|

लुम्बिनी : लुम्बिनीलाई विश्व शान्तिको उद्यान र प्रेरणास्थल बनाउने प्रतिबद्धता गरिएको छ। शनिबार २५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को विशेष समारोहबीच शुभारम्भ गर्दै यस्तो प्रतिबद्धता गरिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरिन्।

संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गर्दै राष्ट्रपतिले विश्व शान्तिको उद्यान बनाउनुपर्नेमा जोड दिइन्। उनले लुम्बिनीको विकासले प्रदेश ५ लाई समृद्ध बनाउनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताइन। 

राष्ट्रपति भण्डारीले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेकाे पनि बताइन्। स्थानीयको सहयोग र सहकार्यलाई सँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न ध्यानाकर्षण गराइन्। उनले बुद्धस्थलहरूलाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मूलुकहरूसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने आग्रह पनि गरिन्।

बुद्धपूर्णिमालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गर्ने सरकारलाई धन्यवाद दिइन्। लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने बताउँदै उनले लुम्बिनी क्षेत्रमा शान्ति, स्थिरता कायम गर्दै जानुपर्ने बताइन्।

कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवर्द्धन गर्ने बताए। उनले बुद्ध जन्मस्थल लुम्बिनीको काम तीब्र गतिमा हुनुपर्ने बताए। उनले बुद्धस्थलहरूको समेत उत्खनन् र तथ्य बाहिर ल्याउनु पर्नेमा जोड पनि दिए।

मुख्यमन्त्रीको संयोजकत्वमा लुम्बिनी भ्रमण वर्ष २०७६ को मूल समिति गठन भएको छ। कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा लुम्बिनी भ्रमण वर्षका कार्यकारी समितिका संयोजक लीला गिरीले प्रदेश ५ सरकारले लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि भ्रमण वर्ष घोषणा गरेका छन्। 

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश त्रिपाठी) ले अबको ३ वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए। उनले लुम्बिनीमा पहिलोपटक सरकार प्रमुखले संघदान र भोजन दानजस्तो समारोहमा सरिक भएको भन्दै लुम्बिनीबासीका तर्फबाट कृतज्ञता प्रकट गरे।  

लुम्बिनीलाई विश्व शान्तिको प्रेरणास्थलको रुपमा विकास गरिने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रेरणास्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री ओलीले बुद्ध समुदायसँगको सहकार्यमा लुम्बिनीको पुनर्जीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाए।

‘विगतका वर्षमा लुम्बिनीका लागि गरिएका प्रयासले सार्थक रुप लिदैँ गएका छन्', उनले भने, 'यो वर्षदेखि योजनाबद्ध ढंगले सरकार अघि बढेको छ। लुम्बिनीबाट विश्व समुदायलाई बुद्धका सन्देश फैलाउनका लागि लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिने छ।’ 

प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणवद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताए। यसका लागि प्रदेश सरकार, विकास कोष र निजी क्षेत्रको समेत विशेष सहकार्यका कार्यक्रमहरू गरिने प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्रीले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रको रुपमा विकास गर्दै विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताए।

प्रधानमन्त्रीले लुम्बिनी क्षेत्रको तीब्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता रहेको बताए। उनले बुद्धस्थलहरू कपिलवस्तुको तिलौराकोटलगायतका स्थललाई समान ढंगलाई विकास गर्दै लैजाने प्रतिवद्धता जनाए। उनले तिलौराकोटले विश्वसामू नयाँ तथ्य उजागर गरेकाले त्यसको विकास र प्रवर्द्धनका लागि नयाँ ढंगले योजना बनाउने पनि बताए।

प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मुलुकहरूसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए। सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा धार्मिक तथा पर्यटकीय गतिविधिहरु बढाउँदै लग्ने प्रतिबद्धता जनाए। थाई विहारका भिक्षु सुपोथले प्रधानमन्त्रीको उपस्थितिमा विहारमा बौद्धसमुदायलाई नै सन्देश दिने गरी कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गरे।

बुद्धपूर्णिमामा के-के भए लुम्बिनीमा?

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ लुम्बिनीग्राममा वृक्षरोपणको शुभारम्भ गरे। लुम्बिनीमा यो वर्ष दुई हजार ६४३ वटा बिरुवा रोपिने छ। लुम्बिनीमा विभिन्न फलफूलका विरुवा रोप्ने कार्यक्रम रहेको छ।

बुद्धको महापरिनिर्वाणपछि मनाइएको बुद्धपूर्णिमा २५६३ औं वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्ष अघि भएकोले बुद्ध जन्मिएको २६४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा विरुवा रोप्ने कार्यक्रम तय भएको हो।

वृक्षरोपण शुभारम्भ गरेर प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्ति र्‍यालीमा सहभागी भएका थिए। शान्तिदीपमा प्रधानमन्त्री ओलीले ओलम्पियन बैकुण्ठ मानन्धरलाई शान्तिदीप हस्तान्तरण गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले थाई विहारमा भिक्षु भिक्षुणीलाई संघ दान गरे। उनले सो अवसरमा थाई विहारको अवलोकन गर्दै बुद्धपूजा गरे।

विहारमा प्रधानमन्त्रीले १ सय ५० जना भिक्षु भिक्षुणीलाई चिवर दान, अष्ठपरिस्कार दान, भोजन दान गरे।

बुद्ध पूर्णिमाको मूल समारोहको अवसर पारेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १०० जना विद्यार्थीलाई ५/५ हजारका दरले मायादेवी छात्रवृत्ति वितरण गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.