्। शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उनले बन्धक बनाएर चरेशसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दवाव दिएको बताइन्।

‘चरेशसहित पक्राउ परेका भारतीय नागरिकलाई छोड्नुपर्ने उनीहरूको एकमात्र माग थियो’, उनले भनिन्। उनले आफू चढेको गाडीको चक्काको हावा स्थानीयले खुस्काई दिएको बताइन्। इलाका प्रहरी कार्यालय, नरैनापुरको एउटा कोठामा चार घण्टा बिताउँदा मन आत्तिएको बताइन्।

‘चारैतिरबाट स्थानीयले हामी बसेको प्रहरी चौकीलाई घेरा हालेका थिए। लाठी र घरेलु हतियार बोकेकाहरु निरन्तर प्रहरी चौकीमाथि ढुंगामुढा गर्दा पीडाबोध भयो,’ उनले भनिन्। उनले एकातर्र्फबाट प्रहरीको हवाई फायर अर्कोतर्फबाट स्थानीयको ढुंगामुढा भएको बताइन्। ‘दुवै पक्षको चेपुवामा हामी पर्‍यौँ,’ सांसद केसीले भनिन्। 

इलाका प्रहरी कार्यालय नरैनापुरले भीड नियन्त्रण गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट थप बल परिचालन गरिएको थियो। भीड नियन्त्रण गर्न प्रहरीले ६३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। तीन राउण्ड अश्रुग्यास प्रहार गर्ने प्रयास गर्दा नपड्केको बताउँदै उनले त्यसपछि हवाई फायर गरेको उनले बताए। उनले स्थानीयको आक्रमणमा परि तीनजना प्रहरी घाइते भएका छन्।

‘सम्झाई बुझाई गर्दासमेत भीड नियन्त्रण नभएपछि हवाई फायर गर्न बाध्य भयौँ,’ उनले भने। नरैनापुर गाउँपालिका कार्यालय अगाडि किराना पसल गर्ने देवीदिन विश्वकर्माको साथबाट प्रहरीले ६ किलो चरेश शुक्रवार दिउँसो साढे चार बजे नियन्त्रणमा लिएको थियो।

विश्वकर्मालाई विनाशर्त छोड्नुपर्ने माग राख्दै स्थानीयले इलाका प्रहरी कार्यालय नरैनापुर घेराउ गर्दै प्रहरीको गाडी तोडफोड गरेका छन्। तोडफोडबाट प्रहरीको गाडीमा पूर्ण रुपमा क्षति पुगेको छ। स्थानीयको आक्रमणमा परी नेपाल प्रहरीका एक र सशस्त्र प्रहरीका दुई जना घाइते भएका छन्।

चरेशसहित पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धानका लागि शुक्रबार मध्यरातमा नेपालगन्ज ल्याइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.