|

बाँके : सडक बत्ती बापत नेपालगन्ज उपमहानगरपालिकाले झण्डै पाँच करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी देखिएको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष २०६५/०६६ देखि सडक बत्तीको महशुल नबुझाएको नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र नेपालगन्जले जनाएको छ। 

चार करोड ९८ लाख २९ हजार १७० रुपैयाँ महशुल बुझाउन बाँकी रहेको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताए। उनले सडक बत्तीको महशुल बुझाउन पटक-पटक ताकेता गरे पनि उपमहानगरले बुझाउन नमानेको बताए। ‘कयौँ पटक पत्र पठाइसक्यौँ। तर बुझाउने कुनै पत्तो छैन’, उनले भने। त्यसैगरी भेरी अस्पतालको ६ लाख ४१ हजार १५६ रुपैयाँ विद्युत महशुल बक्यौता छ। त्यसैगरी युनाइटेड टेलिकमले एक लाख ९९ हजार ५८ रुपैयाँ र युनाइटेड प्रालिले एकलाख २१ हजार ८८७ रुपैयाँ बुझाउन बाँकी छ।

मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिले पनि विद्युत महशुल बुझाउन बाँकी देखिएको छ। समितिको एक लाख आठ हजार ५९१ रुपैयाँ बक्यौता देखिएको यादवले बताए। तर, नेपालगन्ज उपमहानगरपालिकाले सडक बत्ती बापतको रकम बुझाउन बाँकी नरहेको जनाएको छ।

उपमहानगरका कार्यकारी प्रशासकीय अधिकृत हरि प्याकुरेलले बक्यौता रकम बुझाउन आउने बारे प्राधिकरणले पठाएको पत्र अहिलेसम्म प्राप्त नभएको बताए। उनले प्राधिकरणले प्रमाणसहित सडक बत्तीको रकम माग गरे भुक्तानी गर्न तयार रहेको बताए। ‘कुन आर्थिक वर्षको कति रकम विलसहित माग गरे उपमहानगर भुक्तानी गर्न तयार छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.