|

जाजरकोट ः पति, सासु, ससुरालगायत घरपरिवारले गरेको हिंसा सहन नसकेर यहाँका अधिकांश महिलासम्बन्ध विच्छेद गर्न वाध्य भएको बताएका छन्। सम्बन्धविच्छेद गर्न आउने अधिकांशको उमेर २० देखि २२ वर्ष रहेको जिल्ला अदालतले जनाएको छ । 

बिहे गर्ने उमेरै नपुगेका पनि सम्बन्धविच्छेद गर्न आउने गरेको अदालतका सुव्वा  सर्वराज खत्रीले बताए। उनले कम उमेरमा विहे गर्ने र विहे गर्ने उमेरमा  सम्बन्धविच्छेद गर्नेको संख्या बढेको बताए। बिहे गर्ने उमेर पुगेका महिला सम्बन्धविच्छेदका लागि सन्तान काखी च्यापेर अदालत पुग्नेको संख्या बढ्दै गएको छ।
१४ /१५ वर्षको उमेरमा बिहे गरेर परिपक्व भएपछि घरेलु हिंसा सहन नसकी सम्बन्धविच्छेद गर्न आउने गरेका अधिकांशले बताउने गरेका छन्।

सानैमा बिहे गरेकोमा पछुतो मान्दै सम्बन्ध विच्छेदका लागि अदालत सम्मा पुगेर सम्बन्ध सधैका लागि छुटिनु रहर नभई वाध्यता भएको उनीहरूको भनाई छ। 
गरिब, दलित र निम्न आय भएका परिवारमा सानै उमेरमा बिहे गर्नेहरू धेरै छन्। जाजरकोटमा १५ वर्ष नपुग्दै ४० प्रतिशत र १९ वर्ष नपुग्दै ७४ प्रतिशत किशोरीले विवाह गरिसक्ने महिला अधिकांरको पक्षमा काम गर्दे आएका रामविक्रम शाहले को भनाइ छ।

उनले जनचेतनाको कमीका कारण बाल विवाह हुने र त्यसका कारण उत्पन्न हुने विभिन्न सामाजिक समस्या चुनौतीका रूपमा खडा भएको बताए। जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ताको चाप हात्तै बढेको छ। अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन्। वैशाख महिनाको तेस्रो सातासम्म सम्बन्धविच्छेदका १०३ वटा मुद्दा दर्ता भएको रेकर्डमा उल्लेख छ। जसमध्ये गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दाको संख्या १० छ।

नयाँ संहिता अनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दाको संख्या २९ रहेको अदालतले जनाएको छ।अदालतले गत साउनदेखि हालसम्म सम्बन्धविच्छेदका ६५ मुद्दा फर्स्याैट गरिसकेको छ। कम उमेरमा विवाह, अन्तरजातीय विवाह, मदिरा सेवन, दाइजो, वैदेशिक रोजगार, बहुविवाह, घरेलु हिंसा, बेरोजगारी, खाना लाउन नदिएको, परपुरुषसँगको अवैध सम्बन्धलगायत कारण देखाउँदै सम्बन्धविच्छेदको मुद्दा पर्ने गरेको अदालतले जनाएको छ।

पछिल्लो समय अंशसहित भन्दा अंश नलिई विच्छेद गर्ने र उजुरीकर्ता पुरुष पनि बढेको देखिन्छ। नलगाड नगरपालिका ११, रग्दाकी मनकुमारी विक २८ वर्षकी भइन्। उनका दुईदेखि १३ वर्षसम्मका ६ छोराछोरी रहेका छन्। १४ वर्षको उमेरमा बिहे गरेकी मनकुमारी हिंसाका कारण अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न बाध्य भएको बताइएकाे छ। दैनिक मदिरा सेवन, श्रीमतिसँग राम्रो व्यवहार नगर्ने लगाएका कारण पनि सम्बन्ध विच्छेदका मुख्य समस्य रहेको छ।

'पढ्दा-पढ्दै  विहे गरियो। विहे गरेको १ वर्षभित्र वच्चा जन्मिएपछि पढाई पनि छुट्यो', नलगाड बारेकोट गाउँपालिका ४ की रमा शाहीले भनिन्। 'अहिले पछुतो लाग्छ' उनले थपिन्', 'अहिले श्रीमानबाट अलग बसेकी छु।' उनले अर्को केटी विहे गरेर दुख दिएपछि हामी ४ छोरा, छोरीसहित अलग भएको करिव १ वर्ष बढी भएकाे बताइन्। 

'सानै उमेरमा फकाएर विहे गरिदिए। अहिले सवै साथीहरू पढेर जागिर खाने भए मसँग पढेका। म भने घाँस दाउरा गर्न नै ठिक्क छु', अर्की शिवालय गाउँपालिका ७ की शान्ता विकले भनिन। 'पढ्ने उमेरमा वुद्धि पुगेन। अहिले के गरौँ', उनले गहभरी आँसु झार्दै भनिन्, 'मेरा दिन यस्तै गए। छोरा,छोरी राम्रो बनाउनेतर्फ लागेकी छु।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.